काठमाडौं ।
चौकी छाडेर प्रहरी भागेको सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी पठाइएको छ । काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो ।
आइतबार राति विप्लव समूहका कार्यकर्ताको आक्रमणको डरमा महाकुलुङमा प्रहरीहरु चौकी छाडेर भागेका थिए ।
नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार घटनापछि हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको थप मद्दत टोली सोलुखुम्बु पठाइएको हो । सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको हो ।
सैनिक स्रोतले भन्यो, ‘काठमाडौं र विराटनगरबाट नेपाल प्रहरी र सशस्त्रको विपदको टोली पठाइसकिएको छ ।’
यो पनि !
सोलुखुम्बुमा प्रहरी चौकी कब्जामा लिने विप्लवको प्रयास !
काठमाडौं ।
प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सोलुखुम्बुको विकट क्षेत्रमा गतिविधि बढाएको छ ।
जिल्लाको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको स्रोतले बतायो ।
तर, त्यसबारे अग्रिम सूचना पाएपछि प्रहरी टोली आइतबार दिउँसै अन्यत्र भागिसकेको स्रोतको दाबी छ । घटनाको एक उच्च सुरक्षा अधिकारीले पुष्टि गरेका छन् ।
उनले भने, ‘२०/२५ जनाको संख्यामा हतियारधारी गाउँ पसेको सूचना आएलगत्तै चौकी खाली गरेर प्रहरी अन्यत्रै सरेका थिए ।’
ती अधिकारीले त्यो अज्ञात समूह चौकीभित्र छिरे पनि कागजपत्र वा अन्य केही सामान तोडफोड भएको नदेखिएको बताए ।
उनका अनुसार थप अनुसन्धानका लागि काठमाडौंबाट समेत सुरक्षाकर्मीको टोली पठाइएको छ ।
गस्ती बढेको छः गाउँपालिका अध्यक्ष
महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले पछिल्लो समय गाउँपालिकाको केही वडामा विप्लव समूहको गतिविधि बढेको पुष्टि गरे ।
उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘खोला पारिपट्टि रहेको वडा नं. ५ को नुर्कुममा विप्लव कार्यकर्ताको आउजाउ भइरहेको सूचना थियो । प्रहरीले गस्ती पनि बढाएको थियो ।’
गएराति भएको घटनाबारे भने अहिलेसम्म यर्थाथ विवरण आइनसकेको उनले बताए । यद्यपि, उनले गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गस्ती बढाएको भने स्वीकारे ।