जलनबाट कसरी बच्ने?पोल्दा के गर्ने, के नगर्ने?

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बर्सेनी झन्डै ५६ हजार नेपालीले जलनको समस्या झेल्नु परेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार यीमध्ये झन्डै २१ सय जनाले ज्यान गुमाउने गरेका छन्। यो समस्या नेपालमा मात्र नभएर निम्न तथा मध्यम आय भएका (विशेषगरी दक्षिण–पूर्वी एसियाली) देशहरुमा विद्यमान छ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वमा आगोले पोलेर एक करोड १० लाख मानिस प्रतिवर्ष गम्भीर रुपमा प्रभावित हुने र ३ लाख २० हजार जना मर्ने गर्छन्। आगोले पोलिनेमध्ये अत्यधिक (९५) प्रतिशत घटना निम्न तथा मध्यम आय भएका देशमा हुन्छ भने मृत्यु हुने संख्याको आधाभन्दा बढी दक्षिण–पूर्वी एसियामा हुने गरेको छ। नेपालमा मात्र होइन, विश्वभरि नै जलनको उपचार ज्यादै खर्चिलो छ।

उपचारको नतिजा
गम्भीर जलन भएका बिरामी निको हुने वा नहुने भन्ने कुरा जलन भएको कति समयमा उपचार थालियो भन्नेमा पनि भर पर्छ। किनकी बिरामीको तौल र शरीरको जलेको प्रतिशत भाग अनुसार हिसाब गरी बिरामीलाई रगतको नशाबाट स्लाइन दिनुपर्ने हुन्छ।

हिसाब गरिएको जम्मा झोल पर्दाथको आधा जलन भएको पहिलो ८ घन्टाभित्रै र बाँकी आधा अर्को १० घन्टाभित्र दिइसक्नुपर्ने हुन्छ। तर ढिलो गरी अस्पतालमा पुगेमा वा यसो गर्न नसकेको खण्डमा जस्तोसुकै राम्रो उपचारले पनि बिरामी बचाउन कठिन हुन्छ।

समयमै अस्पताल पुग्नसक्ने गम्भीर जलनका बिरामी पनि राम्रो अस्पतालको खोजीमा समय बिताएर धेरै घन्टापछि अस्पतालमा आइपुग्दा पनि उपचार सफल हुन सक्दैन।

जलनबाट कसरी बच्ने?
– खाना बनाउँदा सजिलै आगोले टिप्ने लुगा नलगाउने।
– ग्यास अन गर्नुभन्दा पहिले लिक छ÷छैन चेक गर्ने। यदि छ भने झ्याल ढोका खोल्ने र ग्यासको गन्ध सकिएपछि मात्र प्रयोगमा ल्याउने।
– खाना बनाइसकेपछि कुनै पनि तातो चिज जस्तैः तातोपानी, चिया, दाल, तेल सजिलै बच्चाले भेट्ने ठाउँमा नराख्ने।
– बच्चा बोकेर चिया अथवा कुनै पनि तातो चिज नखाने।
– घरमा भएको बिजुलीका प्लगहरु टालिदिने, जसले गर्दा बच्चाले औंला छिराउन नसकोस्।
– तातो आइरन, थर्मस बच्चाले भेट्ने ठाउँमा नराख्ने।
– कुनै पनि केमिकलका बोटल बच्चाले देख्ने ठाउँमा नराख्ने।
– घरभित्र मट्टितेल, पेट्रोल नराख्ने।
– हाइटेन्सन लाइन भएको ठाउँमा सकेसम्म घर नबनाउने। नांगो तार भएको ठाउँमा लुगा नसुकाउने। चट्याङ पर्ने सम्भावना भएका बेला कुनै पनि विघुतीय सामान प्रयोगमा नल्याउने।
– पफ्र्युम, लाइटर क्यानको बट्टा नजलाउने।
– आगो बालेको ठाउँमा बच्चालाई एक्लै नछोड्ने। छारेरोग, मुर्छा पार्ने रोग भएका बिरामीलाई एक्लै भान्सामा नछोड्ने।

जलन सम्बन्धी जान्नैपर्ने कुरा
जलनको उपचार धेरै जटिल र खर्चिलो भएका कारण उपचारभन्दा बचाउमै ध्यान दिनु जरुरी छ।

आगोले पोल्दा आत्तिएर दौडिनुको साटो रोकिने र भुईंमा सुतेर लडिबुडी गर्नुपर्छ। डब्लुएचओले सिफारिस गरेको यो उपायले जीउमा लागेको आगो छिट्टै निभ्छ।

जीउमा लागेको आगो निभेको तीन घन्टाभित्र बागिरहेको पानीमा पोलेको भाग आधा घन्टासम्म राख्नुपर्छ। यसो गर्दा जलनको ताप पानीले सोस्ने हुँदा भित्र जान पाउँदैन र घाउ गहिरो हुन पाउँदैन। हतार गरेर अस्पताल दौडिँदा घाउ चिस्याउने सुनौलो समय गुम्ने हुँदा घरमै यो काम गरेर जानु उचित हुन्छ।

रासायनिक जलनमा पानी अझै धेरै समयसम्म खन्याएर रसायनलाई छालाबाट पखाल्नुपर्छ। अम्लीय जलनमा क्षार र क्षारीय जलनमा अम्ल राख्दा अझ धेरै पोल्नसक्ने हुँदा पानी राख्नु नै सर्वोत्तम उपाय हुन जान्छ। आँखामा रसायन परेमा अझै लामो समय पानी खन्याउनुपर्छ। अस्पताल दौडिँदा रसायनको सही पहिचान गरी समयमै उचित उपचारविधि अपनाउन सजिलो हुन्छ।

अस्पताल एक घन्टाभित्रै पुगिने स्थानमा छ भने घाउलाई मल्हमपट्टि नगरी सफा कपडा वा प्लास्टिकले छोपेर अस्पताल जानुपर्छ। अस्पताल टाढा भएमा सिल्भर सल्फाडायजिन मल्हमले घाउलाई बाक्लो छोपेर अस्पताल जानुपर्छ ताकि घाउमा संक्रमण नहोस्।

पोलेको भागमा बरफ, टमाटर, बेसार, घिउकुमारी, नुन, जडिबुटी इत्यादि लगाउनु हुँदैन।

जलनको उपचार सबै अस्पतालमा गरिन्छ तर अहिलेसम्म कीर्तिपुर अस्पताल मात्र छाला बैंक भएको र जलनको अस्पताल भनेर चिनिएको छ। यो अस्पतालमा देशभरिका बिरामीले सेवा पाइरहनुभएको छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार