अस्पतालकै क्यान्टिनको खान पान गुणस्तरहीन !

काठमाडौं ।

काठमाडौं महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नै गुणस्तरहीन खाना खुवाएको भन्दै अस्पतालका चिकित्सकहरुले अस्पतालको क्यान्टिनमा खाना खान छाडेका छन् । विगत ५ बर्षदेखि अस्पतालसँग सम्झौता गरेर अस्पतालका आवासिय चिकित्सक, ड्युटीका कर्मचारी तथा बिरामीहरुलाई दैनिक खाजा र खाना खुवाउँदै आएको एमबी क्यान्टिनले गुणस्तरहीन खाना खुवाएको भन्दै पटक–पटक चिकित्सकहरुले अस्पताल प्रशासनसँग गुनासो राखेका थिए ।

तर, पनि खानाको गुणस्तर नसुध्रिएपछि ३ दिनदेखि अस्पतालको क्यान्टिनमा खाना नखाएको चिकित्सहरु बताउँछन् । खानामा साङ्ला, किरा, झुस पर्नेदेखि गन्हाएको खाना खुवाएको भन्दै यस अघि नै पटक–पटक अस्पतालका विभिन्न विभागका चिकित्सकले प्रशासनलाई गुहारेका छन् ।

यो बिषयमा अस्पताल प्रशासनले नै पटक–पटक क्यान्टिन सञ्चालकलाई जानकारी गराएर सचेत गराएको बताउँछ । तर, अस्पताल प्रशासनलाई नै वेवास्ता गरेको प्रशासन प्रमुख सूर्यप्रसाद अधिकारी बताउँछन् ।

अस्पतालका अनुसार एमबी क्यान्टिनसँग सम्झौता सकिएर नयाँ कम्पनीसँग क्यान्टिन सञ्चालनको सम्झौता हुँदै छ । नयाँ सम्झौता हुँदा एमबी क्यान्टिनलाई नभई अर्कै कम्पनीले जिम्मा पाएको छ । यसका विरुद्ध क्यान्टिन सञ्चालक मुना थापा सर्वोच्च अदालत तथा जिल्ला अदालत पुगेकी छन् ।

सञ्चालक थापाले अस्पताल प्रशासन र चिकित्सकहरुले यस अघि कहिल्यै पनि खानामा गुणस्तरहीन भएको भन्दै गुनासो नगरेको तर अहिले आँफू कानूनी बाटोमा गएपछि गलत आरोप लगाएको बताउँछन् ।

साथै सँधै अस्पतालका डाइटिसिएनलाई चेक गराएर मात्रै खाना वितरण गर्ने गरेकाले डाइटिसिएिनले गुणस्तरको बारेमा कुरै नगरेको बताउँछन् । यता अस्पतालकी डाइटिसिएन नानीसोभा श्रेष्ठले भने चिकित्सकहरुले यस अघि पटक–पटक खानामा कमजोरी भएको भन्दै गुनासो गरेपछि आँफूले क्यान्टिन सञ्चालकलाई पटक–पटक सचेत गराएको तर, पनि सुधार नभएको बताउँछन् ।

अहिले अस्पतालको क्यान्टिन सञ्चालनका लागि नयाँ ठेक्का सम्झौताको विवाद सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौंमा रहेका छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार