गुठी विधेयकको विरोध

– केशवप्रसाद पाण्डे
काठमाडौं ।

गुठी विधेयकको विरोधमा शनिबार पनि उपत्यकामा प्रदर्शन भएको छ । विधेयकको विरुद्धमा निरन्तर प्रदर्शन गर्दै आएका विशेष गरी उपत्यकाका नेवार समुदायले सोहीक्रमलाई निरन्तरता दिँदै ज्यापू समाजको आयोजनामा बिहान वसन्तपुरमा विरोध प्रदर्शन गरिएको थियो । त्यस्तै, राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिको संयोजकत्वमा साँझ बाजागाजा, झ्याली र सिठ्ठीसहितको जुलुस निकालेर विरोध प्रर्दशन गरिएको थियो । वसन्तपुरमा ठूलो संख्यामा जम्मा भएका प्रर्दशनकारीले विधेयक खारेजीको माग गर्दै प्रर्दशन गरे । सिठ्ठी जुलुसमा भने उपत्यकाका गल्लीगल्लीबाट सिठ्ठी र बाजागाजासहित जनप्रतिनिधिका निवासअगाडि सिठ्ठी बजाएर सरकार तथा जनप्रतिनिधिको ध्यानाकर्षण गराइएको थियो ।

विधेयकमा किन असन्तुष्टि ?

उपत्यकामा एकीकृत रूपमा आन्दोलनलाई अगााडि बढाँउदै आएको राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ आफूहरूको मुख्य असन्तुष्टि विधेयककको बुँदा २४ मा रहेको र यसले गुठियारको अधिकार समाप्त गरेर राष्ट्रसेवक राखेर सञ्चालन गर्ने उल्लेख गरिएको छ । परम्परादेखि प्रचलनमा रहेको गुठियारको अधिकार अन्त्य, गुठीका सम्पत्ति संरक्षणका साथै अन्य सम्पूर्ण बुँदाहरूसमेत यससँगै अन्तर्सम्बन्धित रहेकाले गुठीका सम्पत्ति संरक्षण गर्न नसक्ने र गुठी परम्परा संरक्षणको विरुद्धमा रहेको बताँउछन् । निजी गुठी तथा सामाजिक–धार्मिक संस्था राज्यको नाममा हुने व्यवस्था विधेयकमा छ । विधेयकका अन्य बुँदाले यसलाई बचाउन सक्दैनन् । श्रेष्ठ भन्छन, ‘हामी अहिलेसम्म शान्तिपूर्ण आन्दोलन गरिरहेका छौं । सरकारले अन्य कठोर आन्दोलनका लागि बाध्य नपारोस् । विधेयक खारेज गरिनुपर्छ र विज्ञ र विद्वत्वर्गसँगको छलफलबाट नयाँ विधेयक बन्न्ुापर्छ ।’

त्यस्तै, गुठी संरक्षण पुचः का महासचिव भरत जंगम यो विधेयकले गुठी संरक्षण नै गर्न नसक्ने दाबी गर्छन् । उनी विधेयकको प्रस्तावनामा नै ‘किसानहरूको हकलाई स्थापित’ भन्ने शब्द उल्लेख गरिएकाले विधेयक भूमिसुधारको पक्षमा रहेको र यसले गुठी संरक्षणको पक्षमा काम गर्न नसक्ने उनको दाबी छ ।
संविधानमा ‘धर्म–संस्कृति रक्षा गर्ने अधिकार व्यक्ति तथा समुदायलाई रहने’ भनी उल्लेख गरिएकोमा संविधानको मूल्य–मान्यताविपरीत विधेयकले गुठी र गुठीको सम्पूर्ण अधिकार खोस्ने रहेकाले संविधानको भावनाविपरीत रहेको जंगम दाबी गर्छन् ।

प्रस्तावनादेखि अन्य सबै बुँदामा असहमति रहेकाले सो बुँदामा संशोधन मात्र पर्याप्त नहुने भएकाले विधेयक फिर्ता गरेर व्यापक छलफबाट मात्र कस्तो हुने भन्ने विषय टुंगो लाग्ने उनको भनाइ छ । जंगम भन्छन, ‘हाम्रो आन्दोलन विधेयक फिर्ता गर्दैमा रोकिँदैन । गुठी व्यवस्थालाई व्यवस्थित नगरेसम्म जारी रहनेछ ।’

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार