कांग्रेस र कम्युनिस्टको सहमतिमै देशमा ब्रह्मलुट : कमल थापा

काठमाडौं :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टको सहमतिमै देशमा ब्रह्मलुट भइरहेको आरोप लगाएका छन्।

प्रजातन्त्रको नाममा सत्तापक्ष र विपक्षीले मिलेर देशमा लुट मच्चाएको उनको आरोप छ। राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्दै थापाले यस्तो आरोप लगाएका हुन्।

‘सत्तापक्षसँग प्रमुख प्रतिपक्ष कांग्रेससमेत भ्रष्टाचारको हरेक काण्डमा भागिदार भएकाले प्रतिपक्ष आवाज कमजोर र नगण्य हुँदै गएको छ’, थापाले भने, ‘कम्युनिस्ट र कांग्रेस मिलेर लोकतन्त्रका नाममा देशमा लुट मच्चाइरहेका छन्।’

राजसंस्था हटेको १३ वर्ष भए पनि देश झनझन् जटिल अवस्थामा पुगेको उनको भनाइ छ।

‘देश झन जरजर अवस्थामा छ, भ्रष्टाचार अहिले जस्तो नाङ्गो ढंगबाट यस भन्दा अगाडि कहिल्यै देखिएको थिएन’, अध्यक्ष थापाले भने, ‘एनसेलको कर छली प्रकरणमा करिब ४० अर्ब भन्दा धेरै भ्रष्टाचार भएको छ।’

थापाले वाइडवडी जहाज खरिद काण्डमा ४ अर्बभन्दा धेरै भ्रष्टाचार भएको, ३८ सय किलो सुन त्रिभुवन विमानस्थलबाट मात्र तस्करी भएको, बुढी गण्डकी र मेलम्ची काण्डमा अरबौं भ्रष्टाचार भएको, ११४ रोपनी बालुवाटारको जग्गा भुमाफिया खडा गरेर हड्पने प्रयास भएको सार्वजनिक हुँदा छानबिन र कारबाही नहुनु दुःखद भएको बताए।

‘सत्ता र प्रतिपक्षको मिलेमतोमा सबै भ्रष्टाचारमा राष्ट्रिय सहमति रहेको उल्लेख गरेका छन्’, उनले भने, ‘यो विकास र समृद्धिका लागि मात्रै होइन देशको अस्तित्व कै लागि डरलाग्दो कुरा हो।’

उनले नेकपा स्कुल विभाग विवादमा फसेको, कांग्रेस महाधिवेशन टुंगो लगाउने विवादमा अल्झिरहेको राष्ट्रिय महत्त्वका विषय ओझेलमा परेको बताए।

अध्यक्ष थापाले बाटो नै गलत भएकाले चालक मात्र फेरेर नहुने बताए। ‘ओलीको ठाउँमा प्रचण्ड वा शेरबहादुर नै भएपनि देशका लागि केही हुनेवाला छैन। किनकी बाटो नै गलत छ।’

राप्रपाका वरिष्ठ नेता दिपक बोहराले राष्ट्रवादी विद्यार्थीकै साथ, सहयोग र प्रेरणामा नै अबको आन्दोलन अघि बढ्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा संगठनका पूर्वअध्यक्ष धनबहादुर बुढा, राजाराम बर्तौला, युवक संगठनका अध्यक्ष प्रकाश रिमाल, राप्रविसंका अध्यक्ष महेश बहादुर सिंह, उपाध्यक्ष कमल बम, निराजन बम लगायत जिल्ला र क्याम्पस कमिटीका नेता धारणा राखेका थिए।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार