किन फसाउन खोजिदैछ रवि लामिछानेलाई ?

– दीर्घराज उपाध्याय ।

कैलालीको लम्की चुहा नगरपालिका ८ गोप्काकी ३० वर्षीया रामजानकी चौधरी छिमेकीबाट साँधको बिबादमा निर्घात कुटिईन । ४० दिनपछि उनको होश आयो । होश खुलेपछि कुटपिट गर्नेहरुका बिरुद्ध उनी उजुरी दिन जिल्ला प्रहरी कार्यालय कैलाली पुगिन । प्रहरीले उनको उजुरी नै दर्ता गरेन ।

rabi

मलाई कुटपिट गर्ने यिनै व्यक्ति हुन् भनेर स्वयम उपस्थिति भएर किटानी जाहेरी दिदा पनि प्रहरीले ती व्यक्तिहरुलाई पक्राउ गर्नु त टाढाको कुरा । पीडितको उजुरी नै लिन मानेन । यो घट्ना भदौ २ गतेको हो ।

चितवनमा पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरी प्रोएक्टिभ भयो । उसले किटानी जाहेरी आउनुभन्दा तीन दिनअघि नै सो घट्नासंग जोडेर पत्रकार रवि लामिछाने सहित तीन जनालाई पक्राउ ग¥यो ।

यी दुबै फरक प्रकृतिका घट्ना हुन् । एउटै घानमा हालेर दुईटै घट्नालाई विश्लेषण गर्न हुदैन ।

कुरो नियतको हो । कही किटानी जाहेरी दिदा पनि प्रहरी एक्टिभ हुदैन । कही उजुरी नआउदै प्रहरी यति एक्टिभ हुन्छ, कि कार्यक्रम सञ्चालन गर्न तम्तयार भएका पत्रकारलाई स्टुडियो भित्र पस्न नदिएर पक्राउ गर्छ । रवि भागेर कहि जाने होईनन । प्रहरी एकछिन पनि धैर्यता गर्दैनन । उसले स्टुडियोभित्रैबाट रविलाई पक्राउ गरेर बहादुरी देखाउछ ।

गोविन्द केसी, रवी लामिछाने, ज्ञानेन्द्र शाही जस्ता निहत्था र जनताका आवाज बोल्नेहरुमाथि बहादुरी देखाउने प्रहरी सधै र सबै घट्नामा यसरी नै बहादुर भईदिए रवि लामिछानेहरुको यो देशमा आवश्यकता नै पर्दैनथ्यो । रवि लामिछाने हिरो पनि हुदैनथे ।

राज्य, राज्यका संयन्त्र,प्रहरी,अदालत र अन्य सरकारी निकायहरुप्रतिको जनताको बितृष्णा चुलिदैछ । रविले जनताको त्यही बितृष्णालाई साथ दिए । जनताका समस्या, गुनासा, पीडालाई सम्बोधन गर्न सिधा कुरा मार्फत राज्यका निकायहरुलाई दवाव दिए ।

भ्रष्टाचार, बेथिति, अन्यायका बिरुद्ध आवाज उठाउने पार्टीहरु उदासिन भएपछि ती मुद्दालाई सिधा कुरा मार्फत रविले उठाए । त्यही कारण पार्टीहरु उनीप्रति सहिष्णु र उदार भएनन । मुख्य समस्या नै यही हो ।

को हो त्यो रवि जसले सरकारले गर्नुपर्ने काम गर्छ ? पार्टी र सरकार सञ्चालकको यही बुझाई मुख्य समस्या हो ?

