साउदी जेलमा रहेका चौधरीको रिहाईका लागि ३८ लाख १५ हजार ‘ब्लड मनी’ हस्तान्तरण

काठमाडौँ ।

विगत ३० महिनादेखि साउदी अरेबियाकोे जेलमा रहेका चितवन खैरहनी नगरपालिका–१० गुठौलीका जलेश्वर चौधरीलाई रिहाई गर्नको लागि सामाजिक स्वयंमसेवक नेपाल मिसन चितवन र मिसन झापाको नेतृत्वमा संकलित ३८ लाख १५ हजार रकम पीडितका बुवा सुकरा महतोलाई हस्तान्तरण गरिएको छ ।

संस्थाद्वारा संकलन गरिएको उक्त ‘ब्लड–मनी’ साउदी सरकारलाई पठाउने तयारी भैसकेको संस्थाका उपाध्यक्ष सागर लामिछानेले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पीडित बुवालाई रकम हस्तान्तरण गर्दै घोषणा गर्नुभएको हो ।

गाडी चलाउने क्रममा साउदी नागरिकको मृत्यु भएपछि बिगत ३० महिनादेखि जेलमा रहेका चौधरीको रिहाईको पहल गर्न गैर–आवासीय नेपाली संघ साउदीबाट ४ लाख पचास हजार सहयोग गर्ने प्रतिवद्वता आएकोे र उक्त रकम साउदीबाट सीधै हस्तान्तरण हुने पनि लामिछाने जानकारी दिनुभयो ।

लामिछानेले बैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपाली नागरिकहरुलाई परेको अप्ठ्यारोमा आफूहरुले सहयोग गर्दे आएको विश्वास दिलाउनुभयो । बैदेशिक रोजगारीको नाममा ठगिएका तथा अलपत्रमा परेकाहरुको उद्वारकै निम्ति आफू इन्डोनेसियाको बालीसम्म पुगेकोे पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘योभन्दा पहिला पनि राष्ट्र परिवर्तनको लागि युवा अभियानहरु संचालन गर्दै भ्रष्ट्राचार, विकृति तथा विसंगतिकाविरुद्व अभियान चलाउदै आएका छौं ।’ पीडितहरुको सहयोगार्थ आफुले सहयोकमुलक कार्यहरु गर्दे आएको उहाँको भनाइ छ ।

लामिछानेले आफ्नो संस्थाले विभिन्न रोगबाट पीडितहरुको सहयोगार्थ रकम संकलन तथा विपन्न परिवारका विद्यार्थीहरुलाई निःशुल्क शिक्षाको लागि सहयोग गर्न पाउँदा आफूमा खुसी र थप हौसला प्रदान भएको बताउनुभयो ।

‘अहिले ब्लड मनिको सिकार बनेका चौधरी जी.आर. मेनपावरको गैरजिम्मेवारीपूर्ण कारणले जीवनमरणको दोसाँधमा पुगेका हुन ।’–उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘साउदी सरकारले ब्लड मनीमा सहमती जनाउँदा पनि राजनैतिक तवरबाट आश्वासनबाहेक कुनै सहयोग नपाए पनि सहयोगी हातहरुले आज एक जना नेपालीको ज्यान बचाउने अभियानमा लागेका हौ ।’

केही समय पहिले बारा र पर्सामा गएको बिनासकारी आँधिबाट पीडितको उद्वारकार्यमा सहयोग पु¥याएको उहाँको भनाइ छ । साथै, उनले कुनैपनि प्रकारका बिरामीहरुलाई रगतको अभाव भएमा आफ्नो संस्थासंग सम्पर्क गर्नपनि आह्वान गर्नुभयो ।

कार्यक्रममा बोल्दै साउदी जेलमा रहेका पीडित चौधरीका बुवा सुकरा महतोले आफ्नो छोरो केही पैसा कमाउन गएको तर झण्डै मृत्युको मुखमा पुगेको सुनाउँदै अन्ततः मृत्युको मुखबाट बचाएर घर फर्कने वातावरण बनाउने संस्थाप्रति धन्यवाद दिनुभयो ।

छोराले केही कमाउला र परिवारिक समस्या सामाधान होला भनेर बाध्यताले छोरालाई बिदेश पठाएको जनाउदै विगत लामो समयदेखि आफू नमरी छोराको मृत्युको खबर कहिले आउने हो भन्दै चिन्तामा बितेको पनि उहाँले सुनाउनुभयो ।

‘सबै भगवानको खेल हुँदो रहेछ । आज मलाई यो संस्थामार्फत सहयोग गर्नेहरु सबै भगवान बनेर आउनुभएको छ । सहयोगको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु’–उहाँले भन्नुभयो ।

‘छोरा कमाएर भन्दापनि बाँचेर आउने आशामा’ आफू खुशी रहेको महतोको भनाइ छ । उहाँले भन्नुभयो, ‘अब दुःख सुख गरेर भएपनि स्वेदेशमै केही गरेर परिवार पाल्ने छौ ।’ चाँडै नै छोरा नेपाल फर्कनेमा आफू ढुक्क बनेको पनि महतोले विश्वास दिलाउनुभो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार