चीन
यूक्रेनी जनतालाई रूसी नागरिकता प्राप्त गर्न सहज बनाउने बिषयमा यूक्रेनले ‘सोचिरहेको’ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार बताउनुभएको छ । पूर्वी यूक्रेनका पृथकतावादी समूहका सदस्यलाई रूस छिर्न सहज राहदानीको व्यवस्था गरेको भन्दै कीभमा विरोध भइरहेका समय रूसी नेताले नागरिकता प्राप्त गर्नका लागि सहज कानूनको निर्माण गर्ने बताउनुभएको हो ।
“हामीले पूर्वी ‘लुगान्स्क र डोनेस्क गणतन्त्र’ का नागरिकलाई मात्र होइन आवश्यक परेमा र चाहेमा यूक्रेनमा बसोबास गर्ने वा यूक्रेनको नागरिकलाई पनि सरल तवरले नागरिकता दिने बिषयमा सोचिरहेका छौँ,” बेल्ट एण्ड रोड (बिआरआई) सम्मेलनमा सहभागी हुन चीन आएका रूसी राष्ट्रपति पुटिनले भन्नुभयो । यस हप्ता पुटिनले टुक्रिएका क्षेत्रमा रहेका यूक्रेनी नागरिकले रूसी पासपोर्टका लागी निवेदन दिएमा तीन महिनाभित्र राहदानी उपलब्ध गराउने आदेशमा हस्ताक्षर गरिसकेको बताइएको छ ।
सन् २०१४ मा किभको क्रिमियालाई रूसमा जोड्न क्रिमियाली विद्रोहीले गरेको आन्दोलनका कारण रूस र यूक्रेनबीच ठूलो युद्ध नै भएको थियो । यूक्रेनले रूसले क्रिमियाली समूहलाई विद्रोहका लागि उक्साएको आरो यूक्रेनले लगाउँदै आएको छ भने रूसले यसमा आफ्नो कुनै प्रोत्साहन नरहेको दावी गर्दै आएको छ । करिब पाँच बर्ष पहिले यसै विवादमा भएको युद्धका कारण १३ हजार व्यक्तिको ज्यान गएको थियो ।रूसको पछिल्लो घोषणाको यूक्रेनी क्षेत्रमा व्यापक आलोचना हुँदै आएको छ ।
“यूक्रेनी पक्षले रूसले यूक्रेनमा थप तनाव उत्पन्न गर्न चाहेको र यसै अनुरूप नागरिकतासम्बन्धी कानूनमा सुधारतर्फ अग्रसर रहेको छ,” कीभको तर्फबाट काउन्सिल अफ यूरोपका लागि स्थायी प्रतिनिधि दिमिट्रो कुलेबा शनिबार ट्वीटमा उल्लेख गरेका छन् । पुटिनको निर्णय यूक्रेनको नयाँ राष्ट्रपतिमा हास्य कलाकार भोलोदिमिर जेलेन्स्की निर्वाचित भएको केही दिनपछि आएको हो । जेलेन्स्कीले आगामी जुनमा पदभार ग्रहण गर्दासाथ यस समस्याले उनलाई सताउने देखिएको छ ।