सवारी

वडाअध्यक्षको निर्दयी डोजरलेआागनको चिउरी उखेलेपछिगुहार माग्न सिंहदरबार खोज्दै हिाडेको धनबहादुर चेपाङलाईबबरमहलको खुला रोडमा प्रहरीले धकेल्दै भन्यो–‘सवारी छ’ ६ वर्षीया छोरीको बलात्कार र हत्यापछि रक्ताम्य जामा र पुतलीसबुतका लागि झोलामा बोकेरन्याय खोज्दै काठमाडाौ आइपुगेका नेत्रबहादुर परियारलाई कलंकीको आकाशे पुलैपुलप्रहरीले लखेट्दै भन्यो– ‘सवारी छ’तर, देश युगौंदेखि जहााको त्यहीा छ ।

– राजु स्याङ्तान

– राजु स्याङ्तान

वडा अध्यक्षको निर्दयी डोजरले
आँगनको चिउरी उखेलेपछि
गुहार माग्न सिंहदरबार खोज्दै हिँडेको
धनबहादुर चेपाङलाई
बबरमहलको खुला रोडमा
प्रहरीले धकेल्दै भन्यो–
‘सवारी छ’

=
६ वर्षीया छोरीको
बलात्कार र हत्यापछि
रक्ताम्य जामा र पुतली
सबुतका लागि झोलामा बोकेर
न्याय खोज्दै काठमाडौँ आइपुगेका
नेत्रबहादुर परियारलाई
कलंकीको आकाशे पुलैपुल
प्रहरीले लखेट्दै भन्यो–
‘सवारी छ’

=
पोहोर दाइजो नल्याएको निउमा
जिउँदै जलाएर मार्यो धनीरामकी बेटी
यसपालि विदेशबाट
बाकसमा आयो धनीरामकै बेटा
त्यही बाकस माथि टाउको ठोकेर
रोइरहेका धनीराम मुसहरलाई
विमानस्थलबाट लखेट्दै प्रहरीले भन्यो–
‘सवारी छ’


=
समुद्रपारीको अनाम सहरबाट
बुर्काभित्र गर्भ बोकेर
मानसिक सन्तुलन गुमाई
अरबी भाषा बोल्दै विमानस्थल ओर्लिएकी
मसिनीमाया लिम्बुको
चुल्ठोमा समाउँदै प्रहरीले भन्यो–
‘सवारी छ’

=
देशले ‘हाइब्रिड’ बीउ रोपेर गरिबी फलायो
गुन्जमान महर्जनले पसिना रोपेर धनियाँ फलायो
त्यही धनियाँ खर्पनभरी बोकेर
सहर झरिरहेका गुन्जमानलाई
बागमतीको किनारैकिनार लखेट्दै प्रहरीले भन्यो
‘सवारी छ’

=
तामाकोशीको तिरैतिर
जुटको बोरा फाटिन्जेल
ढाडको छाला खुईलिन्जेल
ढुंगाको भारी बोक्दाबोक्दै
क्षयरोगले निख्रिएको शरीर लिएर
एक झल्को श्रीपेच हेर्ने रहरले
नारायणहिटी पुगेका बिकमान थामीलाई
ठमेलतिर लखेट्दै प्रहरीले भन्यो
‘सवारी छ’

=
देशमा गणतन्त्र आयो भन्दै
पिपा बाजेले बनाएको दरबारमा
अब त बाजेको पनि नाम लेखियो ठानेर
टोटोलाको फूल निधारमा टाँसी
डाँडाको छ्योर्तेन तीन फन्को घुम्दै
खुसीले डम्फू बजाउँदै बजाउँदै
टुँडिखेल आइपुगेका सुर्जेमान तामाङलाई
घोक्रेठ्याक लगाउँदै प्रहरीले भन्यो
‘सवारी छ’

=
सहरमा रातदिन सवारी छ
सहरमा साँझबिहान सवारी छ
कहिले महामहिमको सवारी
कहिले सम्माननीयको सवारी
कहिले माननीयको सवारी
कहिले पुजनीयको सवारी
यताबाट उता सवारी
उताबाट यता सवारी

=
तर, देश
युगौंदेखि
जहाँको त्यहीँ छ

०००
– राजु स्याङ्तान

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार