काठमाडाैँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ ।
सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको भन्दै अध्यक्ष पुष्पकमल दाहालले अभिव्यक्ति दिएपछि नेकपामा तरंग आएको थियो । यो र एकताका बाँकी काम पूरा गर्ने विषयमा हिजो बैठक बोलाइएको थियो । गृहकार्य नपुगेको भन्दै बैठक आजका लागि सारिएको नेकपाले जनाएको छ ।
अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली भारत गएका बेला अध्यक्ष दाहालले प्रधानमन्त्री पद आलोपालो गर्ने सहमति भएको खुलासा गर्नुभएको थियो ।
त्यसयता दुई अध्यक्षबीच केही असमझदारी रहेको विश्लेषण भइरहेका छन् । ओलीले यसलाई पार्टी एकता खलबल्याउने प्रयास भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएको छ । यो विषयमा आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालबीच वार्ता भएको थियो ।
आइतबारको भेटवार्तामा दुवै अध्यक्षद्वयले एक अर्काका गुनासा सुनेका थिए । साे वार्तापछि दुवै अध्यक्षले आफू निकटका नेताहरुलाई ब्रिफिङ समेत गरेका छन् । प्रचण्डको अभिव्यक्तिपछि आफूलाई तनाव भएको आेलीले बताउनुभएकाे थियाे भने आफ्नाे कुरालाई लिएर मिडियाहरुले अावश्यक उचालेकाे भन्दै प्रचण्डले थामथुम पार्न खाेज्नुभयाे ।
तर प्रचण्डकाे चित्त दुखाइमा ओलीकाे व्यवहार रहेकाे छ । अझै पनि आेलीले जनयुद्ध शब्द नस्वीकारेकाेमा उनले आफूलाई चित्त दुखेको बताउनुभएकाे थियाे ।
दाहालसँग एक्लै वार्ता गरेका प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि एक्लै छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
एजेन्डा टुंगोमा पुग्न नसकेकै कारण नेताहरूको कार्यविभाजन र पोलिटब्युरो गठनबारे छलफल गर्ने भनिएको नेकपा सचिवालयको बैठक बस्न सकेको छैन ।