इन्डोनेशियाले आफ्नो राजधानी जकार्ताबाट अन्यत्र सार्न लागेको त्यहाँका योजनामन्त्रीले बताएका छन्।
मन्त्री ब्यामब्याङ ब्रोजोनेगोरोका अनुसार राष्ट्रपति जोको विडोडोले एउटा महत्त्वपूर्ण निर्णय अन्तर्गत राजधानीलाई अन्यत्र सार्ने विषय टुङ्गो लगाएका हुन्।
जकार्ता तीव्र गतिमा डुबिरहेका विश्वका शहरहरूमध्ये एक हो।
जकार्ता: तीव्र गतिमा भासिइरहेको महानगर
अनुसन्धानकर्ताहरूका अनुसार सन् २०५० सम्ममा जकार्ताको ठूलो हिस्सा डुबिसक्नेछ।
जकार्ताको आधाजसो हिस्सा समुद्रको सतहभन्दा तल पर्छ। त्यसका प्रमुख कारणमध्ये एउटा पिउन र नुहाउनका लागि जमिनमुनिको पानी तान्नु रहेको बताइन्छ।
नयाँ राजधानी कहाँ?
राजधानी कहाँ सार्ने भन्नेबारे चाहिँ अझै थाहा हुन सकेको छैन।
यद्यपि सरकारी सञ्चारमाध्यममा आएका रिपोर्टहरू अनुसार बोर्निओ टापुमा पर्ने पलाङ्गकराया नयाँ राजधानी हुने बढी चर्चामा छ।
जकार्तामा करिब एक करोड मानिस बस्छन्। यसै महिनाको सुरूतिर आमनिर्वाचनमा विडोडोले विजयी भएको घोषणा गरेपछि पछिल्लो निर्णय बाहिर आएको हो।
मे २२ तारिखअघि आमनिर्वाचनको परिणाम घोषणा हुनेछैन।
भासिँदैछ जकार्ता
उक्त शहरलाई छोएर बग्ने १३ वटा विभिन्न नदिहरूका कारण उक्त शहर कमजोर जमिनको तटमा अवस्थित छ।
पुरानै मुद्दा
सन् १९४५ मा स्वतन्त्र भएदेखि नै राजधानी सार्ने मुद्दा पटक-पटक अघि सारिँदै आएको छ।
सन् २०१६ मा गरिएको एउटा सर्वेक्षणका अनुसार जकार्तामा विश्वकै सबैभन्दा नराम्रो ट्राफिक जाम हुने गरेको थियो।
योजनामन्त्रीका अनुसार जर्कातामा ट्राफिक जाम व्यवस्थापनमा प्रतिवर्ष ६.८ अर्ब डलर हुने गरेको छ।
महानगरपालिकाहरूलाई थप राजनीतिक तथा आर्थिक अधिकार दिने प्रयास स्वरूप गत दुई दशकयता विक्रेन्द्रीकरणका विभिन्न कार्यक्रमहरू गरिँदै आएको छ।
बीबीसीकी रेबेका हेन्स्की भन्छिन्, “राजधानी साँच्चिकै सर्नेबारे इन्डोनेशियालीहरू भने शङ्का व्यक्त गर्छन्। उनीहरूले यसअघि पनि यसबारे सुनेपनि अहिलेसम्मका ६ जना राष्ट्रपतिले त्यसो गर्न सकेका छैनन्।”