आज प्रतिपक्षमा रहेको पार्टी भोलि सरकारमा हुन सक्छ । त्यसले कुनै पार्टी स्थायी प्रतिपक्ष नहुन सक्छ । मिडिया भने स्थायी प्रतिपक्ष हो । यसो हेर्दा मिडिया सरकार बिरोधी जस्तो देखिन्छ पनि । तर त्यसो भने होईन । सरकारका राम्रा कुराको समर्थन र प्रचार गर्ने मिडियाले सरकारका गलत कामको भण्डाफोर पनि गर्छ ।

तर आफ्ना बारेमा राम्रा कुरा मात्र सुन्न रुचाउने शासकको मनोबिज्ञान त्यतिबेला भडकिन्छ, जव मिडियाले उसका गलत क्रियाकलाप उजागर गर्छ । रविको हकमा पनि त्यही भएको हो । रविले सिधा कुरा मार्फत कुनै नेता र पार्टीको स्तुती गान नगाउनु, कुनै पार्टीको पक्षपोषण नगर्नु नै उनको अपराध भएको छ, यतिबेला ।

मुख्य समस्या नै बुझाई । बुझ्ने तरिका हो । रवि न सरकार बिरोधी हुन् । न कुनै पार्टी बिरोधी । न उनी कुनै पार्टीका सदस्य हुन् । उनले सिधा कुरा मार्फत जनताका कुरा उठाउदा त्यसले सरकारलाई अप्ठ्यारो कहीकतै पारेको हुनसक्छ । तर त्यसको अर्थ सरकार वा कुनै पार्टीले रविलाई आफ्नो बिरोधीका रुपमा बुझ्न भने हुदैन ।

हो, रवि लामिछानेको सबै भन्दा ठूलो गल्ती कुनै पार्टीका प्रेस संगठनमा आबद्ध नहुनु हो । उनी पत्रकार महासंघको सदस्य छैनन । प्रेस संगठन वा प्रेस युनियनको सदस्यता उनले लिएका छैनन ।

के यही हो, उनको अपराध हो ? मान्छेको हत्यामा जोडिएकाहरु, बमकाण्डमा मुछिएकाहरु, फिरौती असुलीमा संलग्न भएकाहरु, आत्महत्या दुरुत्साहनमा जोडिएका पत्रकारहरु किन यसअघि कहिल्यै कानुनी दायरामा आएनन ? किन उनीहरु म्याद थपिनु अघि नै बाईज्जत बरी भए ?

त्यसको सिधा उत्तर छ, उनीहरु कुनै दलसंग आबद्ध थिए । कुनै न कुनै दलको पत्रकार संगठनका सदस्य थिए ।
पत्रकार शालिकरामको आत्महत्याको छानबिन हुनुपर्छ । उक्त घट्नासंग जोडिएका सबै पक्षमाथि निष्पक्ष छानबिन हुनुपर्छ । रविमाथि पनि छानबिन हुनुपर्छ । छानबिन गर्ने कुरामा कसैको असहमती हुनु हुदैन ।

तर यसको अर्थ त्यही बहाना र नाममा जो सुकैलाई फसाउने नियतले गर्ने कर्मलाई न्यायको जामा पहिराउन कदापि पाईदैन ।
रवि पक्षधरहरुले छानबिन गर्नै पाईदैन भनेको सुनिएको छैन । र स्वयम रविले पनि ममाथि छानबिन नै नगर पनि भनेको सुनिएको छैन । रविले प्रहरीलाई अनुसन्धानका क्रममा प्रहरीलाई सहयोग गरेका छन् । सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

रवि कुनै पार्टीको कार्यकर्ता नहुनु के यही उनको अपराध हो ? उनले हिजो सिधा कुरामा के कुनै पार्टीको मान्छेका पक्ष र कुनै पार्टीका विपक्षमा कार्यक्रम चलाएका थिए ? खाडीमा बेचिएकी चेली कुन पार्टीकी कार्यकर्ता थिईन ? दिल्लीमा बेचिएका चेलीहरु कुन पार्टीमा आबद्ध थिए ? अस्पतालले बन्दी बनाएका बेसाहारा बिरामी कुन नेताका कार्यकर्ता थिए ? उनले उठाएका भ्रष्टाचारका मुद्दा के कुनै एउटै पार्टीसंग सम्बन्धित थिए ? के उनले सिधा कुरामा छानी छानी एउटै पार्टीलाई तारो बनाएका थिए ?
पक्कै पनि थिएनन ।

एउटा कुरा निश्चित छ । यदि कुनै पार्टीको भातृ संगठन वा प्रेस संगठनसंग आबद्ध नभएको व्यक्तिलाई राज्य, उसका संयन्त्र र ती संयन्त्रमा पहूँच भएकाहरुले भोलि फसाउन चाह्यो वा समाप्त पार्न चाह्यो भने सहजै समाप्त पार्ने छ ।

रवि त्यसरी शिकार हुने पहिलो व्यक्ति हुनेछन् । र अरुले पालो कुर्नु पर्नेछ । यदि रविलाई समाप्त पार्न राज्य, उसका संयन्त्र र ती संयन्त्रलाई चलाउने व्यक्तिहरु सफल भए भने पार्टीको संरक्षण बिहीन निर्दोष व्यक्तिहरु राज्य, उसका संयन्त्र र ती संयन्त्रलाई चलाउने व्यक्तिहरुको ईगो, लहड र सनकको शिकार भईरहनेछन् ।

त्यसमा पत्रकार पनि पर्न सक्छन् । अरु सामान्य व्यक्ति पनि । चिन्ता बुढी मरी भन्ने होईन, बाघ पल्क्यो भन्ने हो ।

अरु बेला पत्रकारिताको धर्म र मर्ममाथि बहस चलाउनेहरु, पत्रकारको भौतिक र पेशागत सुरक्षाका लागि चासो र चिन्ता व्यक्त गर्ने मुलधारका मिडियाहरु रवि पक्राउ पर्दा किन मौन छन् ? किन शालिकरामको मृत्यु उनीहरुको खोजीको विषय बनिरहेको छैन ?

एकथरी पत्रकार मौन छन् । बित्थामा किन यो प्रकरणमा मुछिने भन्ने लागेको छ, कतिपयलाई । शालिकरामको मृत्युमा समवेदना दिने फुर्सदसम्म नभएकाहरु एकथरी पत्रकार रविलाई खुच्चिङ गरिरहेका छन् ।

उनीहरुलाई शालिकरामको चिन्ता होईन । उनीहरुलाई त कही रवि नजोगियोस भन्ने चिन्ता छ ।

रवि किन यति छोटो समयमा लोकप्रिय भए ? किन उनका पक्षमा यतिधेरै जनता सडकमा उर्लिए ? यो कसैको समीक्षाको विषय नै बनेको छैन । हिरो भाथ्यो, त्यसलाई ठिक भयो भन्ने पत्रकारको केवल सोच मुतको न्यानो हो । त्यसले एकछिन मनमा न्यानो दिए पनि अन्ततः उसैलाई चिस्याउने छ ।
अझ कतिपयले त उनलाई रामरहिमसंग तुलना गर्न पनि भ्याईसके ।

राज्य संयन्त्र निर्मम भएको बेला अदालतले उनलाई न्याय गर्छ कि गर्दैन थाह छैन ? तर हिजो त्यही अदालत र प्रहरी कहाँ धाउदा धाउदा न्याय नपाएका तमाम गरीव, असहाय र पिडित व्यक्तिहरुलाई न्याय दिलाउन सिधा कुरा मार्फत निर्बाह गरेको भूमिकाका कारण लोकप्रिय भएका रविले न्याय नपाउदा लाखौ पिडित व्यक्तिहरुको आशाको केन्द्र ढल्नेछ ।
हरेक व्यक्तिले एक पटक सोचेर हेरौ । कुनै पार्टीको कार्यकर्ता नहुदा भोग्ने नियति के रविको जस्तै हुने हो ?

