-मनोजकुमार शाह,
रौतहट। रौतहटको फतुहा बिजयपुर वाड नं. ११ भैसहीका सुकुम्बासीले कुनै पनि हातलमा आफु बसेको जमिन नछाडने अडान लिएका छन् । बुधबार स्थानीय सुकुम्बासीले भैसहीमा पत्रकार सम्मलेन गरी आफ्ना अडान दोहोर्याएका हुन् । सागरनाथ वन विकास परियोजना भक्तीपुर सर्लाहीले आफनो क्षेत्रको अतिक्रमित जमिन खाली गर्न माइकिङ गरेपछि स्थानीयले पत्रकारलाइ बोलाए आफ्नो अडान राखेका हुन् ।
बिगत ४० बर्षदेखि बस्दै आएको सो क्षेत्रमा सागरनाथ वन परियोजनाले गत जेठ ८ गते माइकिङ गदै घरटहरा तथा अन्न बाली हटाउन आग्रह गरेको थियो । करिब ५ सय बिगाह क्षेत्रफल रहेको सो जमिनमा ४ सय भन्दा बढी घरधुरी बस्दै आएका छन । अब यो जमिनलाइ सुकुम्बासीको नाममा गर्नुको कुनै बिकल्प नभएको स्थानिय शिबनाथ कुशवाहले बताए ।
सुकुम्बासी समस्या समाधान आयोग २०५१ मा सो जमिनको नापी भएता पनि तत्कालीन सरकार ढलेपछि छाडिएको र अहिले सम्म नापी नहुँदा सुकुम्बासीले त्रास खेपिरहनु परेको अर्का स्थानीय युबराज शिवाकोटीले बताए । परियोजनाले सुकुम्बासीलाई दमन गरेर हटाउन खोजेको शिवाकोटीको आरोप छ ।
अहिले भैसही गाउमा २ हजार ५ सय भन्दा बढी मतदाता रहेका छन् । ४ पुस्तादेखि बस्दै आएको जमिनबाट आयोजनाले हटाउन खोजे आफुहरु कुनै पनि त्याग गर्न तत्पर रहेको अर्का स्थनीय राजदेब सिंह पटेलले बताए । जब सम्म यहाँका सुकुम्बासीको बासको ग्यारेन्टी हुदैन तब सम्म कुनै पनि हालतमा सुकुम्बासी नहटने उनले बताए ।
यो सुकुम्बासीको समस्यालाई संघीय सरकार तथा प्रदेश सरकारले चाँडै नै टुंगो लगाउनु पर्ने फतुहा बिजयपुर नगरपालिका वाड नं. ११ का वडाध्यक्ष ज्ञानेन्द्र चौधरीले बताए । बस्ती हटाउने नभइ यही बस्तीलाइ अब राज्यले ब्यबस्थापन गर्नु पर्ने वडाध्यक्ष चौधरीको भनाइ छ ।
यता सागरनाथ वन बिकाश परियोजनाका प्रमुख दिनेशमणि त्रिपाठीले सो क्षेत्रमा असार भित्र बृक्षरोपण गरेर छाडने प्रतिबद्धता जनाएका छन् । भुमाफियाद्धारा अतिक्रमति भैसहीको २ सय हेक्टर जमिनमा असार भित्र बृक्षरोपण गर्ने लक्ष्यका साथ कार्य अगाडि बढाइएको परियोजना प्रमुख त्रिपाठीले जानकारी दिए । त्यहाँ कुनै पनि सुकुम्बासी नभएको र ८÷१० जना भुमाफियाहरुले सो क्षेत्रलाइ अतिक्रमित गरेर आफनो नाममा गराउन चलखेल गरेको समेत उनले बताए ।
१५÷१६ बर्ष अगाडि पनि सो क्षेत्रमा परियोजनाले बृक्षरोपण गरेको सो क्षेत्रमा केही भुमाफियाहरुले परियोजनाको कार्यालय र इलाका वनको कार्यालय जलाएर अतिक्रमण गरेको उनको जिकिर छ । द्धन्द्धको मौका छोपेर अतिक्रमण गरेको सो क्षेत्रमा पुनः बृक्षरोपण गरिने उनको भनाइ छ । अतिक्रमित क्षेत्र हटाउन परियोजनाले पटक पटक पत्राचार तथा प्रचार गरिसकेको र केही दिन मै बस्ती हटाउन शुरु गर्ने त्रिपाठीको भनाइ छ । स्थानीयलाई स्वत स्फुर्तरुपमा घर तथा अन्नबाली हटाउन पनि उनको आग्रह छ ।