कैलाली ।
दोषीलाई कानुनबमोजिम कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने सहमतिपछि पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ ।
कैलालीको लम्कीमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाएकी २३ वर्षीया सुनिता रावलका परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाही गर्ने सहमतिपछि स्थानीयले प्रदर्शनका कार्यक्रम फिर्ता लिएको प्रहरीले जनाएको छ
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले उक्त सहमतिपछि राजमार्ग सुचारु भएको जानकारी दिए ।राजमार्ग सुचारु भएसँगै सडकमा रोकिएका सवारी–साधन गन्तव्यतर्फ लागेका छन् ।
मंगलबार ट्रकको ठक्करबाट रावलको ज्यान गएपछि स्थानीयले लम्कीबजारमा प्रदर्शन गर्दैै सडक अवरुद्ध पारेका थिए । प्रदर्शनले उग्ररुप लिएको थियो । प्रदर्शनकारीले हानेको ढुंगा लागेर सातजना प्रहरी घाइते भएका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत् छात्रा रावलको मृत्यु भएको हो ।
पोष्टमार्टमका लागि सुनिताको शवलाई टीकापुर अस्पताल लगिएको छ ।