पत्रकारिताको चीर हरण भईरहदा किन मौन छन्, पत्रकारिताका भिष्म पितामहहरु ? किन मौन छ, पत्रकार महासंघ ? किन चुप छन्, प्रेस संगठनहरु । यदि ती संगठनसंग आबद्ध पत्रकारलाई प्रहरीले पक्राउ गरेको भए निर्दोषलाई फसाउने प्रहरी प्रपञ्च भयो भनेर अहिले ७७ वटै जिल्लामा पत्रकारका धर्ना,घेराउ र हातमा कालो पट्टि बाँधेर बिरोधका कार्यक्रमले देशै तताईसक्थ्यो ।

श्रावण ३२ गते कान्तिपुरमा आत्महत्या यसरी रोक्न सकिन्छ शिर्षकमा छापिएको समाचारमा कन्सलटेण्ट साईकियाट्रिष्ट डा. रितेश थापा भन्छन्, आत्महत्या व्यक्तिले आफ्नो मानसिक तनावलाई व्यवस्थित गर्न नसकेर गर्छन । अध्ययनहरुले आत्महत्याको करिब ९० प्रतिशत कारण मानसिक रोग नै भएको देखाएको छ ।
प्रहरीका अनुसार आ.व. ०७३-७४ मा ५१३१, ०७४-७५ मा ५३४६ र आ.व.०७५-७६ को चैत मसान्तसम्म ३९५८ जनाले आत्महत्या गरे ।

यो तथ्यांकलाई आधार मान्ने हो भने १० वर्षमा आत्महत्या गरेर ५० हजार भन्दा बढिले ज्यान गुमाए । र यसरी आत्महत्या गर्नेमा महिलाको संख्या बढि छ । र थुप्रै महिलाले मर्नु अघि पति र परिवारको यातना सहन नसकेर आत्महत्या गर्नु परेको सुसाईड नोट छोड्ने गरेका छन् ।

ती मुद्दामा प्रहरीले अहिलेसम्म कतिलाई पक्राउ ग¥यो ? कतिजनालाई मुद्दा चलायो ? सुसाईड नोटका आधारमा अदालतले कतिजनालाई सजाय सुनायो ? केही अपवाद घट्ना होलान ? जसमा सुसाईड नोटलाई आधार बनाएर प्रहरीले कारबाही प्रकृया अगाडि बढाएको ।

प्रहरीले रविलाई पक्रिन पछिल्लो पटक जुन सक्रियता देखायो । त्यसमा जो सुकैले सहजै अनुमान गर्छ, दालमे कुच काला है ।
जे जति भएको छ, त्यो कसैको निर्देशन,उक्साहट र गलत मनशायले भएको छ ।

रवि लामिछाने भ्रष्ट नेता, कर्मचारी, ठेकेदार, म्यानपावर कम्पनी, दलालहरुका लागि मात्र टाउको दुखाई बनेका छैनन । नेतालाई भगवान मान्ने कार्यकर्ता र पत्रकारका लागि पनि टाउको दुखाई बनेका छन् । त्यसैले उनीहरु रवि लामिछानेका बिरुद्ध संगठित रुपमा लागेका छन् ।

जीवनको अन्तिम समयसम्म पनि शालिकरामले रवि लामिछानेको तस्वीरलाई आफ्नो फेसबुकको कभर फोटो बनाउनुले उनको रवि प्रतिको स्नेह,श्रद्धा र विश्वास देखाउछ । जवकि कुनै पनि मान्छे आफूलाई मन नपरेको मान्छेलाई फेसबुकबाट तत्काल अनफ्रेन्ड गर्छ । ब्लक गर्छ । रवि प्रति शालिकरामको घृणा वा नकारात्मक दृष्टिकोण भएको भए उनले जीवनको अन्तिम समयसम्म आफ्नो फेसबुक वालको कभर फोटोमा रविलाई राखि रहन्थेनन । यो सामान्य मान्छेले पनि बुझ्ने कुरा हो ।
प्रहरी भने शालिकरामले आत्महत्या गर्नुअघि रेकर्ड गरेको सुसाईड भिडियोको वास्तविकता के हो,त्यसलाई अनुसन्धान गर्न जरुरी नै ठान्दैन । त्यो भन्दा पहिले नै रविलाई पक्राउ गर्छ । यसैले प्रष्ट हुन्छ, प्रहरीको नियत ।

