आज पनि कालिला खान राति दुई बजे उठिन् । भान्सा कोठामा गइन् । राति नै कुखुराको मासु, दाल-भात, सागसब्जी, करेलाको अचार पाक्यो ।
काठमाडौं मस्त निदाइरहेकै बेला सामखुशीको एउटा फ्ल्याटमा रहेको खानको परिवारले राति नै खाना खान शुरु गर्यो । खानको परिवारले अघिल्ला दिनहरुमा जस्तै सबैभन्दा पहिले खजुर र पानी, अनि खाना खायो ।
रातको तीन बजेपछि उनी भाडा माझ्न थाल्छिन्, घरधन्दामा व्यस्त हुन्छिन् । खानलाई लाग्छ- हरेक मानिसले आफ्नो काम आफंै गर्नुपर्छ, जसरी हामी बिहानै उठेर मर्निङवाक गर्छौं, व्यायाम गर्छौं, त्यसैगरी घरको काम पनि एक प्रकारको व्यायामजस्तै हो ।
खान परिवारले तीनबजे नै यसकारण खाना खाइसक्यो कि उज्यालो भएपछि उनीहरुले पानी पनि पिउन पाउँदैनन् । त्यसपछि त नमाज पढ्नुपर्छ । किनकि यतिबेला मुस्लिम समुदायको रमजान चलिरहेको छ ।
घरधन्दा सकेर कालिला नमाज पढ्न थाल्छिन् । अहिले उनको परिवार रोजा (ब्रत) मा छ । रोजाको समयमा थुक पनि निल्नुहुँदैन भन्छ धर्मले ।
घरको काम सकेपछि उनी संसद बैठकमा जानका लागि तयार हुन्छिन् । ११ बजे संसद सुरु हुन्छ ।
संसद भवन छिर्नुअघि कालिला खान संसद भवनको छेउ झरिन् । यतिबेला बिहानको १० बजेको छ ।
कालिला प्रतिनिधिसभाकी सांसद हुन् भन्ने चिनारी सारीमाथि कोटमा अडिएको लोगोले दिन्छ । र, मुस्लिम समुदायकी हुन् भन्ने परिचय टाउकोमा बाँधेको कालो हिजाबले ।
र, यो कालिलाको त्यही हिजाबभित्रको कथा हो ।
कालिलाले मक्का-मदिनामा हज (तीर्थ) गरेर फर्केपछि टाउकोमा हिजाब टुटाउँदिनिन् । हिजाबले मुस्लिम धर्मको पहिचान त दिन्छ नै, कालिलाले यसलाई सुरक्षा कवचका रुपमा पनि लिन्छिन् । मुस्लिम समुदायको कार्यक्रममा पुग्दा भने बुर्का पहिरिन्छिन् ।
कालिलाले कुराको मेसो निकालिन्, ‘मैले जति दुःख त कसैले पाएको छैन ।’ तुरुन्तै जीवनको अर्को पाटो उप्काइन्, ‘संसद भएपछि मुस्लिम समुदायले दिनुभएको सम्मानले औधी खुशी लाग्छ ।’
सिक्काका दुईवटै पाटाको अनुभव गर्नका लागि सिक्का पल्टाउन सक्नुपर्छ । हो, कालिला त्यो सिक्का पल्टाउन सफल भइन् । तर, जीवनको सिक्काको पाटो पल्टाउनका लागि पैसाको सिक्काजस्तो सजिलो कहाँ छ र ?
कालिला मधेसी मूलकी मुस्लिम होइनन् । उनी स्याङ्जाकी परिन् । मधेस र पहाड दुबैठाउँका मुस्लिम समुदायबाट अहिले जम्मा ९ जनाले प्रतिनिधिसभाको ढोका उघारेका छन् ।
कालिलाको जन्म पनि संघर्षबाटै भएको हो । अझ भनौँ क्रान्तिबाट । किनकी कालिलाकी आमा नीलकुमारी हिन्दु थिइन् – नीलकुमारी शाही ।
नीलकुमारी अमिन बकससँग प्रेममा परिन् । पहिलो कुरा त ०२० सालतिर विवाहअघिको प्रेमलाई समाजले अनैतिक ठान्थ्यो । अझ नीलकुमारी त मुस्लिम युवकको प्रेममा थिइन् । तर, प्रेमले मनबाहेक जात, धर्म केही हेर्दैन । अमिन र नीलकुमारीको मन जोडिएको थियो । उनीहरुले भागेर समाजको बन्धन तोडे ।
तर, भागेर कहाँ जानु ? यही त हो समाज । परिवारले थाहा पायो । समाजले थाहा पायो । नीलकुमारी र हिजाबको बन्धन टुटाउन अनेक प्रयास गर्यो समाज । नीलकुमारीको माइतबाटै प्रहरीमा मुद्दा हालियो । कालिला सम्झन्छिन्, ‘आमाले भन्नुभएको, म पेटमा हुँदा आमा एक महिना जेल बस्नुभएको रे ।’
तर, त्यो जोडिएको मनलाई जेलले पनि छुटाउन सकेन । आखिर हिन्दु र मुसलमानको प्रेमबाट कालिला जन्मिइन् ।
कालिला जन्मिँदा उनका दर्शक गाईबस्तु, बाख्रा थिए । मुसलमान छोरीलाई घरको संघारभित्र बर्जित थियो । त्यतिबेला नीलकुमारी श्रीमानको घरमा थिइनन् ।
चौथो दिन नीलकुमारीका दाइ सुड्केश समाउँदै पल्टनबाट छुट्टीमा आउँदै थिए । नीलकुमारीलाई आफ्नो दाइको ठूलो डर थियो । परिस्थिति नै त्यस्तै थियो, गल्तीविनै डराउनुपर्ने ।
भनिन्छ नि ! चिन्ताले चितामा पुर्याउँछ । त्यो चौथो दिन साँझ परेपछि सुत्केरी अवस्थाकी नीलकुमारी गोठबाट बाटो लागिन् । र भीरबाट हामफाल्न लागिन् । किनकि आफ्नै दाइले छोरी र आफ्नो हत्या गरेको हेर्न चाहन्नथिन् उनी ।
तर, उनले छोरी बोकेर हामफाल्नै लाग्दा चलचित्रमा जसरी टुप्लुप्क उनका दाइ देखा परे । नीलकुमारी खंग्रङ्गै परिन् । मर्न हिँडेको मान्छेसँग पनि डर भन्ने कुरा जिवितै हुँदो रहेछ । दाइकै डरले हामफाल्न उठेका नीलकुमारीका खुट्टामा ब्रेक लागे ।
दाइले भने, ‘बहिनी तिमीले यस्तो नगर । भाञ्जीलाई म पाल्छु ।’
नीलकुमारीका आँखाका अन्तरकुन्तरबाट पानी जम्मा भए र बूँद बनेर भूँईमा झरे । ए, यो आँशुको रङ कस्तो हुन्छ हँ ?
कालिलाका बाबाको आर्थिक अवस्था त्यति बलियो थिएन । उनले दिनभर घडी, रेडियो बनाउँथे र त्यही कमाइले जिविका चलाउँथे । नीलकुमारीले आफ्नी छोरीलाई दुःखमा अभ्यस्त बनाउन चाहन्नथिन् । त्यसैले तीन वर्षीया छोरीलाई माइतै छोडेर घर बस्न थालिन्, नीलकुमारी । त्यतिबेलासम्म नीलकुमारी शाही नीलकुमारी मिया भैसकेकी थिइन् ।
नीलकुमारीको माइती र घर नजिकै थियो । डाँडामा भएको नीलकुमारीको घरबाट चिच्याउँदा माइतमा भएकी कालिलाले ठ्याक्कै सुन्थिन् । नीलकुमारी कालिलाई दूध चुसाउन, स्नेह बाँड्न बेलाबेला माइत आइपुग्थिन् र घर फर्किन्थिन् ।
यता कालिलालाई खानको समस्या भएन । हेरचाहका लागि हजुरआमा थिइन् । तर, उनले कहिल्यै दैलोभित्र छिरेर खाना खाइनन् । कालिला आफ्नो वाल्यकाल सम्झिन्छिन्- ‘मैले खाने भाँडा छुट्टै हुन्थ्यो । खाइसकेपछि पखालेको भाँडालाई घाममा सुकाइन्थ्यो । म खान बसेको ठाउँ माटोले लिपिन्थ्यो । सुकेको भाडामा सुनपानी छर्किएपछि मात्रै घरभित्र छिराइन्थ्यो ।’
अझ साँझ परेपछि त कालोनीलो हुन थाल्थिन् कालिला । सबै भित्र हुन्थे, उनीमात्रै बाहिर । कालिलाको ओच्छ्यान पनि बाहिरै ।
कुरा गर्दै जाँदा कालिलाको मुहारमा भय पोतिन्छ, ‘मलाई औधी डर लाग्थ्यो । झ्यालसँगै हजुरआमाको ओच्छ्यान थियो । म झ्यालबाट टाउको छिराएर सुत्थेँ । छिमेकी सबै सुतेपछि हजुरआले मलाई ढोका छेउमा ओच्छ्यान सारेर सुताउनुहुन्थ्यो ।’
कालिलाको यो भोगाइले स्थापित मान्यता भत्काएर धार्मिक असहिष्णु देशको परिचय दिन्छ । चार जात छत्तीस वर्णको फूलबारी पनि त कहाँ हो र यो देश !
नौ वर्षको उमेरसम्म कालिलाको दैनिकी यसरी नै बित्यो ।
उनी ९ वर्षकी भएपछि हजुरआमा रहिनन् । मामा भारततिर लागे । त्यसपछि कालिला मावलीघर छाडेर आमाको घर गइन् ।
आमाको घरमा पनि बाँच्न त्यति सहज थिएन । केही समय उनको स्कुल रोकियो । मुस्लिम भाषाको कक्षा शुरु भयो ।
यति भन्दैगर्दा कालिलाको अनुहारको रङ बदलियो, ‘आमाले भन्नुभएको, त्योबेला ६ महिनासम्म न मैले नेपाली बोलेँ, न मुस्लिम ।’
कालिलापछि नीलकुमारीले सन्तान जन्माइनन् । या जन्माउन सकिनन्, त्यो उनैलाई थाहा होला । तर, कालिलाले थाहा पाएको कुरा के हो भने एउटी छोरीको बिहे गर्न उनलाई हतारो थियो । किनकि नाति नातिनी खेलाउन व्यग्र थिइन् उनी । आफ्नो बंशले हाँगा हालोस् भन्ने चाहन्थिन् नीलकुमारी ।
नीलकुमारीको नजरमा परेका थिए घडी रेडियो बनाउने १७ वर्षीय मुस्लिम युवा हविव खान । नीलकुमारीलाई उनी बडो इमान्दार र कर्तव्यनिष्ठ लाग्थ्यो । हठी थिईन् नीलकुमारी । त्यसैले आफ्नी छोरीको हात थमाउन उनी हविवको घरमै पुगिन् ।
ठकुर्नीकी छोरी हविवलाई दिएकोमा ठूलै हल्ला फैलियो गाउँमा ।
त्यतिबेला कालिलाको उमेर कलिलै थियो । अर्थात, जम्मा १३ वर्ष मात्र । जतिबेला कालिलाले विहेबारे यत्ति बुझेकी थिइन्, ‘पहिला बुढाको घर जाने, अनि फेरि अर्को दिन र्फकने ।’
बिहेपछि पनि पढ्न पाइन्छ भनेका थिए कालिलालाई ।
बिहेको अर्को दिन उनी घरबाटै लगेको स्कुलको ड्रेस पहिरिएर निस्किइन् । बाहिर निस्किएपछि ससुराले भने, ‘बुहारी भएर के लुगा लगाएको यस्तो ? खोलिहाल ।’
नीलकुमारीले उनलाई सम्झाइन्, ‘अब त्यहीँ बस्नुपर्छ, बेलाबेला म आइराख्छु ।’
८ कक्षाकी विद्यार्थी कालिला त्यसपछि स्कुलको विद्यार्थी रहिनन् ।
अनि फेरि शुरु भयो कालिलाको जीवनको सिक्काको अर्को पाटो ।
कालिला १४ वर्षकी थिइन् । उनलाई असाध्यै पेट दुख्यो । आफ्ना १८ वर्षीय श्रीमानलाई भनिन्, ‘साह्रै पेट दुख्यो, के गर्ने ?’ श्रीमानले उपाय देखाए, ‘एकपटक चर्पी जाउ न ।’ त्यसपछि उनी खोलामा पुगिन् ।
शरीरबाट रगत बग्न थाल्यो । पेटभन्दा तल खप्न नसक्ने गरी दुख्यो । आफ्नो गोप्य अंगबाट केही डल्लाजस्तो निस्कियो । कालिलाले निस्किएको त्यो डल्लालाई हातले भित्रै घचेटिन् । उनलाई थाहा थिएन कि त्यो निस्कँदै गरेको डल्लो भ्रुण हो ।
त्यो दृश्य देखिन् कालिलाकी जेठानी दिदीले । कपडा लुछुप्पै भिजेका थिए । जेठानीले कालिलालाई घर पुर्याइन् र सासूलाई गाली गरिन्, ‘बुझ्नु पर्दैन ? हेर, बच्चाको कपाल नै उखेलेछिन् नानीले ।’
केहीछिनमा खुशी हुँदै कालिलाकी आमा आइपुगिन् । नीलकुमारी आफैं सुँडेनी पनि थिइन् ।
कालिलाको परिवार ०४२ मा स्याङ्जाबाट व्यापारका लागि तनहुँको आरेभञ्ज्याङ सर्यो । त्यहाँ सानो झुपडी थियो । त्यहीँ घडी र रेडियो बनाउन थाले हविवले । कालिला भन्छिन्, ‘पहिलो दिन मेरा बुढाले १३ रुपैयाँ कमाउनुभएको थियो ।’
तर, कालिला अझै कलिलै थिइन् । खच्चड बेच्ने भेट्दा पनि पछिपछि लागेर आमालाई भेट्न हिँड्थिन् । न उनलाई सन्तानको चिन्ता थियो, न श्रीमानको । जतिबेलै आमाको प्यास लागिरहन्थ्यो उनलाई ।
तर, अर्को वर्ष फेरि अर्को सन्तान जन्माइन् कालिलाले । कालिला भन्छिन्, ‘त्यतिबेलाको अवस्था म सोच्न पनि सक्दिनँ ।’
बालविवाहको डरलाग्दो अनुभव छ कालिलासँग । यति भयंकर कि सम्झँदा पनि उनको मुटु चसक्क हुन्छ । भत्भती पोल्छ ।
त्यसपछि लगातार दुई सन्तान जन्माइन् कालिलाले । उनी कलिलै उमेरमा दुई छोरा र दुई छोरीकी धनी भइन् । आमाको अर्थ बुझ्न नपाउँदै उनी आफैं आमा भइन् ।
श्रीमानको व्यापार फस्टाउँदै गयो । कालिलाले पनि सामाजिक काममा तिब्रता देखाउन थालिन् । उनी दुःखको पहाड फोरेर अंकुराएको सुख सम्झँदै भन्छिन्, ‘श्रीमानले यति धेरै पैसा कमाउनुभयो कि चाहेको भए तनहुँमा हामीले थुप्रै घर किन्न सक्थ्यौँ ।’
आफ्नो समुदायको मुद्दामा निकै प्रखर बनेर निक्लिइन् कालिला । सामाजिक काम सल्टाउनका लागि डीएसपी, सिडियोसँग डिल गर्न पुग्न थालिन् । विस्तारै राजनीतिक पार्टीको ध्यान पनि आफूतिर खिच्न सफल भइन् उनी ।
०६२ तिरको कुरा हो । त्यो वर्ष व्यापार कम थियो । नगरपालिकाको सटरमा थियो कालिलाको पसल । भाडा तिर्न अलि ढिलो भएको थियो । नगरपालिकाका कर्मचारीले आएर भने, ‘भाडा तिर्न सक्दैनौ भने निस्क, अर्को मानिस आएर बस्छ ।’
यो सुन्नासाथ कालिलालाई रिंगटा लाग्यो । बस्दै आएको ठाउँबाट निस्किहाल भन्दा कालिलाले निकै ठूलो अपमानवोध गरिन् । उनको दिमागमा खेलिरहेको थियो, ‘यो त अन्याय भयो ।’
०६३ सालमा तत्कालीन एमाले नेता माधव नेपालसहितको टोली उनकै घरमा बस्न पुग्यो । त्यतिबेला माधव नेपालले भने, ‘तपाईजस्तो मान्छे चुलो चौकोमा कैद हुन भएन । राजनीतिमा आएर परिवर्तनका लागि शंखघोष गर्नुपर्यो ।’
कालिलाले सर्त तेर्साइन्, ‘पार्टीमा लाग्छु । तर, मलाई नगरपालिकाको सर्वदलीय समितिमा राख्नुपर्छ ।’
कालिलाले तत्कालीन एमालेको सदस्यता लिइन् । श्रीमानले सटरमा थापेको व्यवसाय त्यागे । कालिला होलटाइमर कार्यकर्ता बनिन् । सर्वदलीय समितिको सदस्य भइन् कालिला ।
भन्नेले त महिला राजनीतिमा लागेपछि अपवित्र हुन्छ पनि भनेका थिए । तर, कालिलाले खुट्टा लर्खराइनन् । यो १२ वषर्ीय राजनीतिक करिअरमा उनी अहिले प्रतिनिधिसभाको सदस्यको हैसियतमा छिन् ।
तर, सांसद हुनु मात्रै सबैथोक होइन भन्नेमा उनी सचेत छिन् । भन्छिन्, ‘म संसदमा गएर सुनेर मात्रै बसेकी छैन, समुदायको हितका लागि बोलि नै रहेकी छु ।’
४८ वर्षीया कालिलाले आफ्नो पढाइको तिर्खा आफ्ना सन्तानहरुबाट मेटाएकी छिन् । जेठो छोराले आइएसम्म पढेका छन् । सानो छोराले डिग्री, ठूली छोरीले ब्याचलर र कान्छीले स्टाफ नर्स पढेकी छिन् ।
कालिला अहिले खुशी बाँड्ने ठाउँमा छिन्, बाँड्छिन्, ‘सन्तानले होइन, आफैंले पढेजस्तो भएको छ ।’
कालिलाका जीवनको एकपछि अर्को रहस्य खुल्दै गयो ।
कुरा गरिरहँदा उनले बेलाबेला हातको घडीमा आँखा दौडाइरहेकी थिइन् । किनकि ११ बजेर केही मिनेट गैसकेको थियो । उनले घडीबाट आँखा हटाउँदै भनिन्, ‘मेरो कथा लेख्यो भने त कितावै बन्छ, फिल्म नै तयार हुन्छ ।’
सही हो, हामीले कालिलाका कैयौँ कुराहरु लेख्न छुटायौं । उनी संसद भवनतर्फ उक्लिइन् ।
संसदको बैठक सकिएपछि कालिलालाई लिन मोटरसाइकल लिएर छोरा आउँछन् । यद्यपि धेरैपल्ट उनी हिँडेरै रत्नपार्क पुग्छिन् । कहिलेकाहिँ ट्याक्सी चढ्छिन् । कतिपटक ट्याक्सी चालकहरुले संसदको लोगो देखेपछि ट्याक्सी नै नरोकेको तीतो अनुभव छ उनीसँग ।
कतिले ट्याक्सीभित्रै थर्काउँछन्, ‘तपाईलेहरुले पेट्रोलको भाडा बढाउने अनि मिटरमा जाऔँ भन्ने ? जान सक्दैनौँ मिटरमा ।’
कालिला घर पुगेपछि रोज स्टाफी (ब्रत तोड्ने सामाग्री) तयार पार्छिन् । साढे पाँच बजेभित्र खाना तयार बनाउँछिन् र नमाज पढ्न थाल्छिन् । बेलुकी उनको नमाजको समय अलि लामो हुन्छ । किनभने दिनमा, ५ पटक पढ्नुपर्ने नमाज संसद बैठकले खाइदिन्छ । त्यो छुटेको नमाजको कर्जा उतार्नुपर्छ कालिलाले ।
साँझ ६ः५० तिर उनले खजुर र पानी खाएर रोजा स्टाफी (ब्रत तोड्ने काम) गर्छिन् । खाना खान्छिन् । किनकि रमजानमा सूर्यास्तपछि मात्रै खान अनुमति छ ।
यति गरेर ओच्छ्यानमा पल्टँदा रातको ११/१२ बजिसकेको हुन्छ । केही घण्टापछि नै उठिहाल्नुपर्छ ।
यो एक महिना कालिला यसरी अतिरिक्त व्यस्त हुनको ठूलो कारण छ । यो एक महिनालाई मुस्लिम समुदायले पवित्र मान्छ । धर्मगुरु मोहम्मदले एउटा खजुर र पानीको भरमा पुरै महिना ब्रत बसेका थिए, कुरान पढेका थिए । र, यही महिनामा लेखिएको थियो कुरान ।
जीवनमा आफूले गरेका पापहरु नष्ट भएर जाउन् भन्नका लागि कालिला रोजा (ब्रत) बसेकी छिन् । कालिला मात्र होइन, उनको परिवार नै अहिले रोजामा छ । पाँच उक्तको नमाज पढ्छन् ।
यो महिना कालिलाको परिवार मात्रै होइन, १० वर्ष उमेर नपुगेका र अशक्तबाहेक सबै मुस्लिम समुदायका मानिसहरु रोजामा छन् । पवित्र बन्दैछन् ।