भारतीय महिला लिगको डेब्यु खेलमै चम्किइन् नेपाली चेली साम्बा, पहिलो हाफमै ४ गोल

काठमाडौँ।

भारतीय महिला लिगको डेब्यु खेलमै नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी‘साम्बा’ले ह्याट्रिक गरेकी छिन्।

सावित्रा सम्मिलित सेथु फुटबल क्लबले लिगको पहिलो खेलमा मनिपुर पुलिस स्पोर्टस् क्लबविरूद्व सोमबार भएको खेलको पहिलो हाफभित्रै सावित्राले ह्याट्रिकसहित ४ गोल गर्दै आफ्नो बहादुरी देखाएकी हुन्।

खेल सुरु भएको पहिलो मिनेटमै गोलको खाता खोलेकी साम्बाले १५ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्। यस्तै खेलको ३४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै साम्बाले व्यक्तिगत चौथो गोल गरिन्।

प्रतिस्पर्धात्मक खेलमा सेथुले मनिपुरविरुद्ध ६–४ को जित हात पारेको छ।

दोस्रो हाफमा सेथुका लागि डाङ्माइ र ग्रेसले गोल गरेकी थिइन्। ग्रेसलाई गोल गर्न सावित्राले पास उपलब्ध गराएकी थिइन्। चार गोल गरेकी सावित्रा खेलको प्लेयर अफ दि म्याच भइन्।

हिरो भारतीय महिला लिग खेल्नका लागि फरवार्ड सावित्रासहित नेपालकी अर्की मिडफिल्डर अनिता बस्नेत सेथुमा आबद्ध भएका थिए। पहिलो खेलमा सावित्राले मौका पाए पनि अनिताले मौका पाइनन्।

यसअघि सावित्रा र अनिताले माल्दिभ्समा फुटसल खेलेका थिए। तर यसरी बाहिरी क्लबबाट व्यवसायिक फुटबल खेल्न लागेको पहिलोपटक हो। २०१६ बाट सुरू भएको यो लिग भारतको राष्ट्रिय लिग हो।

यो लिग एक महिनासम्म चल्नेछ। लिगमा १४ टोलीको सहभागिता रहनेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार