मन्त्री मगरलाई कालो झण्डा देखाउदा नेकपाका कार्यकर्ताबाट कुटपिट

धनगढी।

खानेपानी मन्त्री बीना मगरलाई कालो झण्डा देखाउने क्रममा कांग्रेस कार्यकर्ता नेकपाका कार्यकर्ताबाट कुटिएका छन् । मन्त्री मगरलाई जिल्लाको डोकेबजारमा कालोझण्डा देखाउन खोज्दा नेकपा कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका हुन् ।

नेकपा कार्यकर्ताको आक्रमणबाट कांग्रेस क्षेत्र नम्वर १ का सभापति गोपीप्रसाद उपाध्याय, तरुण दलका स्थानीय नेता राम खड्का, विक्रम चन्द र कृष्णबहादुर चन्द घाइते भएका छन् । घाइतेमध्ये चन्दको सेती अस्पतालमा उपचार भइरहेको कांग्रेस कञ्चनपुरले जनाएको छ ।

मन्त्री मगर बेलौरी र पुनर्वासमा हुने नगरसभाको अतिथिका रुपमा कञ्चनपुर पुगेकी हुन । मन्त्री मगरले जनताको काममा बेवास्ता गरेको आरोपमा कांग्रेसले चक्काजाम गर्ने तयारी गरेको थियो । मन्त्री मगर धनगढीमा रहेको समाचार पाएपछि कांग्रेसका कार्यकर्ताले सडक अवरुद्ध गर्न खोजेका थिए । त्यसक्रममा नेकपाका कार्यकर्ताले बाटो खोल्दा विवाद भएको थियो । विवादकै क्रममा कांग्रेसका कार्यकर्ताहरु कुटिएका हुन् ।

यसैबीच, मन्त्री मगरले विकासको काममा कुनैपनि अवरोध स्वीकार्य नहुने बताएकी छिन् । कञ्चनपुरस्थित बेलौरी नगरपालिकाको मंगलबार चौथो नगरसभाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विकासको काममा कहीँ कतैबाट अवरोध आए सैह्य नहुने बताएकी हुन । उनले जथाभावी विरोध गरेर भन्दा पनि विकासको काममा साथ दिन प्रतिपक्षी दललाई आग्रह गरिन् ।

कञ्चनपुर क्षेत्र नम्बर १ को विकासका लागि आफू सदैव तत्पर रहेको उनले बताइन् । कञ्चनपुर क्षेत्र नम्बर १ लाई नमुना क्षेत्रको रुपमा विकास गर्ने उनले दावी गरिन् ।
उनले कञ्चनपुरमा भन्सार नाका खोल्ने, बन्दा तालको विकास गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सडक विस्तार गर्ने लगायतका कामहरु अघि बढिरहेको बताइन् ।

नेपाल भारत सीमा समस्या समाधान गर्नेदेखि कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ लाई नमुना शहरका रुपमा विकास गर्ने लक्ष्य रहेको मन्त्री मगरले बताइन् । नगर सभामा नगर प्रमुख पोतिलाल चौधरीले आर्थिक वर्ष २०७६-७७ को लागि ६० करोड ८५ लाख ९४ हजार बराबरको बजेट प्रस्तुत गरेका थिए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार