जिउँदै जलाएर गम्भीर घाइते कन्चन मण्डलको निधन

सिरहा

सिरहामा आफ्नै पति र सासूले जिउँदै जलाएर गम्भीर घाइते भएकी कन्चन मण्डलको निधन भएको छ। उनको सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। अहिले प्रदेश–२ सरकारले ‘बेटी पपढाऊँ बेटी बचाऊँ’ योजना अघि सारेको छ । छोरी, चेलीहरु असुरक्षित भएपछि प्रदेश सरकारले यो अभियान अघि बढाएको हो । तर दैनिक महिला हिंसाका घटना बढ्दै गएपछि सरकारको योजनामाथि नै प्रश्न चिन्ह उठेको छ ।

‘बेटी पढाऊँ बेटी बचाऊँ’ का अभियान चलिरहँदा पछिल्लो समय धनुषा लगायत मधेसका जिल्लाहरुमा छोरी चेलीहरु असुरक्षित हुनुपरेको हो । मधेशका जिल्लाहरुमा एकपछि अर्को गर्दै ज्यूँदै जलाइएका घटनाहरु घटिरहेका छन् । प्रदेश सरकारको अभियान चलिरहँदा सिरहामा एक महिलालाई ज्युँदै जलाइएको छ । घरायसी विवादमा सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई उनकै पति र सासु मिलेर जलाएका छन् ।

धनुषामा एक नवविवाहिता चेली निर्मला यादवलाई उनकै पतिले मट्टीतेल छर्केर जलाएको घटना सेलाउन नपाउँदै कञ्चन देवीमाथि आफ्नै परिवारका सदस्यबाट आक्रमण भएको हो । बिहीबार बिहान करिब ११ बजे घरायसी विवादमा कञ्चनलाई जिउमा आगो लगाएर जलाइएको छ । आगोले उनको शरीरको ८० प्रतिशत भाग जलेको छ । उनको अवस्था अहिले गम्भीर छ ।

सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार घटनापश्चात् कञ्चनका पति बेचन मण्डल खत्वे फरार भएका छन् । घटनामा संलग्न रहेको भन्दै प्रहरीले बेचनका आमालाई नियन्त्रणमा लिएको छ । अहिले आगोबाट जलेकी कञ्चनलाई काठमाडौंमा ल्याएर उपचार गरिएको छ । ‘घटना घट्नेबित्तिकै कञ्चनलाई उद्धार गरेर उपचारका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएका थियौं ।’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘उनको शरीरको अधिकांश भाग जलिसकेको छ । यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको हो ।’

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार घटना बिहीबार विहान ११ बजेतिरको हो । ‘घरायसी विवाद हुँदा घरमा आगोले जलेको अवस्थामा कञ्चन फेला परिन् हामीले तत्कालै कञ्चनलाई उपचारको लागि धरान पठायौं’, उनले भने ‘हामी घटनाको अनुसन्धानको लागि कञ्चनकी सासुलाई नियन्त्रणमा लिएका छौं । पति बेचन फरार भएका छन् । उनको पनि खोजी कार्य जारी रहेको छ । घटना कसरी भएको हो भन्ने यकिन गर्न सकिएको छैन । हामी अनुसन्धान गरिरहेका छौं । अहिले उनको उपचार भइरहेको छ ।’

निर्मला यादव पनि जीवन मरणको दोसाँधमा
बैशाख ५ गते धनुषाको शहिदनगर–१ पुरवारी टोल चिरैयाकी २० वर्षीया निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउमा मट्टीतेल खन्याएर आगो लगाए । घरायसी विवादको क्रममा घरमा कोही नभएको बेला लागुऔषधको नसामा मुकेशले निर्मलाको हात खुट्टा बाँधेर जिउमा मट्टीतेल खन्याएर आगो लगाएर ढोका बन्द गरी फरार भएका थिए । त्यसपछि गाउँलेले निर्मलाको उद्धार गरी उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेका थिए । उनको पनि अहिले काठमाडौंमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको पनि शरिरको ४० प्रतिशत भाग जलेको छ । अहिले उनि जीवन मरणको दोसाँधमा छिन् ।

तराईका जिल्लाहरुमा महिलाहरुलाई कहिले दाइजो त कहिले अन्य घरायसी बेमेलका कारण ज्यूँदै आगो लगाएका घटनाहरु दैनिकजसो आउने गरेका छन् । तर सरकारले पिडामा परेका महिलाहरुको घाउमा मलहम लगाउने काम भने गरेको छैन् । जसका कारण महिलाहरुले अनाहकमा मर्नुपरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार