काठमाडाैं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा घोषणा भएको आज एक वर्ष पुगेको छ । एमाले र माओवादी दुई ठूला कम्युनिष्ट पार्टी गत वर्षको जेठ ३ गते एकीकृत भएका थिए ।
हिजो बसेको सचिवालय बैठकले नेकपाले पोलिटब्यूरो सदस्यसहित जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रको भागवण्डा गर्दै पोलिटब्यूरो सदस्य र अधिकांश जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको हो ।
तर, एक वर्षमा पनि सांगठनिक एकता अलमल मै रहेको नेकपाका नेता/कार्यकर्ता नै बताउँछन् । पार्टीभित्र एकातिर फरक समूह र उपसमूह थपिँदै छन्, अर्कोतिर शीर्ष तहमै विवादहरू दोहोरिइरहेका छन् ।
यस्ताे भागबण्डा
भागबण्डा अनुसार नेकपाको पोलिटव्यूरोमा पूर्व एमालेबाट ८१ र पूर्वमाओवादी केन्द्रबाट ६६ जना गरी १ सय ४७ जनाको हुने छ । पोलिटव्यूरोमा स्थायी कमिटीका ४५ सदस्य पनि रहने छन् । पूर्व एमालेबाट यसअघिको पोलिटव्यूरोमा रहेका ५९ जना परेका छन् । त्यस्तै पूर्वएमालेबाट २२ जना नयाँ अनुहारले पोलिटव्यूरोमा स्थान पाएका छन् । जनवर्गीय संगठनमा पूर्वएमालेले १३ र पूर्वमाओवादीले ९ वटाको नेतृत्व पाएका छन् ।
संयोजक तत्कालिन एमालेले पाएको संगठनमा सह–संयोजक माओवादी केन्द्र र तत्कालिन माओवादीले पाएको संगठनमा एमालेले सह–संयोजक पाएको छ । जसअनुसार विद्यार्थीमा ऐन महर संयोजक र रञ्जित तामाङ सह–संयोजक, युवामा रामप्रसाद सापकोटा संयोजक र रमेश पौडेल सह–संयोजक, महिलामा अमृता थापा संयोजक र सीता पौडेल सह–संयोजक बनेका छन् ।
यस्तै, मजदुरको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन् । प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सह–संयोजकमा ईश्वरी भण्डारी, सञ्चार संगठनमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सह–संयोजक तथा बुद्धिजिवीतर्फ दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी सप–संयोजक तोकिएका छन् ।
पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सह–संयोजक, जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहायात्री सह–संयोजक, मुस्लिम संगठनमा सराज महमद फरुकी संयोजक र अत्तहर हुसेन फारुकी सह–र दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्मा सह–संयोजक तोकिएका छन् । यस्तै, भूपू सुरक्षाकर्मीको संगठनमा धनबहादुर चन्द संयोजक तोकिएका छन् भने सह–संयोजक तोक्न बाँकी छ ।