भोजपुर।
देश र प्रवासमा रहेका नेपालीहरुले आफ्नो बिशेष दिनहरु जस्तै जन्मदिन, बिवाह एनिभर्सरी आदिमा भोजभतेर गरेर खर्च गर्नुको सट्टा सामाजिक कार्यमा खर्च गर्ने प्रबृत्ति बढ्दो छ। एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले पनि आफ्नो जन्मदिनमा यस्तै गरी नेपालको बिद्यालयमा सहयोग गरेका छन् ।
अध्यक्ष कार्कीले आफ्नो जन्मदिनमा भोजपुर साल्पा सिलिछो १ कुलुङ्गमा रहेको बिरेन्द्र माध्यामिक बिद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग गरेका छन् । अध्यक्ष कार्कीले सो बिद्यालयमा बिशेष गरी गरिब, पिछडिएका र दलित समुदायका बिद्यार्थीहरु अध्ययन गर्ने भएकोले आफुले सहयोग गरको बताएका छन्।
भोजपुर साल्पा सिलिछो १ का वडाध्यक्ष गणेश बुढाथोकीले अध्यक्ष कार्कीबाट सहयोग स्वरुप प्राप्त पचास हजार नेपाली रुपैया प्राप्त भएको बताए। सो रकमले १५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिका साथै बर्षभरी पुग्नेगरी पठनपाठन सामग्री वितरण गरिएको छ । वडाध्यक्ष बुढाथोकीले भोजपुरको बिकट बिद्यालयमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै भविष्यमा समेत हातेमालो र सहयोगको अपेक्षा गरिएको बताएका छन्।