सिधा कुरामा उनको प्रस्तुती कतिपयलाई मन नपर्न सक्छ । हो, मलाई पनि मन पर्दैन । त्यसको अर्थ उनीमाथि अन्याय हुदा बिबेक बन्धकी राखेर चुपचाप बसिरहन यो मनले मानेन । र लेख्न बाध्य भए ।

कञ्चनपुरमा निर्मला पन्तको बलत्कारपछि हत्या भएको घट्नामा प्रहरी उपरीक्षक सहित थुप्रै प्रहरीको डिएनए परीक्षण गरियो । त्यहाँ प्रहरीमाथि लापरबाहीको आरोप थियो ।

चितवनमा पनि प्रहरीको डिएनए परीक्षण गर्ने बेला आएको छ । तर यहाँ भने हद भन्दा बढि चलाखी र बेईमानी गरेकोमा ।
कही उजुरी दिदा पनि प्रहरी समात्दैन । कही उजुरी नपरेकै व्यक्तिलाई प्रहरी पक्राउ गर्छ । प्रहरीसंग सुरक्षित रहेको अनुसन्धान सामग्री राज्यका संयन्त्रमा पहूँच भएकै भरमा कुनै व्यक्तिको हात हुदै समाचारमाध्यममा पुग्छ । छापिन्छ । प्रसारण हुन्छ ।

प्रहरीले अपराध प्रमाणित नभई कुनै व्यक्तिलाई सशरीर पत्रकार सम्मेलनमा उपस्थित गर्दैन । पत्रकार सम्मेलनमा उभ्याउनै पर्ने भए उसको अनुहार छोप्छ । अनुसन्धान पुरा नभएसम्म सबै प्रमाणहरु सार्वजनिक गर्दैन ।

चितवनमा शालिकरामको मोवाईलबाट बरामद भएको भनिएको सुसाईड पूर्वको भिडियोको अनुसन्धान पुरा नहुदै सार्वजनिक हुदा प्रहरीकै अनुहार छोप्नुपर्ने गरी धब्बा लागेको छ ।

यो प्रहरीको लापरबाही हो वा कमजोरी ? यसलाई लापरबाही वा कमजोरी मात्र मान्न सकिन्न । यो त रविलाई फसाउन खोज्ने प्रहरीको उदांगिएको नियत हो ।

रविको पक्राउपछि चितवनमा दिनहु प्रदर्शन भईरहेको छ । प्रदर्शनमा बालकदेखि बृद्धसम्म हजारौको सहभागिता छ । र सहभागी हुनेको संख्या प्रतिदिन बढिरहेको छ । प्रदर्शनमा स्वस्र्फूत रुपमा सहभागी भएकाहरुलाई कसैले सहयोग गरेर आएका होईनन । देशका बिभिन्न जिल्लाबाट आफ्नो खर्चमा चितवन पुगेकाहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका छन् ।

उदेक लाग्दो कुरा त के भने हिजो अदालतको आदेश मान्दैनौ भन्नेहरु यतिबेला पाठ पढाईरहेका छन् । उनीहरु रविको समर्थनमा उर्लिएको भीडलाई भेडा देख्छन ।
कानून पढाउछन । अदालतको फैसला कुर्न अर्ति दिन्छन ।

आफ्नो भ्रष्ट र हत्यारा नेता पक्राउ गर्दा टायर बालेर बन्द गर्नेहरु यतिबेला भने बन्द गर्नु बेठिक भन्दै नैतिकताको पाठ पढाउन थालेका छन् । यो भन्दा उदेक लाग्दो कुरा के होला ?

यसको अर्थ बन्द र अराजकता ठिक हो भन्ने कदापि होईन । बन्द र अराजकता कुनै पनि बहानामा गर्न पाईदैन ।

यद्दपि रवि लामिछानेले आफ्ना समर्थकहरुलाई न त बन्द गर्न भनेका छन् । न त तोडफोड गर्न नै उक्साएका छन् । रविले प्रहरीमाथि जाई नलाग्न र कोही पनि घाईते हुन नदिन आफ्ना समर्थकहरुलाई निरन्तर आग्रह गरिरहेका छन् । उनी कानुन भन्दा माथि छैनन । उनले आफूलाई कानुन भन्दा माथि छु पनि भनेका छैनन । उनले कानून कार्यान्वयनका लागि मात्र नभएर आफ्नै पूर्व सहकर्मी स्वर्गीय शालिकरामलाई मृत्यु पर्यन्त न्याय दिन

अन्याय र पीडामा रहेका हरेक नेपालीलाई न्याय दिलाउन हत्केलामा ज्यान राखेर पत्रकारिता गर्दै आएका रवि आफ्नै सहकर्मीलाई अन्याय हुने कार्य गर्ने कुरा सोच्नसम्म सकिदैन ।
शालिकरामको मृत्यु प्रकरणसंग जोडेर नखाएको विषले रविलाई मार्न उद्दत छन्, केही व्यक्तिहरु ।

सिधाकुरा मार्फत हिजो रविले जस जसको गलत क्रियाकलापको भण्डाफोर गरे । ती व्यक्ति त रविको पछि लागेकै छन् । पार्टीका पिछलग्गु व्यक्तिहरु पनि रविलाई सिध्याउने खेलमा जुटेका छन् ।
हो, उनले कुनै पार्टीको गुलामी गरेनन । कुनै नेतालाई सलामी गरेनन ? के यही हो, उनको दोष ?
के यो देशमा स्वतन्त्र नागरिक भएर बाँच्ने कसैलाई हक छैन ? र नागरिकका आवाज उठाउने हक कसैलाई छैन ?

तिम्रो बिचारसंग म असहमत छु । तर पनि तिम्रो बिचारको सम्मान गर्छु । यही होईन लोकतन्त्र भनेको हो । जहाँ सबैको बिचारको सम्मान हुन्छ । यही होईन, लोकतन्त्रको सुन्दरता ।

तर यहाँ त आफ्नो बिचारसंग सहमत नभएकै कारण रविलाई समाप्त पार्ने ध्याउन्न जुटेको छ, राज्य, उसको संयन्त्र र त्यो संयन्त्रमा पहूँच भएका व्यक्तिहरु ।

कतिपय पत्रकार रविलाई खुईल्याउन लागीपरेका छन् । त्यही पूर्बाग्रही कर्मलाई पत्रकारिताको नाम दिनेहरु पत्रकारिताको आदर्श छाट्न रत्तिभर संकोच मान्दैनन ।

शालिकरामले डोरी किनेको फुटेज फेला परेको समाचार छाप्न हतारिने सञ्चारमाध्यहरुको मनोबिज्ञान स्पष्ट छ, उनले आत्महत्या गरेको जसरी पनि पुष्टि गर्नु । र त्यही आत्महत्यासंग जोडेर रविलाई समाप्त पार्नु ।
तर उनीहरु रविको समर्थनमा जम्मा भएको भीडलाई भने देख्दैनन । देखे पनि भेडा देख्छन ।

रविले के अपराध गरे ? रविको गल्ती के हो ? शालिकरामको आत्महत्याको कारक कसरी रवि लामिछाने भए ? यसको बारेमा भने उनीहरु सोधीखोजी गर्दैनन । सोधीखोजी गर्न जरुरी नै ठान्दैनन । किनकी उनका नजरमा त रवि लामिछाने सिधै दोषी हुन् । पहिले नै रवि लामिछानेलाई दोषी देख्नेहरु नै रविका समर्थकलाई भने वकिल, न्यायधिश र न्यायालय नबन्न सल्लाह दिन भ्याईरहेका छन् । यसैलाई भन्छन, दृष्टिदोष । यसैलाई भन्छन्, पूर्बाग्रह ।

शालिकरामको मृत्यु प्रकरणलाई लिएर यतिबेला देखिएका दुबै खाले अतिवाद न्याय, कानून, बिधिको शासनका लागि मात्र घातक छैनन । पत्रकारिताका लागि पनि घातक छन् ।
पत्रकारिताको विश्वास चितवनमा लिलाम भईरहदा ताली बजाएर मजा लिनेहरु भने पत्रकार नै छन् । यो पत्रकारिताका लागि समेत दुर्भाग्य हो ।

रविलाई भिलेन बनाएर कोही हिरो बन्ने वाला छैन ।

ए रविलाई पत्रकारिताको पाठ पढाउनेहरु थाह छैन, तिम्रो परिभाषामा पत्रकार कस्ता व्यक्तिहरु पर्छन ? को पत्रकार हुन् को होईनन ?

निमुखा र निर्धोका पीडाका समाचार जसको प्राथमिकतामा कहिल्यै परेन । नेताकै वरीपरी घुम्ने । पत्रकारिताको आडमा सधैभरी राज्यको संयन्त्रमा कब्जा जमाईरहने । नेताको फेर समातेर देश विदेश घुम्ने । आफ्नो मालिकको अपराध लुकाउने । पत्रकारभन्दा पार्टीको बफादार कार्यकर्ता, जो नियुक्तिका आशमा नेताको भक्ति गरिरहन्छ । त्यस्तो पत्रकार मात्र रविका बिरुद्ध विष बमन गरिरहेका छन् ।

खाडीमा नारकीय जीवनबाट उद्दार गरिएकी चेलीलाई सोध, रवि को हुन् ? म्यान पावर कम्पनीबाट ठगिएर विदेशमा अलपत्र परेकाहरुलाई सोध, रवि के हुन् ?

ठेकेदारको कमसल कामबाट ठगिएका दूर दराजका जनतालाई सोध रवि को हुन् ? राज्यले तह लगाउन नसकेका ती ठेकेदारहरुलाई रविले सिधा कुरा मार्फत आच्छु आच्छु पारेका छन् ।
भ्रष्ट नेता र कर्मचारीका कारण आजित भएका जनतालाई सोध रवि को हुन् ?

सक्छौ भने देखाउ, रवि कहाँ झुके ? कहाँ बिके ? कहाँ डगे ? सिधा कुराका चार सय भन्दा बढि भाग प्रशारण हुदा कुनै एउटा भाग यस्तो देखाउ, जहाँ रविले बदमासी गरे ? रविले जहाँ जनताका आवाज उठाएनन ?

सक्छौ भने देखाउ, जहाँ रविले जनताका आँखामा धुलो हालेर भ्रष्ट नेता, ठेकेदार र कर्मचारीसंग मोलमोलाई गरे ?
भन्न र आरोप लगाउन सजिलो छ । तथ्य सहित प्रमाणित गरेर देखाउन गाह्रो छ ।

तिमीहरुका आरोपबाट सत्य कदापि डग्दैन । हो, यदि रवि हा¥यो, रवि थाक्यो भने धेरैको आशा र भरोसाको धराहरा भुकम्पले ढाले झै ढल्नेछ ।
र त्यो ठडिन, फेरि वर्षौ लाग्नेछ ।

शालिकरामका परिवारले न्याय पाउनुपर्छ । आशा छ, हजारौ व्यक्तिलाई न्याय दिन अहोरात्र खटेका रविमाथि अन्याय हुने छैन । जनताको भरोस र विश्वास उठ्ने काम अदालतले गर्ने छैन । अहिलेलाई यही आशा गर्न सकिन्छ ।

( लेखक उपाध्याय रेडियो पश्चिम टुडे, पश्चिम टुडे राष्ट्रिय दैनिक, पश्चिम टुडे अनलाईन का प्रधान सम्पादक तथा सीईओ हुन्। )

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार