राम्रो स्वास्थ्यका लागि सकारात्मक सोचका साथीहरुसँग समय बिताउन जरुरी

एजेन्सी ।

स्वास्थ्यमा सुधार ल्याउन प्रायः मानिसहरुले एकै किसिमको तरिका अपनाउँछन् जस्तै स्वस्थ डायट, एक्सरसाइज, राम्रो निद्रा पुर्याउने, पर्याप्त पानी पिउने आदि । हो यी व्यवहार वास्तवमै हाम्रो स्वास्थ्यका लागि महत्वपूर्ण छन् । तर एउटा कुरा के भने यी सबै उपाय शारीरिक स्वास्थ्यमा केन्द्रित छन् जबकि हामीमा वास्तविक सुधार, स्वस्थ मानसिकता र सामाजिक अनुकूलताबाट आउने गर्दछ ।

जर्नल प्लस वानमा प्रकाशित हालैको एक अध्ययनमा पत्ता लागेअनुसार शारीरिक स्वास्थ्यको मापन मात्र हाम्रा लागि कहिल्यै पर्याप्त हुँदैन र शरीरका विभिन्न अङ्ग सम्बन्धि जति डाटा परीक्षण गरेपनि त्यसले हाम्रो पूर्ण अवस्था देखाउन सक्दैन । यसकारण हाम्रो जीवनशैलीमा हामीले गर्ने रमाइलो, साथीभाइ परिवारसँगको सम्बन्ध पनि स्वास्थ्य अवस्थाको महत्वपूर्ण संकेत हो ।

नोट्र डेम युनिभर्सिटीमा कम्प्युटर साइन्स र इन्जिनियरिङका प्रोफेसर एवम् यस अध्ययनका उपप्रमुख नितेश चावला भन्छन्, “शारीरिक रुपमा स्वस्थ रहन साथीभाइ, परिवार र आफन्तहरुको समर्थनले ठूलो भूमिका खेल्छ । मानसिक रुपमा स्वस्थ रहनुले हाम्रो तनावको स्तर कम गराउँछ भने मुड राम्रो हुन्छ र हामीलाई सकारात्मक व्यवहार अपनाउन प्रोत्साहन गर्छ जसकारण मुटु स्वस्थ रहन्छ, बिरामी कम भइन्छ र शारीरिक रुपमा पनि स्वस्थ हुन सकिन्छ ।”

अर्कोतर्फ सामाजिक एक्लोपनाले भने निश्चित रुपमा प्रतिरोघात्मक क्षमतालाई कम गराउँदै लैजान्छ र दिर्गकालिन रोग निम्त्याउन सक्छ । यसरी एक्लोपनाले शरीरलाई एकै दिनमा १५ पटक धुम्रपान गरे जत्तिकै असर गर्ने विज्ञहरु बताउँछन् ।

हेल्थ इन्स्योरर सिग्नाले सञ्चालन गरेको अर्को एक अनुसन्धानमा भने के–के कारणले मानिसमा एक्लोपना बढ्दै गएको छ भन्नेबारे अध्ययन गरिएको छ । अमेरिकन जर्नल अफ हेल्थ प्रोमोसनमा प्रकाशित यस अनुसन्धानमा आश्चर्यजनक सामाजिक सञ्जाल एक्लोपनाको सबैभन्दा मुख्य कारण हुने गरेको पाइएको छ तर अर्कोतर्फ साथीहरुसँगको अर्थपूर्ण भेटघाट र प्रत्यक्ष अन्तरक्रियाले भने सामाजिक स्वास्थ्य उच्च स्तरमा पुर्याउने पत्ता लागेको हो । यसमा महिला वा पुरुष अथवा उमेर अनि आम्दानी कुनै कुराले प्रभाव नपार्ने बताइएको छ । त्यसैले व्यवहारिक स्वास्थ्यमा सुधार ल्याउन सबैका लागि पार्टनर आवश्यक रहेको रिपोर्टले जनाएको छ ।

प्रत्यक्ष आमनेसामने भेट गरि कुरा गर्नु व्यक्तिगत विकासका लागि त महत्वपूर्ण हुन्छ नै त्यसमा हामीले एक्सरसाइज, खानपिन, स्वयमसेवा लगायतका विभिन्न क्रियाकलाप मिसायौँ भने बढी रमाइलो हुन्छ र सँगै समय बिताउने बाहाना पनि हुन्छ । व्यवहारिक स्वास्थ्यका मेडिकल प्रमुख डाक्टर स्टुअर्ट लस्टिगका अनुसार सामाजिक संजालको पनि उचित प्रयोग गर्नुपर्छ तर प्रत्यक्ष अन्र्तक्रियालाई त्यसले प्रतिस्थापन गर्नु हुँदैन । यसरी ससाना सामाजिक बदलाव जस्तै लामो समयपछि साथीसँग भेट गर्नु वा अन्जान व्यक्तिसँगको छोटो संवादले हाम्रो सामाजिक जीवनलाई धेरै राम्रो बनाउन सक्छ । लस्टिग भन्छन्, “यी पक्ष भनेको हाम्रा विकासका अवसर हुन् त्यसकारण साथीहरुसँग सम्पर्कमा रहिरहने पनि आमनेसामने भेटेर कुरा गर्न छाड्नु हुँदैन ।”

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार