लिस्बन, पोर्चुगल।
पत्रकार दीपेन्द्र गजुरेलमाथि समाचार लेखेकै भरमा एनआरएन स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाले आक्रमण गर्नेसम्मको चेतावनी दिएका छन्। एउटा संचारकर्मीले लेखेको समाचारकै आधारमा संघ तथा त्यसका अध्यक्षले लिएको यस्तो निरङ्कुश कदममाथि पत्रकार महासंघ युरोप च्याप्टरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पत्रकार गजुरेलमाथि समाचार लेखेकै भरमा वक्तव्य निकालेर सापकोटाले धम्की दिएको भन्दै त्यस्तो कदम तल्काल सच्याउन च्याप्टरका अध्यक्ष केजिन राईले आग्रह गरेका छन्।
नेपाल पत्रकार महासंघ, युरोप शाखाका अध्यक्ष केजिन राईले एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो ‘गम्भीर ध्यानाकर्षण भएको’ बताएका छन् । ‘गैर आवासीय नेपाली संघ स्पेनका प्रवक्ता हिरालाल सापकोटाको हवला दिएर सार्वजनिक गरिएको विज्ञप्तिप्रति,’ अध्यक्ष राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ युरोप शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
स्वतन्त्र सञ्चारकर्ममा विश्वास राख्ने सञ्चारकर्मीमाथि उक्त विज्ञप्तिले आघात पुगेको भन्दै अध्यक्ष राईले त्यसप्रति खेद प्रकट गरेका छन् । ‘स्वतन्त्र संञ्चार कर्ममा विश्वास राख्ने खबरकर्मी तथा यूरोप शाखाका सदस्य दीपेन्द्र गजुरेलले खबरदारी गरेकै भरमा उनीप्रति लक्षित विज्ञप्तिमा महासंघ खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
निरंकुश शैलीमा सापकोटाले धम्की दिएको भन्दै त्यसलाई सच्चाउन र सापकोटाले यस्तो कदम नरोके तत्काल कडा कदम चाल्न बाध्य हुने पनि च्याप्टरले कडा शब्दमा निन्दा गरेको छ ।
केही दिनअघि मात्रै पत्रकार गजुरेलले दुर्घटनामा निधन भएको समाचार लेखेपछि लासमाथि राजनीति गरेको भन्दै सापकोटाले कारबाही गर्ने धम्कीपूर्ण विज्ञप्ति निकालेका थिए।
यो पनि पढ्नुहोस्।
एनआरएनए स्पेनको दादागिरी : समाचार लेखेको भरमा पत्रकार गजुरेललाई कारबाहीको धम्की