पाटन दरबार क्षेत्रमा उर्लियाे जनलहर : गुठी विधेयकविरुद्ध सर्वत्र विराेध

काठमाडौं ।

सरकारले ल्याएकाे गुठी सम्बन्धी विधेयकप्रति यतिखेर सदनदेखि सडकसम्म र मिडियाका सम्पादकीयसम्म विराेधकाे लहर देखिएकाे छ । यसै क्रममा बिहीबार ललितपुरको पाटन दरबार क्षेत्रमा विरोध प्रदर्शनमा ठूलै जनलहर उर्लिएकाे देखियाे ।

ललितपुर तथा काठमाडाैँ उपत्यकाका स्थानीय नेवारसमुदायलगायत असन्तुष्ट पक्षकाे स्वत:स्फूर्त उपस्थिति देखिएकाे साे विराेध प्रदर्शनमा विभिन्न नारा अंकित प्लेकार्ड थिए । हातमा बाेकिएका प्लेकार्डमा ‘गुठी विधेयक खारेज गर’, ‘सम्पदा मास्न पाइँदैन’, ‘गुठीलाई लुटतन्त्रको गाेटी नबनाऊ’, ‘सम्पूर्ण गुठीयार एक हौँ’, ‘गुठी हाम्रो प्राण हो’, ‘सम्पदा मास्न पाइदैन’ जस्ता नारा लेखिएकाे थियाे ।

साे प्रदर्शनकाे नेतृत्व स्थानीय गुठीयारहरूले गरेका थिए । सयौँको संख्यामा जम्मा भएका गुठीयारहरूले सरकारविरुद्ध चर्का नारावाजी पनि गरेका थिए ।

यसअघि आइतबार माइतीघर मण्डलामा भएकाे गुठी संरक्षण अभियन्ताकाे प्रदर्शनमा प्रहरीले पानीकाे फाेहरा हान्दै दमन गरेपछि उनीहरु झन रिसाएका थिउ । साेमबार पनि ठूलो संख्यामा प्रदर्शनकारीहरुले असन इन्द्र चोकमा लगायत क्षेत्रमा विरोध प्रदर्शन गरे ।

गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक सरकारले संसदमा दर्ता गराएदेखि नै यसकाे विराेध भइरहेकाे छ । विधेयक फिर्ता तथा खारेजीको माग गर्दै आन्दोलनकारी प्रदर्शनमा उत्रिएका छन् भने विभिन्न राजनीतिक दलका नेताहरुले समेत सरकारले ल्याएकाे साे विधेयक राेक्नुपर्ने बताइरहेका छ ।

बिहीबार नै साे विधेयक फिर्ता लिन सरकारसंग माग गर्दै विश्व हिन्दु महासंघकाे एक प्रेस विज्ञप्ती जारी गर्याे । उता राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि बिहीबार गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिनुपर्ने माग गर्दै नभए आन्दोलन गर्ने चेतावनी दिए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार