काठमाडौं ।
स्वास्थ्य नै धन हो भन्ने उखान यत्तिकै चलेको होइन । मान्छे फुर्तिलो हुन उसको तन र मन दुवै स्वस्थ हुनुपर्छ । स्वस्थ मान्छेको व्यवहार र क्रियाकलाप सहज र सामान्य हुन्छन् । स्वस्थ मान्छेको निर्णय क्षमता पनि राम्रो हुन्छ ।
देश सञ्चालनको जिम्मेवारी बोकेका नेता शारीरिक र मानसिक दृष्टिले स्वस्थ हुनुपर्ने हो । उनीहरू बिरामी र अशक्त भइदिँदा जनताले माग गर्ने सक्रियतामा प्रतिकूल प्रभाव पर्छ । फलतः राजनीतिक परिदृश्य पनि चुस्त हुन सक्दैन । अधिकांश नेता विरामी भएकै कारण मुलुकले गति लिन सकेन भन्ने दावी गर्न नसकिए पनि कुनै न कुनै रुपले प्रभाव परेको चाहीँ हुन सक्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रायः दलका शीर्ष नेताको स्वास्थ्य स्थिति खराब छ । कसैलाई मुटुको समस्या छ त, कसैलाई रतन्धो ! मधुमेह र रक्तचापको समस्या नहुने नेता त छैनन् भन्दा पनि हुन्छ । देशको स्थितिजस्तै नेताको स्वस्थ पनि खराब–खराब छ । देशका ठूला भनिएका नेताः कसलाई के रोग छ त ?
– केपी शर्मा ओली, प्रधानमन्त्रीः
दुवै मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री केपी ओलीले मिर्गाैला प्रत्यारोपण गरेका छन् । स्यालुलाइटिस भनिने छालाको संक्रमण र पछिल्लो समय सेवन गरिरहेका विभिन्न औषधिका कारण सुगरको मात्रा बढिरहन्छ । ओलीको दश वर्षअघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
संक्रमणको जोखिम पनि बढी हुने भएकाले धेरै मानिससँग सम्पर्कमा नरहन उनलाई चिकित्सकले सुझाव दिएका छन् । स्वास्थ्य समस्याकै कारण खानामा मुख बार्ने गरेका ओली निर्मलीकरण गरेका भाँडामा मात्रै खाना खान्छन् ।
–झलनाथ खनाल, पूर्वप्रधानमन्त्रीः
झलनाथ खनाल राति आँखा देख्दैनन् । रतन्धोको समस्या भएका उनी अँध्यारो भएपछि सहयोगीबिना हिँडडुल पनि गर्न सक्दैनन् । विद्यार्थी राजनीति गर्दा नै खनाललाई टीबी भएको थियो । उपचारपछि टीबी त निको भयो तर त्यसको ‘साइडइफेक्ट’का रूपमा आँखा नदेख्ने रोगले गाँज्यो ।
खनाललाई मुटुको पनि समस्या छ । उच्च रक्तचापका कारण कहिलेकाहीँ मुटुमा समस्या देखिन थालेपछि उनी नियमित परीक्षण गराउँछन् । उनमा मिर्गौला र प्रोस्टेटको समस्या पनि छ ।
– पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीः
दाहाललाई उच्च रक्तचाप र मधुमेहको समस्या छ । चिकित्सककोे सल्लाहअनुसार उनी नियमित औषधि सेवन गरिरहेका छन् । हरेक दिन बिहान व्यायामलाई निरन्तरता दिने गरेका कारण रक्तचाप र सुगर प्रायः नियन्त्रणमै रहन्छ । दाहाल डा. दामोदार गजुरेलसित नियमित स्वास्थ जाँच गराउँछन् ।
–शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीः
पेट र उच्च रक्तचापको समस्याबाट शेरबहादुर देउवा लामो समयदेखि पीडित छन् । देउवा सिंगापुरमा पेटको नियमित परीक्षण गराउछन् । पेटमा समस्या देखिएपछि धुम्रपान छोडेका छन् । पछिल्लो समयमा खानपानमा विशेष ध्यान दिने गरेको निकटहरु बताउँछन् ।
– माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्रीः
नेपाललाई मुटु र फोक्सोसम्बन्धी समस्या छ । उच्च रक्तचाप पनि छ । नियमित योग र व्यायाम गर्छन । बेला–बेलामा निमोनिया र पिसाबको संक्रमणले पनि दुःख दिन्छ । रोगले च्याप्न थालेपछि खानपान र दैनिक व्यवहारमा निकै ध्यान पु¥याउँछन् ।
– डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री
डा. भट्टराईलाई लामो समयदेखि रक्तचापको समस्या छ । रक्तचाप नियन्त्रण गर्न भट्टराईले नियमित औषधि सेवन गर्दै आएका छन् । उनी खानपिनमा विशेष ध्यान दिन्छन् । चिल्लोरपिरो कम खान्छन् ।
– उपेन्द्र यादव अध्यक्ष उपप्रधानमन्त्री
उपेन्द्र यादव केही वर्षयता मधुमेहबाट पीडित छन् । उनी दैनिक मधुमेहको औषधि लिन्छन् । व्यायाम र आरामका लागि समय मिलाउन गाह्रो हुने भएकाले उनी खानपिनमा भने विशेष ध्यान दिन्छन् ।
– रामचन्द्र पौडेल बरिष्ठ नेता, नेपाली कांग्रेस
लामो समयदेखि सुगर, प्रोस्टेट, ढाड र युरिक एसिडको समस्या छ पौडेललाई । यूरिक एसिडका कारण कहिलेकाहीँ खुट्टाको पनि समस्या देखिन्छ । प्रेसर र प्रोस्टेटको नियमित औषधि सेवन गर्छन । केही समयअघि पौडेलले प्रोस्टेट र पायल्सको शल्यक्रिया गराएका थिए ।
मोहन वैद्य महासचिव नेकपा (क्रान्तिकारी माओवादी)
मोहन वैद्यलाई दम र रक्तचापको पुरानै समस्या छ । उनी दुवै रोगको नियमित औषधि सेवन गर्छन । खानपानमा पनि ख्याल गर्छन् ।
कृष्णप्रसाद सिटौला नेता, नेपाली कांग्रेस
मुटुको शल्यक्रिया गराएका सिटौलालाई उच्च रक्तचाप, सुगरका साथै खुट्टा झमझमाउने समस्या छ । खानपानमा विशेष ध्यान दिन्छन् ।
राजेन्द्र महतो नेता राजपा नेपाल
महतो नियमित रूपमा उच्च रक्तचाप र मधुमेहको औषधि खाइरहेका छन् । महतो मर्निङवाक र योग गर्छन् । खानपिनमा सावधानी अपनाइरहेका उनी महिनामा एकपटक स्वास्थ्य परीक्षण गराउँछन् ।
महन्थ ठाकुर नेता, राजपा नेपाल
महन्थ ठाकुरको केही वर्षअघि भारतको दिल्लीमा मुटुमा पेसमेकर राखिएको छ । लामो समयदेखि मुटु रोगबाट पीडित ठाकुर पेसमेकर राखेपछि पनि नियमित रूपमा औषधि खान्छन् । उच्च रक्तचाप र मधुमेहको औषधि पनि खान्छन् ।
महेन्द्र यादव अध्यक्ष, नेता राजपा नेपाल
एक दशकदेखि मधुमेहको नियमित औषधि खान्छन महेन्द्र यादव । बिहान योग र व्यायाम गर्ने यादव घरबाट निस्कनुअघि केही खाएरमात्र बाहिरिन्छन् ।
शरतसिंह भण्डारी नेता, राजपा नेपाल
भण्डारीलाई मधुमेहको समस्या छ । उच्च रक्तचापको औषधि पनि नियमित खाइरहेका छन् । हरेक दिन कम्तीमा एक घण्टा व्यायाम गर्ने भण्डारी सातामा दुई÷तीन दिन ‘मर्निङवाक’मा निस्कन्छन् ।
प्रतिक्रिया दिनुहोस्