निर्मला हत्या प्रकरणा स्वतन्त्र रूपले कहाँ छानबिन गर्न दिइयो र ? : प्रधानमन्त्री ओली

काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा स्वतन्त्रतापूर्वक छानबिन गर्न नपाइएको गुनासो गरेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगको स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ‌ओलीले उक्त घटनामा प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिइएको बताए।

‘निर्मला पन्तको हत्याबारे आयोगले प्रधानमन्त्री कार्यालयमा विभिन्न निर्देशनात्मक पत्र पठाएको छ। हो, त्यो घटनामा प्रहरीबाट गल्ती भयो तर प्रहरीलाई पनि प्रभावमा पारियो। स्वतन्त्र रूपले कहाँ छानबिन गर्न दिइयो र!,’ प्रधानमन्त्रीले भने,‘कहिले यता हुन्न भन्या छ, कहिले उसलाई छानबिन गर्न हुन्न भन्या छ। त्यस्तो अपराध गर्ने के सरकारको नियत हुन सक्छ?’

https://www.facebook.com/onlinekhabarnews/videos/2588692474698505/

उनले समाजमा त्यस्ता घटना होऊन् र नेपाल कलंकित अवस्था रहोस् भन्ने सरकारको इच्छा हुन नसक्ने बताए।

‘त्यस्ता अपराधीलाई जसरी पनि खोजेर कारबाही गरिन्छ तर सहज ढंगले कारबाही गर्ने वातावरण नरहनु दु:खद कुरा हो,’ प्रधानमन्त्रीले भने,‘त्यसमाथि टेकेर राजनीति गर्न खोज्नु र घटनाको संवेदनशीलतालाई उछालेर ‍अरूतिर मोड्न खोज्नु विल्कुलै उचित होइन। यसले निष्पक्ष छानबिन हुन व्यवधान हुन्छ।’

यस्ता घटनामा निष्पक्ष छानबिन गर्न नसक्ने गरी परिस्थिति सिर्जना गरे सरकारलाई गाह्रो पर्ने उनले बताए।

उनले प्रहरी अनुसन्धानमा त्रुटी गर्नेलाई कारबाही गरिएको बताए। प्रधानमन्त्री ओलीले निर्मला बलात्कार-हत्या घटनामा मानव अधिकार आयोगले दिएका सुझावहरूलाई सरकारले लागू गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मलाको गत वर्ष साउनमा बलात्कारपछि हत्या भएको थियो। घटनाको १० महिना बितिसक्दा पनि दोषी पत्ता लागेका छैनन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार