-एजेन्सी
एजेन्सी । भारतमा सम्पन्न लोकसभा निर्वाचन सँगसँगै केही प्रदेशमा विधानसभा निर्वाचन पनि भएको थियो ।
तीमध्ये नेपालसँग सिमाना जोडिएको र बहुसङ्ख्यक नागरिक नेपाली भाषी रहेको सिक्किममा पनि विधानसभा चुनाव भएको थियो ।
सिक्किम विधानसभा चुनावको मतपरिणाम बिहीबार सार्वजनिक भएको छ । उक्त परिणामले २५ वर्षदेखि सिक्किममा शासन गरिरहेका पवनकुमार चाम्लिङको पार्टीलाई सत्ताच्युत गरेको छ ।
बिहीबार राति सार्वजनिक भएको मतपरिणाम अनुसार सिक्किमको विधानसभाको कुल ३२ सिटमा चाम्लिङको सिक्किम डेमोक्रेटिक फ्रन्टले १५ सिट जितेको छ भने सिक्किम क्रान्तिकारी मोर्चले १७ सिट जित्यो ।
सिक्किममा सरकार गठन गर्नका लागि १६ सिट पर्याप्त हुन्छ । योसँगै सिक्किम डेमोक्रेटिक फ्रन्टको शासनको अन्त्य भएर नयाँ पार्टीको सरकार बनाउने अवस्थामा आइपुगेको छ ।
विधानसभामा मात्र होइन केन्द्रीय संसदका लागि उम्मेदवार छान्ने लोकसभा चुनावमा पनि सिक्किम क्रान्तिकारी मोर्चाले नै जित हासिल गरेको छ ।
सिक्किमबाट भारतीय लोकसभा निर्वाचनमा एक उम्मेदवार छानिन्छन् । त्यसमा सिक्किम क्रान्तिकारी मोर्चाका इन्द्रहाङ सुब्बा विजयी भएका छन् । सन् १९९६ पछिका हरेक लोक सभा निर्वाचन सिक्किम डेमोक्रेटिक फ्रन्टका उम्मेदवारले जित्दै आएको थियो ।
को हुन् पवनकुमार चाम्लिङ ?
चाम्लिङ नेतासँगै साहित्यकार पनि हुन् । नेपाली भाषामा लेख्ने चाम्लिङका विभिन्न कृति प्रकाशित छन् । यस कारणले पनि पवन नेपालमा परिचित नाम हुन् ।
चाम्लिङ सिक्किम डेमोक्रेटिक फ्रन्टका संस्थापक नेता हुन् । उनले सो पार्टी सन् १९९३ मार्चमा स्थापना गरेका थिए ।
सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीसँग मनमुटाव भएपछि चाम्लिङले अलग पार्टी स्थापना गरेका थिए । त्यसअघि चाम्लिङ भण्डारीको मन्त्रीमण्डलमा मन्त्री थिए ।
नयाँ पार्टी स्थापना गरेकोे एक वर्षमै उनको पार्टीले सिक्किममा बहुमत हासिल गरेको थियो ।
त्यसपछि हरेक विधान सभा निर्वाचनमा चाम्लिङको पार्टीले दुई तिहाइभन्दा बढी मत पायो । ती जितको बलमा पवन चाम्लिङ लगातार पाँच पटक मुख्यमन्त्री बन्न सफल भए । पवन चाम्लिङ स्वतन्त्र भारतमा सबैभन्दा लामो समय मुख्यमन्त्री बन्ने नेता हुन् ।
पवन चाम्लिङले सिक्किममा कैयौँ लोकप्रिय काम गरेकाले उनको छवी बलियो हुँदाहुँदै पनि पवन २५ वर्षे लामो शासनले सिर्जना गरेको ‘एन्टी–इन्कुबेन्सी’ सेन्टिमेन्टको शिकार भए ।
सिक्किमका नयाँ नेता प्रेमसिंह तामाङ
सिक्किममा शक्तिशाली प्रभाव भएको पवन चाम्लिङको राजनीतिक अवरोहको आर्किटे बने प्रेम सिंह तामाङ (पीएस गोले) ।
चाम्लिङ र गोले एक समय राजनीतिक सहयात्री थिए तर गोलेमाथि चाम्लिङले भ्रष्टाचारको आरोपमा कारबाही गरेपछि तामाङले सन् २०१३ मा अलग ‘सिक्किम क्रान्तिकारी मोर्चा’ पार्टी निर्माण गरेका थिए ।
त्यसपछि सन् २०१४ मा भएको विधानसभा निर्वाचनमा सिक्किम क्रान्तिकारी मोर्चाले १० सिट जितेर दोस्रो शक्ति बनेको थियो ।
भ्रष्टाचारको मुद्दामा केही महिना जेल सजायसमेत भोगेका गोले आफूले चुनावमा प्रतिस्पर्धा नगरे पनि उनको पार्टीले विधानसभाका ३२ वटै सिटमा उम्मेदवार खडा गरेको थियो ।
शिक्षण पेसाबाट राजनीतिमा आएका गोलेले राजनीति पवन चाम्लिङको पार्टीबाट सुरु गरेका थिए । उनले पहिलो चुनावी प्रतिस्पर्धा सन् १९९४ मा पश्चिमी सिक्किमको चुखुङ निर्वाचन क्षेत्रबाट निर्वाचन लडेका थिए ।