वडाध्यक्षको एक वर्षको तलबभत्ता सामाजिक काममा

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु) ले तलब भत्ताबापत प्राप्त भएको एक वर्षको रकम वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका छन् । जनप्रतिनिधिहरु सेवा–सुविधाभोगी र भ्रष्टाचारमा लिप्त रहेकोे आरोप लागिरहेका बेला वडाध्यक्ष कुँवरले तलब भत्ताबापतको रकम गाउँका वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका हुन् ।

नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित कुँवरले आइतबार बिहान आफ्नो वडाका एक सय ६२ जना जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन र विपन्न परिवारलाई आफूले पाएको रकम वितरण गरेका हुन् ।
उनले वृद्धवृद्धालाई एक हजार पाँच सय र अपाङ्गता भएका व्यक्तिलाई एक हजार रुपैयाँ दरले दुई लाख ६२ हजार रुपैयाँ वडाका पदाधीकारीको उपस्थितिमा वितरण गरिएको बताएका छन् ।
स्थानीय तह निर्वाचनका बेला कुँवरले आफू चुनावमा निर्वाचित भए तलब–भत्तावापतको रकम वडाका वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र असहायलाई वितरण गर्ने घोषणा गरेका थिए । उनले गत वर्ष पनि आफूले पाएको तलब वितरण गरेका थिए ।

“मैले निर्वाचनका बेलामा मत माग्दै गर्दा जितेपछि पाँच वर्षसम्म सरकारी सुविधा नलिने बचन दिएको थिएँ । त्यही बाचा पूरा गर्दै छु,” वडाध्यक्ष कुँवरले भने, “गत वर्ष पनि मैले यसै गरी बाँडेको हो र आगामी दिनमा पनि बाँडिरहनेछु ।”

समाचार श्रोत @केशब साउद, बाह्रखरी

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार