श्रीमानको पनि मृगौला फेल भएर मृत्युको पीडा खेपेकी आमाले छोराको दुवै मृगौला फेल भएपछि जीवन बचाइन दिन आग्रह

Loading...

– राजेन्द्र कार्की

जाजरकोट।

छोराको दुवै मृगौला फेल भएपछि उपचारका लागि आमाले अपिल गरेकी छन्। श्रीमानको पनि मृगौला फेल भएर मृत्युको पीडा खेपेकी आमा नम्रता चन्दमाथि यतिबेला बज्रपात परेको छ।कमाई गर्ने उमेरको लक्का जवान छोराको दुवै मृगौला फेल भएपछि उनी इन्तु न चित्नु भएकी छन्।

भेरी नगरपालिका- ४ बोहरा निवासी माधव चन्दको २०६६ सालमा किड्नी फेल भएर मृत्यु भएको थियो। बाबुको मृत्यु भएको एक दशक नबित्दै छोरा सञ्जिव दुवै मृगौला फेल भएर मृत्युसँग संघर्ष गरिरहेका छन्।

घरको आर्थिक अवस्था निकै नाजुक रहेको चन्द परिवार अहिले भक्तपुरमा डेरा लिएर बसको छ।छोरा दुई वर्षदेखि बिरामी छ।छोरी क्याम्पस पढ्दैछिन।तीनजनाको परिवारको गुजरा र छोराको डाइलोसिस गर्दा लाग्ने खर्च जुटाउन नसकेर नम्रता निकै समस्यामा परेकी हुन्।

२४ वर्षीय सञ्जीवको भक्तपुरस्थित शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा नियमित डाइलोसिस भइरहेको छ। डाइलोसिस निशुल्क भएपनि रगत दिँदा र सुई लगाउनु पर्दा पैसा आफैले तिर्नुपर्छ। प्रत्येक हप्ता डाइलोसिस गर्नुपर्छ।त्यतिबेला कम्तिमा तीन हजार रुपैयाँ खर्च लाग्छ।’म कसरी खर्च जुटाउँ? नम्रताले समस्या सुनाउँदै भनिन्, ‘छोरालाई बचाउन डाइलोसिसले मात्र हुँदैन। मृगौला नै प्रत्यारोपण गर्नुपर्छ। छोराको ब्लड ग्रुप ए हो। मेरो बी हो। सहयोग गर्ने कोही छैनन्।किनेर प्रत्यारोपण गर्ने सामथ्र्य छैन। कसरी छोरा बचाउँ?’

उनका श्रीमान् बनस्पति कार्यालय सल्यानमा सहयोगीको रुपमा कार्यरत थिए।एक छोरा, एक छोरी।चारजनाको परिवार। राम्रै सँग चलेको थियो।तर त्यहीबेला नम्रताले श्रीमान्को मृगौला फेल भएको थाह पाइन्। केही वर्ष उपचारको प्रयास गरियो। तर सफल भएन।

उनको उपचारकै क्रममा २०६६ सालमा ३८ वर्षको अल्पायुमै मृत्यु भयो।दु:खजिलो गरेर छोराछोरी हुर्काइरहेकी नम्रतामाथि अर्को बज्रपात पर्‍यो।छोराको दुवै मृगौला फेल भएपछि उनी अहिले उपचारका लागि सबैसँग सहयोगको अपिल गरेकी छन्।

उनको सम्पर्क नम्बर ९७४८५०६५१० रहेको छ। सहयोग गर्न चाहने महानुभावले नम्रता चन्दको नाममा रहेको राष्ट्रिय बाणिज्य बैकको खाता नम्बर ४१६००२५९९७१० मा रकम जम्मा गर्न सक्नुहुनेछ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार