– ईश्वर तामाङ
उदयपुर ।
उदयपुरबाट बैदेशिक रोजगारीमा मलेसिया पुगेका एक युवा दुई वर्षदेखि घर परिवारसँग सम्र्पक बिहिन हुन पुगेको छ ।
बैदेशिक रोजगारको सिलसिलामा मेलिया गएका उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका – ५ सुन्दरपुरका प्रदीपकुमार चौधरी दुई बर्षदेखि घर परिवारसँग सम्पर्क बिहिन भएका छन् । मलेशिया गएको केही समयसम्म नियमित फोन सम्पर्कमा रहेका उनी २०७४ साल मंसिर ४ गतेदेखि घर परिवारसँग सम्पर्क बिहिन हुन पुगेको परिवारले जनाएको छ ।
काठमाडौँको बसुन्धरास्थित पिजन ओभरसिज प्रा.लि.बाट मलेसिया गएका चौधरी मलेशियाको डब्ल्यू. सी. टी. कन्स्ट्रक्सन एसडीएन विएचडी कम्पनीमा कार्यरत थिए । सो कम्पनीमा उनी आफ्नो तीन बर्षे कार्यकाल पूरा गरेर पुनः सोही कम्पनीमा काम गर्न मेलेसिया गएका हुन् ।
पछिल्लो पटक गएको केही समयसम्म सम्पर्क मै रहेका उनी एक्कासी सम्पर्क बिहिन भएको बुवा सिताराम चौधरीले जानकारी दिए । घरमा सम्पर्क गर्न छाडेपछि उनको खोजी कार्य सुरू गरिएको भएतापनि अहिलेसम्म उनी नभेटिएको बुबा सितारामले जानकारी दिए । चौधरीका बुवा सितारामले बैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा समेत खोज तलासका लागि निवेदन दिएको बताए ।
बोर्डले पहल गर्दा मलेशियाका जेल र सेल्टरमा प्रदीपकुमार चौधरी नामको कुनै पनि व्यक्ति नरहेको जानकारी दिएको बुबा सितारामले बताए । त्यसैगरी मलेशियामै काम गर्ने उदयपुरका एक जना शुभ चिन्तकको सहयोगमा कार्यरत कम्पनीमा बुझ्न पठाउँदा उनी त्यहाँ नरहेको कम्पनीको सुरक्षा गार्डले जानकारी दिएको बताए । प्रदीप ८-१० महिनादेखि नै कम्पनी छाडेर अन्यत्र गएको कम्पनीका गार्डलाई उद्धत गर्दै बुबा सितारामले जानकारी थिए ।
मलेसिया पुगेको केही समयसम्म आफूसँग फोन सम्पर्क मै रहेको उनकी श्रीमती कुन्तीदेवी चौधरीले जानकारी दिइन् । घर परिवारसँग सम्पर्क नै बिच्छेद हुनुपर्ने कुनै कारण नभएको पनि उनले बताइन् । ‘घर परिवार र कसैसँग झगडा र नराम्रो पनि भएको थिएन । उनले भनिन, ‘परिवार, आफन्त, शुभचिन्तक र साथीभाई सबैसँग एक्कासी सम्पर्क विच्छेद भएपछि हामी सबै चिन्तित भएका छौं । फेसबुक म्यासेन्जर र मलेशियामा रहेको नेपालीहरुसँग नियमित सम्र्पक गरिराखेका छौं ।’ उसले चलाउने नम्बरमा, इमो भाइवरमा नियमित सम्पर्क भइ रहेकोमा सोही मितिदेखि मोवाइल, फेसबुक सबै निष्क्रिय भएको पनि उनले जानकारी दिइन् ।
‘न लाश भेटिन्छ न सास, कहाँ हरायो त मेरो छोरा ?’ प्रदीपकी आमा सन्ध्यादेबी चौधरीले रूदै भनिन्, ‘नेपाल सरकारका साथै सहयोगीहरूलाई खोज्न आवश्यक सहयोगका लागि अपिल गर्दछु । उनको खोजी कार्यमा आवश्यक सहयोग गरिदिनुहुन नेपाल सरकारका साथै सञ्चारकर्मी, मानव अधिकारकर्मीहरुसँग पनि परिवारले अपिल गरेको छ । ३२ बर्षीय प्रदीपकुमार चौधरीका १३ बर्षका एक छोरी र ८ बर्षको एक छोरा रहेका छन् । परिवारमा कमाएर ख्वाउने छोरा बेपत्ता भएपछि परिवारमा समस्या आएको उनका बुवा सिताराम चौधरीले बताए ।