हावाहुरीबाट विस्थापित तिन बहिनीको कारुणिक कथा !

धनगढी ।

कैलालीको धनगढी उपमहानगरपालिका–१५ उर्मीमा हावाहुरीबाट विस्थापित बालिकाहरुको अवस्था देखेपछि युवा व्यवसायी शुभ ठाकुर स्तब्ध भए ।

हावाहुरीले घरको पुरै नक्सा बिगारेको थियो । छाना आधा खुला थियो । आधा छाना हुरीले उडाएको थियो । धुरीमा पंखाको डल्लो मात्र थियो । पाताहरुलाई हुरीले उडाएर कहाँ पुर्यायो , पत्तो छैन । हावाले उडाउन नसकेर त्यही छानामाथि हावाले हल्लाईरहने जस्तापाताको कर्कश आवाज । उखरमाउलो गर्मी ।

त्यही उखरमाउलो गर्मीमा बिचल्लीमा परेका तीन कलिला दिदी बहिनी । चार भाई बहिनीकी जेठी दिदी भावना । उनकै उमेर १३ वर्ष नाघेको छैन । तर उनी नै चार भाई बहिनीकी अभिभावक हुन् ।

भाईबहिनीलाई खाना खुवाईवरी आफूसंग तयार गरेर विद्यालय लगेर जान्थिन । तर हावाहुरीले विस्थापित भएपछि उनले स्कुल जान पाएकी छैनन ।

हावाहुरीबाट विस्थापित भएर छिमेकीको घरमा बहिनीहरुसंग आश्रय लिएर बसिरहेकी भावना नै ति भाईबहिनीकी बुवा पनि हुन् । आमा पनि ।

भन्नलाई त उनका बुवाआमा छन् । तर बुवाआमा दार्चुलामा छन् भन्ने सुनेका छन्, उनीहरुले । तर कहाँ छन् । थाह छैन । कहिले पैसा पठाउछन् । तर पुग्ने गरी पैसा कहिल्यै आउदैन ।

हावाहुरीले विस्थापित भएर अर्कैको घरमा शरण लिईरहेका छोराछोरीलाई ओत दिन उनका बाआमा आएनन ।
हावाहुरीपछि भाई फुपुको घरमा गयो । तीन बहिनी हामीसंगै छौ,भावनाले भनिन, बाआमा कहाँ छन् । थाह छैन ।

पहूँच र भनसुन गर्नेहरुले स्थानीय सरकार गुहारे । प्रदेश सरकारसंग त्रिपाल मागे । तर दुई बहिनीका लागि सरकार उनीहरुकी जेठी दिदी भावना हुन् । कतिपय हावाहुरी विस्थापितहरुले त्रिपाल पाए । उनले त त्यो पनि पाईनन ।
छाना उडाएको घरभित्र चुल्हो छ । जसमा आगो नबलेको साता नाघ्यो । हुन् त चुल्होमा आगो बल्न अन्न हुन प¥यो, तर उनको घरभित्र त मुसालाई खान अन्नको दाना छैन ।

एक छाक टार्ने केही उपाय छैन । फेरि पनि उनी बिचलित देखिन्नन ।
यही अवस्था देखेर युवा व्यवसायी ठाकुरले उनको घर पुननिर्माण गर्ने बाचा गरे । र सोमवार घर निर्माण गरिदिए । र महिनाभरी पुग्नेगरी एक बोरा चामल, ५ किलो दाल, नून तेल समेत उपलब्ध गराए ।

सशस्त्र प्रहरीले घर निर्माणमा सहयोग गर्यो । छिमेकी श्याम कुवँरले छाना निर्माणका लागि सापटीमा काठ उपलब्ध गराए । आफ्नै छाना उडेको छ । कुवँरले पनि उदारमन देखाए ।

उनीहरुको त्यस्तो अवस्था देखेर पुस्तक व्यवसायी श्याम पाठकले वर्षभरीका लागि स्टेशनरी उपलब्ध गराउने निर्णय सुनाए ।
र यसरी भावनाको घर पुनर्निर्माण भयो । उनीहरु सोमवार देखि आफ्नो घरमा बस्न पाए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार