अमेरिकी राजदूत ¥याण्डी बेरी चर्चामा छन् यतिबेला । र, चर्चाको कारण हो– उनले सोमबारदेखि सुरु गर्ने भनिएको ‘राजदूतसँग गफगाफ’ श्रृंखला । आफ्नो दूतावासको सामाजिक सञ्जालमा जोडिएका ४० लाख ‘फलोअर’सँग प्रत्यक्ष भेटघाट असम्भव भएकाले उनीहरूका जिज्ञासा र सरोकार सम्बोधन गर्न ‘गफगाफ’मा आउन लागेको उनको भिडियो सन्देशले कुटनीतिक क्षेत्रमा तरंग ल्याएको छ ।
विशेषतः सामाजिक सञ्जालमा त्यसको आलोचना र स्वागतको क्रम जारी रहँदा कुटनीतिक मर्यादाको दृष्टिकोणले राजदूत बेरीको निर्णय सही हो, या गलत भन्ने स्वभाविक प्रश्न उठेको छ । ‘गफगाफ’का विषय वा क्षेत्र स्पष्ट नपारिएकाले प्रश्नोत्तरका क्रममा धर्म, आन्तरिक मामिला, तेस्रो देशसँगको सम्बन्धसहित गैर–कूटनीतिक विषय पनि उठ्न सक्ने भन्दै कतिपय कुटनीतिक जानकारले राजदूतको ‘रहर’ले गलत नजिर र अप्ठ्यारो परिस्थिति सिर्जना गर्न सक्ने औंल्याएका छन् । सुरुमा राजदूत बेरीको घोषणा र सामाजिक सञ्जालका केही प्रतिनिधिमूलक टिप्पणी पस्तुत गरिएको छ ।
कुनै पनि कुटनीतिक प्रतिनिधिलाई सञ्चारको अधिकार छ । बन्द कोठामा व्यक्तिगत धारणा पनि राख्न सक्छन्, राखिरहेकै छन् । तर, ‘लहड’का भरमा, सम्बन्धित देशको सरकारलाई उद्देश्य र विषयबस्तुबारे जानकारी नगराई त्यस देशका नागरिकलाई ‘गफ’ दिने सुविधा तिनलाई छैन भन्छन्– परराष्ट्र मामिलाका जानकार ।
कुटनीतिज्ञको व्यक्तिगत जीवन समेत ‘सीमावद्ध’ हुन्छ । तर, तिनैले जनस्तरमा सार्वजनिक बहस चलाउने ‘रहर’ वा ‘लहड’ गर्नु अन्तर्राष्ट्रिय अभ्यास र प्रचलन प्रतिकुल मात्र होइन सम्बन्धित देशको कानून र परिस्थिति बर्खिलाप हुने बताउँछ राजनीतिक नेतृत्व पनि ।
राजदूत बेरीको नेपाली नागरिकसँग ‘गफगाफ’ गर्ने निर्णय कुटनीतिक मर्यादा प्रतिकूल रहेको ठहर छ राजनीतिक नेतृत्वको पनि । र, जानकार पनि त्यस्तै बताउँछन् । तर, नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता एन्डी डे अरमेन्टले सञ्चार माध्यमसँग ‘पब्लिक डिप्लोमेसी भनेकै जनतासँग संवाद गर्नु हो, राजदूतले आफूलाई लागेको जवाफ दिनुहुने छ । सूचना दिनुहुने छ । कूटनीति भनेको यही हो’ भनेकी छन् ।
यो भनाइअनुसार दूताबासले सुझबुझपूर्ण रुपमै ‘गफगाफ’ श्रृंखला चलाउने निर्णय गरेको तर त्यसको प्रभावबारे पनि उसले ख्याल गर्नुपर्ने नेपाली मित्रहरुको भनाइ छ ।
अमेरिकी राजदूत ¥याण्डी बेरीले सोमबारदेखि सुरु गर्ने भनिएको ‘राजदूतसँग गफगाफ’ श्रृंखलाले तरंग ल्याएको छ । राजदूत बेरीलाई जस्तै भोलि भारतीय राजदूत मञ्जिवसिंह पूरी, चिनियाँ राजदूत होउ यान्छी वा नेपालमा दूताबास रहेका सबै देशका राजदूतलाई नेपाली नागरिकसँग सामाजिक सञ्जालमार्फत ‘गफगाफ’ गर्ने रहर वा लहड जाग्यो भने के होला ? प्रश्न स्वभाविक छ ।
राजदूत बेरीको गफगाफ श्रृंखलाबारे परराष्ट्र मन्त्रालय जानकार छ÷छैन भन्नेबारे बुझ्न हामी परराष्ट्र मन्त्रालय पुगेका थियौं । तर, जानकारी दिनुपर्ने जिम्मेवारी लिएका प्रवक्ता भरतराज पौडेल औपचारिक रुपमा कुरा गर्न तयार भएनन् । जिम्मेवारी प्रवक्ताको छ । तर, तिनै प्रवक्ता बोल्नै चाहादैनन् ।
‘आदेश छैन’ भनेर पन्छिन्छन् मात्रै । प्रवक्तालाई पनि बोल्ने आदेश दिनुपर्ने कस्तो अभ्यास गरिरहेको छ परराष्ट्र मन्त्रालय ?