पत्रकारलाई उपहार : कति जायज ?

-भानुभक्त आचार्य

गत बैसाखमा उदयपुरको त्रियुगा नगरपालिकाले प्रविधि हस्तान्तरण कार्यक्रम शीर्षकमा २७ जना पत्रकारलाई प्रति गोटा ४२ हजार ५ सय रुपैयाँ बजार मूल्यका ल्यापटप (कम्प्युटर) वितरण गरेको रहेछ। पत्रकारलाई ल्यापटप वितरण गरी गुपचुप राखिएको समाचार यसै साता सार्वजनिक भएपछि सञ्चारजगत् एवम् सामाजिक सञ्जालमा पक्ष-विपक्षमा बहस चलिरहेको छ। यस लेखमा पत्रकारले ल्यापटप उपहार लिएका सम्बन्धमा पक्ष-विपक्षका तर्क, उपहारको प्रयोजन र उपहारले समाचारमा पार्नसक्ने प्रभावका बारेमा चर्चा गरिएको छ।

पक्ष-विपक्षका तर्क
ढिलै भए पनि ‘ल्यापटप प्रकरण’ सार्वजनिक भएपछि यसको पक्ष-विपक्षमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणीहरु आइरहेका छन्।

उदयपुरका राजनीतिक सञ्चार संगठनहरु (प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टर)ले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुले पारदर्शी ढंगबाट नगरपालिकाको बजेटमा पारेर ल्यापटप लिएको दाबी गरेका छन्। उनीहरुले ल्यापटप लिएबाट प्रेस स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने र नगरपालिकाको आलोचनात्मक समाचार लेख्न कुनै छेकथुन नहुने जिकिर गरेका छन्। उनीहरुको तर्क छ- ‘ल्यापटप लिनु खराब हो भने पत्रकार महासंघले पाउने अनुदान, सञ्चार संस्थाहरुले प्राप्त गर्ने उपकरण, पत्रकारका विदेश भ्रमण, कार्यक्रमहरुमा मागिने चन्दा, प्रायोजकले दिएका सामग्री आदि सबै खराब हुन्।’

अझ मोफसलबासी पत्रकारको पीडा केन्द्रले नबुझेको भन्ने दलिल पनि विज्ञप्तिमा छ।

ल्यापटप वितरणसम्बन्धी कार्यक्रमको बैठक पुस्तिकाको एउटा दफामा ‘पत्रकारले तयार पारेका तथा उत्पादन गर्ने सामग्रीहरु नगरपालिकाको नीति तथा विकास निर्माणका लागि सघाउ पुग्ने किसिमको हुनुपर्नेछ’ भन्ने उल्लेख छ। यो सर्त मान्नु भनेको सम्बन्धित पत्रकारमा निहीत ‘सम्पादकीय स्वतन्त्रता’लाई उपहारसँग साट्नु हो।

ल्यापटप प्रकरणको बचाउ गर्दै पत्रकार तीर्थ कोइरालाले फेसबुकमा लेखेका छन्- ‘पत्रकारिता प्रवर्द्धनका लागि दूतावास र अनेकौं संस्थाले दिएका उपहार सहयोग लिँदा (हुन्छ भने) सरकार वा स्थानीय सरकारले सर्त नराखी पारदर्शी ढंगले दिएको कुरा लिन अझ मजाले हुन्छ। तर, पत्रकारिताको आलोचनात्मक धार मार्नु हुदैन…।’

तर ‘पत्रकारिताको आलोचनात्मक धार’ मापन गर्ने कुनै आधार देखिँदैन। बरु अन्य नगरपालिकाका पदाधिकारीहरुले पनि पत्रकारलाई खुसी पार्न कम्प्युटर, ल्यापटप, मोटरसाइकल, कार, घरघडेरी नै दान दिन थाल्ने अवस्था आउँछ। यस्तो अवस्थामा पत्रकारले सरकारी पदाधिकारीको भ्रष्ट आचारप्रति मौन रहन्छ र सकारात्मक प्रोपगन्डा गर्न थाल्छ। यो भनेको कुनै राजनीतिक दलप्रति झुकाव भएको पत्रकार जस्तै हो, जो आफू संलग्न राजनीतिक दलका गतिविधिप्रति नरम हुन्छ। विपक्षीको मात्रै दोष कोट्याउन थाल्छ। यस्तो परिपाटीले ‘चौथो अंग’ सरकारकै प्रचारप्रसार शाखा जस्तो हुन्छ।

ल्यापटप वितरणसम्बन्धी कार्यक्रमको बैठक पुस्तिकाको एउटा दफामा ‘पत्रकारले तयार पारेका तथा उत्पादन गर्ने सामग्रीहरु नगरपालिकाको नीति तथा विकास निर्माणका लागि सघाउ पुग्ने किसिमको हुनुपर्नेछ’ भन्ने उल्लेख छ। यो सर्त मान्नु भनेको सम्बन्धित पत्रकारमा निहीत ‘सम्पादकीय स्वतन्त्रता’लाई उपहारसँग साट्नु हो। अर्थात् नगरपालिकाले पत्रकारलाई ल्यापटप दिएवापत आफ्नो पक्षमा समाचार लेखाउन चाहेको देखिन्छ।

सम्बन्धित पत्रकारहरुले ‘प्रक्रिया पुर्‍याएर नगरपालिकाबाट ल्यापटप लिएको भने पनि पारदर्शीरुपमा यो सहयोग लिएको भए दुई महिनाअघि नै समाचार आउँथ्यो। समाचार सार्वजनिक गर्न हिच्किचाउनुको मतलब ल्यापटप लिनेहरुलाई पनि यो पेसागत रुपमा गलत काम हो भन्ने जानकारी भएको हुनुपर्छ।

सेतोपाटी अनलाइनमा प्रकाशित ‘ल्यापटप लिएका पत्रकार ‘ल्यापडग’ बने भने…’ शीर्षक समाचारमा प्रतिक्रिया लेख्दै उदयपुरकै पत्रकार देवराज पुमा राईले राजनीतिक दलनिकट पत्रकार नभएकाले आफूलाई यस विषयमा कसैले नसोधेको र ल्यापटप वितरण नगरपालिकाको पक्षमा गुणगान गराउने प्रपञ्च बाहेक अरु केही नभएको टिप्पणी गरेका छन्। पत्रकारिताका अध्येता भुवन केसी लेख्छन्- ‘पत्रकार महासंघले परियोजना सञ्चालन गर्न हुने, अरु पत्रकारले ल्यापटप लिन किन नहुने भन्ने तर्कमा कुनै दम छैन। परियोजना सञ्चालन र ल्यापटप लिनु विल्कुलै फरक कुरा हुन् …।’

सम्बन्धित पत्रकारहरुले ‘प्रक्रिया पुर्‍याएर नगरपालिकाबाट ल्यापटप लिएको’ भने पनि पारदर्शीरुपमा यो सहयोग लिएको भए दुई महिनाअघि नै समाचार आउँथ्यो। समाचार सार्वजनिक गर्न हिच्किचाउनुको मतलब ल्यापटप लिनेहरुलाई पनि यो पेसागत रुपमा गलत काम हो भन्ने जानकारी भएको हुनुपर्छ।

उपहार लेनदेनमा अन्तर्राष्ट्रिय अभ्यास
भारतको प्रेस काउन्सिलले जारी गरेको ‘नर्मज् अफ जर्नलिस्टिक कन्डक्ट, २०१०’ को पृष्ठ ८० मा पत्रकारलाई दिइने अनुचित पक्षधरता (अनड्यू फेभर) नियन्त्रणसम्बन्धी २४ बुँदे मार्गनिर्देशन दिइएको छ। यस अनुसार सरकारले पत्रकार भएकै आधारमा खर्च व्यहोर्ने गरी बस्ने/खाने प्रबन्ध गर्नु हुँदैन। सम्बन्धित सञ्चार संस्थाले मात्रै पत्रकारको यातायात खर्च उपलब्ध गराउनुपर्छ। राष्ट्रपति वा प्रधानमन्त्री जस्ता उच्च अधिकारीको विदेश भ्रमणमा सञ्चार संस्थाको व्यवस्थापनको मान्छेलाई संलग्न गराउनु हुँदैन।

मन्त्रीहरुले पत्रकारलाई कुनै पनि प्रकारको नगद सहयोग दिनु हुँदैन। पत्रकारको क्षमता अभिवृद्धि गर्ने बाहेक पत्रकारितासम्बन्धी क्लब, पत्रकारका संगठनलाई दिइने सरकारी सहयोग रोक्नुपर्दछ। पत्रकारले जतिसुकै मूल्यको भए पनि समाचार लेखिनु पर्ने व्यक्ति वा संस्थाबाट प्राप्त हुने उपहार लिनु हुँदैन। पत्रकारको जीवनबीमा सम्बन्धित सञ्चार संस्थाको दायित्व हो। सरकारले तिर्नु हुँदैन। पत्रकारलाई मात्रै लक्षित गरी सहुलियत ऋण, विमा वा अनुदान उपलब्ध गराउनु हुँदैन। संस्थागत प्रतिनिधित्व हुनु पर्ने अवस्थामा बाहेक पत्रकारलाई कुनै पनि सार्वजनिक समितिहरुमा मनोनित गर्नु हुँदैन। पत्रकारलाई जथाभावी दिइने पुरस्कार पनि रोकिनु पर्छ किनभने व्यापारीहरुले आफ्नो स्वार्थ प्रवर्द्धन गर्न त्यस्तो पुरस्कार प्रायोजन गर्न सक्छन्।

न्युयोर्क टाइम्सले २५ अमेरिकी डलरभन्दा बढी मूल्यको उपहार नलिन आफ्ना पत्रकारहरुलाई निर्देशन दिएको छ। उसले पत्रकारलाई मात्रै लक्षित गरेर दिइने छुट नलिन पनि सचेत गराएको छ। कदाचित ठूलो मूल्यको उपहार प्राप्त भए सम्बन्धित संस्थालाई फिर्ता गर्न टाइम्सले नमूना चिठी पनि आफ्नो आचारसंहितामा राखेको छ।

अमेरिकाको सोसाइटी अफ प्रोफेसनल जर्नलिस्ट (एसपिजे) ले जारी गरेको आचारसंहितामा भनिएको छ- ‘पत्रकारले कुनै प्रकारको उपहार, विशेष ग्राह्यता, शुल्क, निःशुल्क यात्रा वा विशेष मोलाहिजा तिरस्कार गर्नुपर्छ। पत्रकारले समाचारको स्रोतमा पहुँच प्राप्त गर्न कसैलाई पैसा दिनुहुँदैन। विज्ञापनदाता, प्रयोजक वा कुनै विशेष स्वार्थ समूहबाट प्राप्त हुने विशेष सम्मान, सुविधा वा प्राथमिकता अस्वीकार गर्नुपर्छ। अन्तर्राष्ट्रिय पत्रकार महासंघको आचारसंहिताको दफा ८ मा कुनै प्रकारको घुस लिनुलाई गम्भीर पेसागत अपराध भनिएको छ, जसमा घुसअन्तर्गत महँगा उपहार लिने वा अनुचित लाभ हासिल गर्ने काम पनि पर्दछन्।

न्युयोर्क टाइम्सले २५ अमेरिकी डलरभन्दा बढी मूल्यको उपहार नलिन आफ्ना पत्रकारहरुलाई निर्देशन दिएको छ। उसले पत्रकारलाई मात्रै लक्षित गरेर दिइने छुट नलिन पनि सचेत गराएको छ। कदाचित ठूलो मूल्यको उपहार प्राप्त भए सम्बन्धित संस्थालाई फिर्ता गर्न टाइम्सले नमूना चिठी पनि आफ्नो आचारसंहितामा राखेको छ।

विश्व प्रशिद्ध नेसनल पब्लिक रेडियो (एनपिआर)ले पनि ‘पत्रकारले उपहार, दान वा चन्दा जस्ता कुराहरुलाई निरुत्साहन गर्नुपर्छ’ भनेको छ। समाचार सङ्कलन गर्दा हुने खर्च (यातायात र खानासमेत) पत्रकार वा उसको सञ्चार संस्थाले व्यहोर्नु पर्छ। निःशुल्क उपलब्ध गराइएका महँगा उपहारहरु आदरपूर्वक तिरस्कार वा फिर्ता गर्नुपर्छ। कामको प्रशंसा गरेर दिइने सातानिता सांकेतिक वस्तु (जस्तैः टोपी, चियाकप, टि–सर्ट) बाहेक कुनै खालको नगद वा जिन्सी सहयोग लिनु हुँदैन। विशेष परिस्थितिमा व्यापारिक प्रतिष्ठान र राजनीतिक गतिविधि गर्ने संस्था बाहेकले दिएका यात्रा पास, खाना र सामान्य पारिश्रमिक स्वीकार गर्न सकिन्छ। तर, त्यसो गर्नुअघि आफूभन्दा माथिल्लो पदाधिकारी वा सम्पादकीय समूहसँग छलफल गर्नुपर्छ।

क्यानडाको पत्रकार आचारसंहिताको तटस्थता खण्डमा लेखिएको छ- ‘हामी विज्ञापनदाता र विभिन्न स्वार्थ समूहहरुसँग विशेष मोलाहिजा गर्दैनौं। समाचार प्रभावित पार्ने उनीहरुका प्रयत्नहरुको प्रतिरोध गर्छौं। सकेसम्म आफ्नै खर्चमा यात्रा गर्छौं। कुनै खास परिस्थितिमा अरु संस्थाको प्रायोजनमा यात्रा गर्नु परेमा त्यस्तो परिस्थिति समाचारमा खुलाउँछौं। व्यक्तिगत प्रयोगका लागि कुनै प्रकारको उपहार वा अतिथि सत्कार खोज्दैनौं। सामान्य चलनचल्तीका बाहेक कसैले दिएका मूल्यवान उपहारहरु दातालाई नै फिर्ता गर्छौंं। यदी कुनै उपहार फर्काउन सम्भव भएन भने कुनै परोपकारी संस्थालाई दिन्छौं। कुनै मूल्यवान् वस्तु वा सेवालाई निःशुल्क वा घटाइएको मूल्यमा लिन्नौं। पत्रकारको हैसियत देखाएर सर्वसाधारणले पाउनेभन्दा बढी व्यापारिक नाफा वा अन्य लाभ लिदैनौं।’

भ्रष्टाचारले चुर्लुम्म डुबेका नगरपालिकाहरु भोलि पत्रकारलाई खुसी पार्न कार दिनु परे पनि तयार हुनेछन्। यसले भ्रष्टाचारलाई संस्थागत र बैधानिक बनाउने छ। जसले भ्रष्टाचार सार्वजनिक गर्छ भन्ठानिएको छ, उसैको मुखबुझो लगाइदिएपछि जनताको करमा थप लुट मच्चिनेछ।

उपहारको प्रयोजन
पत्रकारितामा उपहार लिनेदिनेसम्बन्धी विषयमा क्लेयर डि’सुजाले एसियाली र पश्चिमी देशहरुमा हुने बुझाइको भिन्नता केलाएकी छन्। उनका अनुसार एसियाली देशहरुमा उपहार लिनुदिनु भनेको पहुँच बढाउनु, सम्बन्ध स्थापना गर्नु, आफूलाई लाभ हुने किसिमले व्यापारिक उद्देश्य हासिल गर्नु, सरकारी कर्मचारी/पदाधिकारीमा सम्बन्ध बढाएर लाभ हासिल गर्ने प्रयास गर्नु हो। तर, पश्चिमा देशमा भने उपहार लिनुदिनु भनेको अनुचित जिम्मेवारी स्वीकार गर्नु हो। त्यसैलै उनीहरु त्यस्तो लेनदेन मन पराउँदैनन्। बरु यस्तो उपहारलाई त गलत काममा प्रोत्साहन गर्न दिइने घुसको रुपमा पो बुझिन्छ। तसर्थ, समाचार स्रोतहरुबाट प्राप्त हुने उपहारले मिडिया र पत्रकारको सम्बन्धलाई प्रभावित पार्छ।

वोल्फिन बर्गरले उपहार दिनुका पछि ३ वटा अभिप्रायः हुने बताएका छन्- आफ्नो अहम्‌को प्रस्तुति वा ऋणको अनुभूति, सामाजिक मर्यादाको अनुसरण र परोपकारी व्यवहारको प्रस्तुति। यीमध्ये पहिलो अभिप्रायः सबैभन्दा खतरनाक हुन्छ। बर्गरका अनुसार मिडिया वा पत्रकारलाई दिइने उपहार वा दान भनेको सकारात्मक समाचारको अपेक्षा गर्दै नाफामूलक सम्बन्धको निर्माण गर्ने लगानी हो।

फ्रान्सेली दार्शनिक डेरिडा भन्छन्- ‘आपसी हितको अपेक्षा नभएको उपहार मात्रै वास्तविक हो। वास्तविक उपहारमा दाताको निहीत स्वार्थ झल्किनु हुँदैन, अपेक्षा राख्नु हुँदैन र उपहारको मूल्यको आधारमा अभिमान पनि प्रकट हुनुहुँदैन। अझ दाताले उपहारमा आफ्नो पहिचानलाई गोप्य राख्नुपर्छ।’

तर, अचेल यस्ता निःस्वार्थ उपहारदाता प्राप्त गर्न कठिन हुन्छ। उपहार दिनेले स्वाभाविक रुपमा उपहारमा भएको खर्चभन्दा बढी फाइदा खोज्छ। उपहार लिने व्यक्तिलाई आफूप्रति कृतज्ञ हुन दबाब दिन्छ, जस्तैः व्यापारीहरुले पत्रकारलाई थोरै उपहार दिएर त्योभन्दा बढी मूल्य पर्ने विज्ञापन सामग्रीलाई समाचारको रुपमा प्रकाशन/प्रसारण गराउन खोज्छन्। उनीहरुका लागि पत्रकारलाई उपहार दिनुको प्राथमिक सर्त त्यही हो।

अरुको दान, चन्दा, उपहार आदिबाट अनुग्रहित पत्रकारले सर्वाङगै लुगा फुकाले पनि मनमस्तिष्कमा घुसेको आस्था फुकाल्न सक्दैन। बरु उसका हरेक गतिविधिमा त्यो छचल्किन्छ।

उपहार लिने/दिने प्रचलनले पत्रकारलाई सर्वसाधारणप्रति होइन, उपहारदाताप्रति जवाफदेही बनाउँछ। जब कुनै पत्रकार उपहारदाताका कमजोरीहरुप्रति मौन रहन्छ, उसको पत्रकारिताको मृत्यु त्यहीबेला हुन्छ। यस्तो परिपाटीले लोकतन्त्रलाई यान्त्रिक र कमजोर बनाउँछ। मेरो विचारमा पत्रकारलाई ल्यापटप होइन, सूचनामा पहुँच दिए पुग्छ। पत्रकारले खोजेका सूचना दिन मिल्ने अवस्थामा आलटाल नगरी बताइदिए पुग्छ।

पत्रकार तथा सञ्चारकर्मीहरुले पेसागत आचरणलाई अक्षरसः पालन नगर्ने हो भने उपहार दिने चलनले पत्रकारिताको विश्वसनियता र पारदर्शितालाई ध्वस्त पार्छ। तसर्थ कसैले दियो भन्दैमा पत्रकारले समाचारले समेट्नु पर्ने व्यक्ति, संस्था वा समूहबाट कुनै किसिमको उपहार लिनु हुँदैन।

उपहारको प्रतिकूल प्रभाव
पत्रकारले नगरपालिकाबाट ल्यापटप नै उपहार पाएको नजीरले गर्दा अब हरेक नगरपालिकामा पत्रकारलाई ल्यापटप, कम्प्युटर वा त्यस्तै उपकरण उपहार दिन दबाब पर्छ। त्रियुगा नगरपालिकाले यस शीर्षकमा करिब १२ लाख रुपैयाँ खर्च गरेको छ। अब १२ लाख रुपैयाँकै दरले देशभरिका ७ सय ५३ स्थानीय निकायमा बजेट छुट्याउने हो भने पनि ६८ करोड ७६ लाख रुपैयाँ खर्च हुन्छ। अब खुलमखुल्ला उपहार माग्ने क्रम बढ्नेछ। ल्यापटपमा मात्रै यो सिमित रहने छैन। भ्रष्टाचारले चुर्लुम्म डुबेका नगरपालिकाहरु भोलि पत्रकारलाई खुसी पार्न कार दिनु परे पनि तयार हुनेछन्। यसले भ्रष्टाचारलाई संस्थागत र बैधानिक बनाउने छ। जसले भ्रष्टाचार सार्वजनिक गर्छ भन्ठानिएको छ, उसैको मुखबुझो लगाइदिएपछि जनताको करमा थप लुट मच्चिनेछ।

पत्रकार आचारसंहिता, २०७३ को दफा ५(१३) मा ‘पत्रकार तथा सञ्चारमाध्यमले पेसागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पार्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक, प्रतिष्ठान, संघसंस्था वा व्यक्तिगतबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार, वा सम्मान, वा विशेष सुविधा लिनु हुँदैन’ भन्ने उल्लेख छ। तर, आचारसंहिताको यस दफाले पत्रकारिता पेसालाई प्रभाव पारेको वा नपारेको जाँच्ने संयन्त्र कस्तो हुनुपर्छ, मापदण्डहरु के हुनुपर्छ भन्ने जस्ता प्रश्नहरुको उत्तर दिँदैन।

जतिसुकै पढे पनि, क्षमता विकासका लागि जतिसुकै तालिम दिए/लिए पनि, जतिसुकै देशविदेश घुमे पनि तथा सञ्चार संस्थाका जुनसुकै ओहोदामा विराजमान भए पनि पत्रकारिताका शाश्वत मापदण्डहरुलाई दैनिक व्यवहारमा अनुसरण गर्न नसक्ने व्यक्ति पत्रकार होइन। त्यो पत्रकारको आवरणमा पेसागत इमानलाई बन्धकी राखेर मुनाफा कमाउन हिँडेको कर्मकाण्डी हो।

त्यसको फाइदा उठाउँदै ‘पत्रकार’ भइखाएको व्यक्तिले जोसुकैबाट जस्तोसुकै सर्तमा दान, उपहार, घुस आदि लिन्छ तर ‘मेरो पत्रकारितामा प्रभाव पर्छ’ भन्दैन। अखबारमा काम गर्ने एकजना जिल्ला तहका राजनीतिक कार्यकर्तालाई तपाईंको दोहोरो भूमिकाले ‘पत्रकारिता’मा प्रभाव पर्दैन भन्ने प्रश्न सोधेको थिएँ। उनले बडो सहज उत्तर दिए- ‘म अखबारको कार्यालयभित्र छिर्दा राजनीतिलाई जुत्ता खोलेकै ठाउँमा बिसाएर आउँछु।’ तर, त्यस समाचार संस्थामा उनको मुख्य काम आफूसम्बद्ध पार्टीका सानातिना गतिविधिलाई अखबारमा बढी प्राथमिकताका साथ प्रकाशन गर्नु रहेछ। अरुको दान, चन्दा, उपहार आदिबाट अनुग्रहित पत्रकारले सर्वाङगै लुगा फुकाले पनि मनमस्तिष्कमा घुसेको आस्था फुकाल्न सक्दैन। बरु उसका हरेक गतिविधिमा त्यो छचल्किन्छ।

