माता दक्षिणकालीले सबैको कल्याण गरुन,भाद्र ०८ गते आइतबार\ अगस्ट २५ तारिखको राशिफल

वि.सं. २०७६ भाद्र ०८ गते आइतबार तदनुसार ई. सं. २०१९ अगस्ट २५ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन अनि कुनै मुहूर्त पनि जुरेको देखिंदैन । भाद्रपद कृष्णपक्ष (गुँलागा) दशमी तिथि, मध्यरात्रीपछि ०१:५९ बजेसम्म, त्यसपछि एकादशी तिथि, मृगशिरा नक्षत्र, मध्यरात्रीपछि १२:१९ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा बृष राशिमा, दिउँसो १२:२७ बजेसम्म, त्यसपछि मिथुन राशिमा, हर्षण योग, दिउँसो ११:४४ बजेसम्म, त्यसपछि वज्र योग, सुरुमा वणिज करण दिउँसो ०२:२५ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि ०१:५९ बजेसम्म, अन्तिममा बब करण, आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : उत्तर, वारशूल : पश्चिम, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:३८ बजे , सूर्यास्त : साँझ ०६:३२ बजे, दिनमान : ३२ घडी १४ पला (१२ घण्टा ५४ मिनेट, रात्रीमान : २७ घडी ४६ पला (११ घण्टा ०६ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : साँझ ०४:५५ देखि ०६:३२ सम्म, यमघण्ट : दिउँसो १२:०५ देखि ०१:४२ सम्म , गुलिक काल : दिउँसो ०३:१८ देखि ०४:५५ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान ०८:५२ देखि १०:२८ सम्म, अमृत वारवेला : बिहान १०:२८ देखि १२:०५ सम्म, शुभ वारवेला : दिउँसो ०१:४२ देखि ०३:१८ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा महिलाको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

भोलिको चाडपर्व र उत्सव :
अजा एकादशी व्रत, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धार्मिक र सामाजिक काममा समय बित्ने दिन छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नुपर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, दोस्रो भावमा रहेको चन्द्रमाको प्रभावमा कमी भएकाले बोलीमा खासै प्रभाव रहने छैन, तपाईंको भावनाको कदर नहुन सक्छ । कताकता भाग्यलाई दोष दिन मन लाग्नेछ । मनमा वैराग्यको भावना पलाउन सक्छ तथा आध्यात्मिक र दार्शनिक भावनाको विकास हुनेछ । तर आज गरिएको परोपकारको कामबाट रोकिएको काम बन्न सक्छ । त्यस्तै छात्रछात्राले पढाइलेखाइमा ध्यान केन्द्रित गर्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजबाट पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीको समय राम्रो हुनेछ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसैत्यसै फुरुङ्ग हुनसक्छ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् । डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने समय छ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । समग्रतामा रामरमाइलो र आनन्दमा समय बित्ने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सुरुमा बाह्रौं भावमा चन्द्रमा रहेकाले आज आर्थिक पक्ष असन्तुलित बन्नसक्ने दिन छ, खासगरी रामरमाइलोमा खर्चबृद्धि हुने समय छ । दिउँसो तपाईंको आफ्नै घरमा चन्द्रमा आइपुग्छ, त्यसैले कुनै महत्त्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । मनमा पनि विकार देखिने तथा स्फूर्ति र उमङ्गको कमी हुनसक्छ तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । प्रारम्भमा मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन, जोस र जाँगर बढ्ने दिन छ, तर आज हतार वा आवेशमा आएर कुनै काम नगर्नु होला । महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सुरुमा राज्यस्थानमा रहेको चन्द्रमाका कारण पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश भावमा चन्द्रमा हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, खर्च गर्न मन हौसिने छ । कुनै बाध्यात्मक काममा खट्ने परिस्थिति बन्नसक्छ, वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कामधन्दा र मिहिनेतबाट सामान्यतया लाभ हुने सम्भावना देखिंदैछ । उद्योगधन्दा र बन्दव्यापारमा भनेजस्तो सफलता त छैन, तर निराश भइहाल्नु पर्दैन । शत्रुपक्षको क्रियाकलापले भने चिन्ता बढाउन सक्छ, तर इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ र अन्त्यमा ताकेको काममा सोचेजस्तै फाइदा लिन सकिने छ । व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा हुँदैन । नोकरी र सामाजिक क्षेत्रमा आफ्नो साख रहनसक्छ, तर क्रोध, प्रतिशोध र रिसरागले गर्दा अप्ठ्यारामा पर्न सकिन्छ । आज लाभस्थानमा चन्द्रमाको प्रवेश हुने भएकाले राज्यपक्ष र प्रशासनिक काममा सफलता पाउने दिन हो, तर अनावश्यक मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज भाग्यस्थानमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ, तर दिन ढल्दै जाँदा कर्मप्रति समर्पित भई खट्ने अनुकूलता मिल्नेछ । आज बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, यद्यपि कर्मक्षेत्रमा चाप बढ्नाले रतिराग तथा पारिवारिक सम्बन्धप्रतिको आकर्षणमा कमी देखिने छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन । खटेजति सफलता पाइने योग छ, जिम्मेबारीको क्षेत्रमा लगनशील भएमा अवश्यमेव लाभ मिल्ने समय छ । समग्रतामा आज बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन मिश्रित फलदायी रहेको छ । उदयकालमा आयुक्षेत्रमा चन्द्रमा छ, तर दिउँसो भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले अब कर्मप्रति निष्ठा र समर्पणभाव राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । हाँके/ताकेका काममा सफलता मिल्दै जानेछ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ, अनि बिहानीपख हातहतियारसित नजिस्किनु होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सुरुमा सातौं भावमा चन्द्रमा रहेकाले मन भावुक बन्न सक्छ । एकाबिहानै के गर्ने के नगर्ने भन्ने विषयमा दोधार देखिने छ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नै छ । व्यापार/व्यवसायमा ठिकै छ, तर दिन ढल्दै जाँदा खिन्नता र चिडचिडेपना अझ बढ्ने छ । अपराह्नपछि आठौं घरमा चन्द्रमा रहने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । पारिवारिक जीवनमा समेत सन्तुष्टि हुँदैन । व्यक्तिगत स्वास्थ्यमा पनि समस्या देखिन सक्छन् । घरायसी समस्या र कामधन्दामा केन्द्रित हुनुपर्छ । दिन अनुकूल नभए पनि वैदेशिक क्षेत्रबाट लाभ मिल्नसक्छ । देशपरदेशमा रहेकाहरूले उन्नति गर्ने समय हो, घरैमा बस्नेले बढी दौडधूप गर्ने परिस्थिति बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिउँसोसम्म छैंठौं सकारात्मक चन्द्रमा रहेकाले मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । पारिवारिक खुसीका लागि खर्च बढ्ने छ । पतिपत्नी र प्रेमीप्रेमिकाका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ, आज कुनै रमझम र रामरमाइलोमा भुलिने समय छ, साँझसम्म कुनै खुसीको खबर प्राप्त हुने सम्भावना पनि छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बिहानको समय राम्रो छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । छैंठौं भावमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि अशान्ति र अराजकताका समाचार पनि आउन सक्छन् । निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । क्रोध र रिसरागमा नियन्त्रण राख्नु बुद्धिमानी हुनेछ । तर कुनै सरकारी काम सुल्झाउनु छ भने आजको प्रयास सफल हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छरछिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । आजबाट छात्रछात्रामा आफ्नो काममा सक्रियता बढ्ने समय छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक काममा सफलतासमेत मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारबाट सामान्यतया लाभ नै मिल्ने समय छ । दाम्पत्यजीवन, आपसी सम्बन्ध र प्रेमजीवनमा देखिएका समस्या हल हुनेछन्, अब सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुका चौथो घरमा चन्द्रमा जाने भएकाले बेलुकीपख मनमा निराशा र विकारको परिस्थिति देखापर्नेछ, घरायसी समस्याहरू देखापर्न सक्छन् । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार