नेपाल एयरलाइन्सलाई उडन नदिइएको घटना र प्रवक्ताबाट कारवाहीबारे बिजय लामाको खुलासा- चालक दलका १४ सदस्यसहित २ सय ७६ यात्रु बोर्ड गरेर उडानका लागि तयार नेपाल वायुसेवा निगमको वाइड बडी विमानको निर्धारित दुवई उडान अकस्मात रद्द भयो । समयमा जहाज उड्न नसकेपछि र एयर ट्राफिक कन्ट्रोलले राती दश बजेदेखि विहान ८ बजेसम्म एयरपोर्टको रनवे मर्मतकार्य हुने भएकाले उडानका लागि अनुमति दिन नमिल्ने बताएपछि एयरपोर्टमा हल्लिखल्लि मच्चियो ।
निगमले केही यात्रुलाई होटलमा लगेर राखिए पनि सयौं यात्रु जहाजभित्रै छोडिए । राति ९ बजे जहाजमा चढेका यात्रुलाई भोलिपल्ट बिहान ५ः१५ मा मात्रै प्रहरीले बाहिर निकाल्यो र पछि ८ः४५ बजे मात्र जहाज उड्यो । घटनाको छानविन गर्न बनेको समितिले एटीसीमा रहेका कर्मचारीले मानवीय हिसाबले परिपक्व निर्णय लिन नसकेको र बिमानस्थलमा भएका निगमका कर्मचारीले सञ्चार समन्वयमा कमजोरी गरेको निष्कर्ष निकाल्यो, र घटनासँग सम्वन्धित विभिन्न निकायका ६ जना कर्मचारीलाई विभागीय कारवाहीका लागि सिफारिस ग¥यो ।
कसैका आसेपासे र पुच्छरले दोहन गर्ने दिन गए – विजय लामा
यो घटनाले नेपाल वायु सेवा निगमलाई अनावश्यक व्यवभार मात्र थपेन्, क्याप्टेन विजय लामालाई स्पष्टिकरण सोध्नुका साथै प्रवक्ताबाट हटाइएपछि निगम र प्राधिकरणका अधिकारीबीचको सम्बन्ध चिसिएको छ । सरकारको पर्यटन वर्ष २०२०, घोषणालाई मुलुकको राष्ट्रिय ध्वजावाहक, र नागरिक उड्यन प्राधिकरणको यो वैमनस्यताले कस्तो प्रभाव पार्ला ?
आखिर त्यो दिन के कारण उडान रद्द भयो ? निगमका पाइलट र एटीसीका प्राविधिकबीच जुंगाको लडाई मात्र थियो वा अन्य केहि ? निगमका क्याप्टेन विजय लामालाई प्रवक्ताबाट हटाउनु पछाडी अरु के कारण छ ? नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगम र नागरिक उड्यन प्राधिकरणबीच कस्तो सम्बन्ध छ ? यस किसिमको तित्तताले समग्र हाम्रो हवाई सेवा तथा २०२० को पर्यटन वर्षलाई कस्तो प्रभाव पार्ला ? यस्तै प्रश्नहरुको जवाफ खोज्न टफटकमा हुनुहुन्छ, नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन विजय लामा ।
नेपाल वायु सेवा निगम सुधारका लागि म झुण्डिन तयार छु : क्याप्टेन विजय लामा
यस्तो थियो विवादमा तानिए क्याप्टेन विजय लामाको त्यो प्रशंग
पाइलटलगायत उड्डययनकर्मीलाई नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई ‘आफ्नो इजाजतपत्र खारेज गर्न’ चुनौती दिने नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामालाई ७ दिने स्पष्टीकरण सोधिएको छ । एक अनलाइन टिभीमा पाइलट लामाले ५५ मिनेट लामो अन्तर्वार्ताका क्रममा आवेशमा आई नियमन गर्ने निकायलाई चुनौती दिएपछि उनलाई प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले केहि समय पहिले ७ दिने स्पष्टीकरण सोधेको हो ।
चैत १९ गते राति भएको निगमको दुबई उडान रद्दबारे पाइलट लामाले यूट्युब च्यानलमा बोलेको विषयलाई स्पष्टीकरण पत्रमा सोधिएको हो। पेसाले जहाज उडाउने नेपाल वायुसेवा निगमका प्रवक्ता लामाले उक्त अन्तर्वार्तामा आफू तनाव, थकान, अस्वस्थ र अनिन्द्रामा रहेको भनेका छन्।
विमान उडाउने मुख्य जिम्मेवारी रहने पाइलटले नै आफू तनावमा हुने गरेका लगायतका मानसिक र शारीरिक समस्याबारे व्यक्त गरेकाले उनलाई स्पष्टीकरण सोधेको विभागले जनाएको छ। स्पष्टीकरण पत्र लेख्ने विभागका वरिष्ठ उडान सञ्चालक निरीक्षक बिएम अमात्यले लामाको अन्तर्वार्ता हेरेपछि ‘त्यस्तो अवस्थामा सयौं यात्रु बोकेर जहाज उडाउन मिल्छ?’ भनेर लामालाई सोधेको छन्। निगमबाटै अवकाशप्राप्त पाइलट अमात्यले लामाले स्वःघोषणा गरेकाले उनलाई जहाज उडाउन दिनु खतरा रहेको बताए।
‘यदी पाइलट नै मानसिक वा शारीरिक तनावमा रहेको सार्वजनिक गर्छ भने तत्काल कम्पनीले ग्राउन्डेड गरेर मेडिकल जाँच गर्नुपर्ने हुन्छ,’ विभागका एक उच्च अधिकारीले भने, ‘तर, लामा कार्यरत निगम व्यवस्थापनले तत्काल ग्राउन्डेड गर्दैन भने त्यो उडान सुरक्षामा झन् ठूलो लापरबाही हो। यता बबरमहलस्थित प्राधिकरणले लामाको पत्र पाइसकेपछि उनलाई मेडिकल चेक गराउने जनाएको छ। ‘आक्रोशित मुद्रामा नियमनकारी निकायलाई मात्रै होइन, प्रधानमन्त्रीलाई पनि गुहार माग्नु भनेको लामामा स्वस्थ्य समस्या रहेको देखिन्छ,’ ती वरिष्ठ अधिकारीले भने।
उनका अनुसार, संसारभर लाइन पाइलटहरुको स्वास्थ्य तथा मानसिक अवस्थालाई असर पर्ने भएकाले प्रवक्तालगायत अति संवेदनशील व्यवस्थापकीय भूमिकामा दोहोरो जिम्मेवारी दिने प्रचलन हुँदैन। ‘एक्टीभ लाइन पाइलट फूलटाइम उडानमा रहने भएकाले उनलाई प्रवक्ताको जिम्मेवारी दिनु बेठीक देखिन्छ।’
निगममा ३२ वर्षदेखि कार्यरत लामा नवौं तहका वरिष्ठ क्याप्टेन हुन्। हाल उनी एयरबसको वाइडबडी उडानमा छन्।