पञ्चायतकालमा, बहुदल लागेपछि, शाही कालमा सरकारका पक्षमा हामी लेख्छौं भनेर इमान धरौटी राखेर ‘हण्डी’ खानेहरु खाइरहेकै छन्। पहिले मिसन पत्रकारिताका नाउँमा राजनीतिक दलको झोला बोक्नेहरु अहिले पनि यो वा त्यो बहानामा नेताका अघिपछि लागेकै छन्। पहिले हण्डी खाएकाहरुले अब अरुले खाएको हण्डीलाई पनि जायजै देख्लान्। जतिसुकै पढे पनि, क्षमता विकासका लागि जतिसुकै तालिम दिए/लिए पनि, जतिसुकै देशविदेश घुमे पनि तथा सञ्चार संस्थाका जुनसुकै ओहोदामा विराजमान भए पनि पत्रकारिताका शाश्वत मापदण्डहरुलाई दैनिक व्यवहारमा अनुसरण गर्न नसक्ने व्यक्ति पत्रकार होइन। त्यो पत्रकारको आवरणमा पेसागत इमानलाई बन्धकी राखेर मुनाफा कमाउन हिँडेको कर्मकाण्डी हो।

पत्रकारिताको अन्तर्राष्ट्रिय मापदण्डलाई मान्ने हो भने हिजोका गल्ती, कमजोरीमा टेकेर अरु गल्ती गर्ने होइन कि समाचार स्रोतबाट प्राप्त हुने महँगा उपहार, चन्दा, भ्रमणभत्ता, यातायात खर्च, अपारदर्शी लगानी र सम्मान आदिबाट नेपाली पत्रकारिता माथि उठ्नुपर्छ।

नेपाली पत्रकारितामा त्यस्ता कर्मकाण्डीहरुको संख्या मनग्गे छ, जसले पत्रकारिताका मानकहरुको यो वा त्यो बहानामा, तर्क वा कुतर्कमा हुर्मत लिए। तिनका कारणले अचेल पत्रकारले राजनीतिक गर्न किन नहुने? पत्रकारले संघसंस्थाबाट उपहार लिन किन नहुने? पत्रकारले कार्यक्रम आयोजकसँग सुविधाभत्ता माग्न किन नहुने? पत्रकारले कुनै निकायमा सल्लाहकार हुन किन नहुने? जस्ता प्रतिप्रश्नहरु खुलमखुल्ला आइरहेका छन्। फलानाले पनि यस्तै गरेको थियो, मैले किन नहुने भन्ने जवाफ आउँछ। मानौं, फलानोले धन्न गल्ती गरिदिएछ। त्रुटि सच्याउने होइन कि त्यसैलाई नजीर बनाएर व्यक्तिगत लाभ लिन पौंठेजोरी खेल्ने क्रम बढेको छ। विगतका यस्तै गल्तीलाई नजीर बनाएर त्रियुगा नगरपालिकाका पत्रकारहरुले आफूहरुले गलत नगरेको जिकीर गरेका छन्। तर, गलतलाई नजीर मानेर सत्यको मूलढोकामा कहिल्यै पुगिन्न।

बहुदलीय व्यवस्थाको पुनर्बहालीदेखि हिसाब गर्ने हो भने तीन दशक लाग्ने बेला भो यस्ता खराब अभ्यासहरुले निरन्तरता पाएको। अब तीन दशकदेखि हामीले गरिल्याएको परम्परा नै पत्रकारिताको मानक हो भन्ने हो भने बेग्लै कुरा। नत्र पत्रकारिताको अन्तर्राष्ट्रिय मापदण्डलाई मान्ने हो भने हिजोका गल्ती, कमजोरीमा टेकेर अरु गल्ती गर्ने होइन कि समाचार स्रोतबाट प्राप्त हुने महँगा उपहार, चन्दा, भ्रमणभत्ता, यातायात खर्च, अपारदर्शी लगानी र सम्मान आदिबाट नेपाली पत्रकारिता माथि उठ्नुपर्छ।

अन्त्यमा उपहार प्राप्तकर्ताहरुलाई प्रश्न- सामाजिक सञ्जालमा यतिविधि टिकाटिप्पणी भइरहँदा पहिलेका त्रुटिलाई आधार मानेर त्यो महँगो उपहार समाएरै बस्ने हो? तपाईंसँग दुई विकल्प छन्ः कि पेसा छाड्नुस् कि उपहार। तपाईंहरुको पेसागत इमानदारीबाट अरुहरुले सिक्नेछन्।

(आचार्य ओटावा विश्वविद्यालयमा प्राध्यापन गर्छन्।)

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार