-राजु पौडेल
झापा, १४ जेठ । पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थ बोकेर ट्याङ्कर नेपाल भित्र्न थालेपछि पूर्वमा पेट्रोलियम पदार्थको सहज हुने भएको छ ।
अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ सुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव हुँदै गएको थियो । मंगलबार मात्रै पेट्रोलियम पदार्थ बोकेका ७२ वटा ट्याङ्कर भन्सार भएर नेपाल प्रवेश गरेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिनुभयो ।
चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको अभाव देखिएको थियो । मंगलबार दिउँसोदेखि पेट्रोल पम्पबाट तेल वितरण हुन थालेपछि पम्पहरुमा सवारीको लाइन देखिएको छ । पूर्वका चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको नेपाल आयल निगम चारआलीले जनाएको छ ।
भारतले शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न सुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्याङ्करलाई रोकेको थियो ।