विष्णु रिमालले मध्यरातमा प्रधानमन्त्रीलाई कस्तो कथा सुनाउँलान् ?

Loading...

काठमाडौं।

सरकारी कर्मचारी जुन पार्टी सरकारमा आयो, त्यसैका बन्छन् र सोही अनुसार आफ्नो दुनो सोझ्याउँछन् । यो आम मानिसले भन्ने गरेको र सिंहदरबारको प्रवृत्तिको रुपमा स्थापित भएको तथ्य हो ।

तर कर्मचारी प्रशासनको उच्च पदमा रहेका मुख्य सचिव भने सरकार नेकपाको भएपनि काम भने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको गरिरहेका छन् । उनी काँग्रेसका खास कार्यकर्ता हुन्, काँग्रेसका केही नेताको यस्तै टिप्पणी छ । वर्तमान सरकारलाई काम गर्न नदिने, हरेक कुराको अवरोध गर्ने विशेष क्षमता रेग्मीसँग रहेको छ । उनले राष्ट्रिय रुपमा असाध्यै महत्व राख्ने काम र सूचनामा समेत लापरवाही गरेको स्पष्ट भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बुझाई के छ भने मुख्य सचिव रेग्मी सरकारलाई काम नै गर्न नदिएर असफल बनाउने मिशनमा लागेका छन् ।

पछिल्लो पटक उनले त्यस्तै गरे । काठमाडौँ उपत्यकामा प्रतिबन्धित नेत्र विक्रम चन्दले विस्फोट गराउँदैछ भन्ने आयशको सूचना राष्ट्रिय अनुसन्धान विभागले मुख्य सचिव रेग्मीलाई उपलब्ध गराएको थियो । चन्दको गतिविधि बढेको र केही हतियार धारी मानिस समेत आएको हुन सक्ने उक्त विवरणमा समावेश थियो । तर मुख्य सचिव रेग्मीले सो सूचनालाई महत्व नै दिएनन् र प्रधानमन्त्रीलाई समेत कुनै जानकारी नै दिएनन् । उनले त्यो सूचना आफ्नो कार्यकक्षको दराजमा थन्क्याइदिए । उनका सहयोगीलाई त सो कुरा जानकारी हुने कुरै भएन ।

विभागले मुख्य सचिवलाई मात्रै नभई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई समेत सो सूचना उपलब्ध गराएका थिए । विभाग प्रधानमन्त्री कार्यालय मातहत आएपछि सूचना मुख्य सचिव र विष्णु रिमाललाई विभागले दैनिक प्रतिवेदन बुझाउने गरेको छ । विष्णु रिमाल त ठेक्का पट्टा मिलाउने काममा व्यस्त हुनुपरेका कारण विभागको सूचना थाहा पाउन सकेका थिएनन् । उनलाई कुन आयोजना कसलाई दिने, को मार्फत काम गराउने, को मार्फत बढी भन्दा बढी रकम उठाउने बाहेक अन्य विषयमा कुनै ध्यान नै छैन, जानकारहरु यसै भन्छन् । तर रिमाल भने आफूलाई खुइल्याउन लागिपरेका तत्वले यस्ता हल्ला चलाउने गरेको भन्दै पन्छन् गरेका छन् ।

विष्णु रिमाल प्रधानमन्त्रीलाई मध्यरातसम्म कथा सुनाउन जाने गर्छन् । प्रधानमन्त्रीलाई निद्रा नलागे कथा सुनाउने विशेष जिम्मेवारी पाएका रिमालले कथा सुनाउने बेलामा समेत विभागको उक्त सूचना किन सुनाएनन् भन्ने प्रश्न पनि उठेको छ । राती राती कथा सुनाउने जिम्मेवारी पाएका विष्णु रिमालले त थाहा पाएनन् नै सही । तर सरकारी कर्मचारीको मुख्य जिम्मेवार व्यक्ति रेग्मीले समेत चन्दको विस्फोटको सूचना किन पाएनन् र किन प्रधानमन्त्रीलाई जानकारी गराएनन् भन्ने आशंका चौतर्फी रुपमा बढेको छ । त्यसको अर्थ उनी विस्फोट भए पनि हुन्छ, त्यसको जिम्मेवारी कर्मचारीले लिनु पर्दैन भनेर चुप बसेको हुन सक्ने पनि जानकारहरुको भनाइ छ ।

मुख्य सचिवको भूमिकामाथि प्रश्न उठेपछि सो विषयमा छानबिन गर्न प्रधानमन्त्रीले आफ्ना विश्वासपात्र समेत रहेका गृह सचिव प्रेमकुमार राईलाई छानबनि समितिको जिम्मा दिएका छन् ।
सचिवले मुख्य सचिवको छानबनि कसरी गर्ने भनेर राई समेत अन्यौलमा परेको जानकारहरुको भनाइ छ । आफ्ना हाकिमको कसरी छानबिन गर्ने, कस्तो काम आइलाग्यो भन्दै उनी गृहमन्त्रालयमा रमाइलो मानेर बस्ने गरेका छन् । तर छानबनि सुरु भयो कि भएन भन्दै प्रधानमन्त्री स्वकीय सचिव राजेश बज्राचार्य माफर्त राईलाई दैनिक नै दबाव दिइरहेको स्रोतको दावी छ ।

त्यसो त मुख्य सचिवलाई कारवाही गर्ने भए प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई समेत कारवाही गर्नुपर्ने माग उठेको छ । कथा सुनाउने जाने रिमालले त्यत्रो सूचना किन दिएनन् भन्दै सुरक्षा क्षेत्रका जानकारहरुले आपत्ति जनाएका छन् । विष्णु रिमाल र मुख्य सचिव रेग्मीलाई नै कारवाही गर्नुपर्ने सुरक्षा क्षेत्रका जानकारहरुको भनाइ छ ।

उता गृहमन्त्रालयका स्वघोषित सुरक्षा सल्लाहकार डा इन्द्य्रजित राई भने गृहमन्त्रीका सहयोगीले नै आफू विरुद्ध सञ्चारमाध्यममा समाचार लेखाएको भन्दै आन्तरिक छानबनि गर्न माग गरेका छन् । उनले गृहमन्त्री थापालाई आफ्नो बारेमा समाचार लेखाउनेहरुको बारेमा छानबनि गर्न र कारवाही गर्न दबाव दिएको बताइन्छ ।

गृहमन्त्रीका सचिवालयमा रहेकाहरुले राईलाई ‘डोरी’ भन्दै उडाउने गरेका छन् । नेपाल प्रहरी , सशस्त्र प्रहरी बलका सुरक्षार्कीले समेत डोरी सल्लाहकार कता गए भन्दै उनलाई उडाउने गरेका छन् । पछिल्लो विस्फोट प्रकरणमा समेत उनले शान्ति सुरक्षा चुस्त रहेको भन्दै केही पनि गर्नुनपर्ने भन्दै गृहमन्त्री रामबहादुर थापालाई कन्भिन्स गर्ने गरेका थिए । उनले आफूलाई केही जानकारी नभएको र चन्दका नेताहरुसँग आफ्नो सम्पर्क रहेको भन्दै राईले हावादारी र उडन्ते गफ गरेको बताइन्छ । त्यसो त गृह सचिव राई र इन्द्रजितको बीचमा समेत समस्या रहेको बताइन्छ । इन्द्य्रजितले गृहसचिवलाई त्यो मेरो भाइ हो , मैले भनेको जे पनि मान्छ भन्दै उडाउने गरेका छन् ।

यस्तै पछिल्लो पटक सोलुखम्बुको घटनामा समेत राईले हलुका ढंगले टिप्प्णी गरेको गृहमन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । तीन वटै सुरक्षा निकायको बैठकमा उनले भएको केही छैन, किन तिमीहरु नै हल्ला गर्दै हिडेका छौ भनेर बढी नै जान्ने भएर बोलेको बैठकमा सहभागी एक सुरक्षा प्रमुखले जानकारी दिए । राईका कारण पनि शान्ति सुरक्षाको विषयमा महत्वपूर्ण छलफल नै हुन नपाउने गरेको ती अधिकारीको भनाइ छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार