ए मेरो हजुर-३: मनोरञ्जनको फिक्का डोज

Loading...

फिल्म समीक्षा

-शिव मुखिया

फिल्म सिर्फ तीन कारणले चल्छ, मनोरञ्जन, मनोरञ्जन र मनोरञ्जन ।

सन् २०११ मा प्रदर्शित हिन्दी फिल्म ‘डर्टी पिक्चर’मा सिल्क स्मिता (विद्या बालन)ले बोल्ने यो डायलग र निर्देशक झरना थापाको मनोविज्ञान करिब मिल्दो देखिन्छ । उनको हिसाबले फिल्म ‘ए मेरो हजुर-३’ मनोरञ्जनको पूर्ण डोज हो । हाँसो-ठट्टा, रोदन, रहस्य, विस्मय, प्रेम-रोमान्स, नाचगान, मनोरम दृश्य सबै व्यञ्जन समेटिएको यो रेडिमेड थाली हो ।

निसन्देहः फिल्मको सारभूत तत्व मनोरञ्जन नै हो । यद्यपी मनोरञ्जनको गुणवत्ताले त्यसको स्तर निर्धारण गर्छ ।

कोही व्यक्ति हिलोमा चिप्लिएर लड्दा, कसैलाई होच्याउँदा, अश्लिल बोल्दा, छिल्लिदा पनि त हामी हास्छौ । रमाउँछौ । ठीक त्यसैगरी भ्वाइलिनको धुन सुनेर, कुनै चित्र हेरेर पनि हामी आनन्द अनुभूत गर्छौ । यी अनेकथरी मनोरञ्जनको गुणवत्ता उही र एकनास हुँदैन ।

‘ए मेरो हजुर-३’ मनोरञ्जनको कस्तो खुराक हो ?

कथावस्तु

प्रेम (अनमोल केसी) शहरका नामी गायक हुन्, सुपरस्टार । एउटा ठूलो जमात उनलाई हेर्न र भेट्न लालयित छन् । त्यसमध्येकी एक हुन्, आर्य (सुहाना थापा) ।

आर्य होस्टेलमा बस्छिन्, आफ्ना केही संगीसँग । प्रेम कहाँ बस्छन् ? कसैलाई भेउ-पत्तो छै्रन । किनभने उनी झुलुक्क चम्किलो स्टेजमा देखापर्छन् । र, अध्याँरो रातमा गुमनाम हुन्छन् । यस्तो लाग्छ, स्टेज बाहेक प्रेम अरु कहीं छैनन् ।

भूवन केसी र झरना थापा, जो आफ्ना जमनाका चल्तापूर्जा कलाकार हुन्, उनीहरुका दोस्रो पुस्ताले प्रनिनिधित्व गरेको फिल्म हो यो ।
तर, शहरका गल्लीमा प्रेम जस्तै युवा बेलाबखत देखापर्छन् । कहिले आलु र चिनीको पोका झुड्याएर हिँडिरहेका, कहिले आफ्ना साथी हरि (सलोन बस्नेत)सँग भट्टीमा वियर पिइरहेका । यसक्रममा आर्य र उनका संगीसँग ति युवाको बारम्बार साक्षतकार हुन्छ । तर, उनी सुपरस्टार प्रेम नै हुन् कि अरु कोही ? खुट्याउन समर्थ छैनन् ।

यस्तै द्विविधा, रहस्य र रोमान्ससँगै अगाडि बढेको कथाले २ घण्टा ३० मिनेटमा अरु प्रेमिल प्रसंग पनि जोड्छ ।

किन हेर्ने ?

अनमोल केसीलाई सुकिलो आवरणमा देख्न आतुर प्रसंशकलाई यो फिल्मले लोभ्याउन सक्छ । निर्देशक झरना थापाकी छोरी सुहाना थापा अर्का आकर्षण हुन् ।

भूवन केसी र झरना थापा, जो आफ्ना जमनाका चल्तापूर्जा कलाकार हुन्, उनीहरुका दोस्रो पुस्ताले प्रनिनिधित्व गरेको फिल्म हो यो । यही पुस्ताको जीवनशैली, मनोविज्ञानसँग एकाकार हुने किशोर-किशोरीले फिल्ममा आफ्नो उपस्थिती अनुभूत गर्न सक्छन् ।

फिल्मको कथा सरल छ । ख्याल ठट्टा र रोमान्सले भरिपूर्ण छ । रमाइलो नाचगान छ । हिम चुचुरादेखि विदेशका गगनचुम्बी महलका मोहक दृश्य छन् । चम्किला दृश्य, सुकिला पात्र, रसिक कथाले फिल्म केही भव्य बनाएको छ ।

पहिलो फिल्ममा सुहानाले सुहाउँदो अभिनय गरेकी छिन् । आर्यको रुपमा उनको चरित्र चित्रण, हाउभाउ, बोलीचाली र मनोविज्ञान औसत छ । अनमोलले एकसाथ फरक दुई अनुहारमा आफुलाई पेश गरेका छन्, प्रेम र घनश्यामका रुपमा । एक सुपरस्टारको आवरणमा उनलाई सुहाए पनि अभिनय त्यती स्वभाविक लाग्दैन । घनश्यामको हुलियामा पनि उनी त्यती जमेका छैनन् ।

सिनेम्याटोग्राफी तारिफ गर्न योग्य छ । पाश्र्व ध्वनी औसत छ । द्वन्द्व, नृत्य कामचलाउँछ ।

के छ कमजोरी ?

चेतन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेल मिलेर तयार गरेको कथा/पटकथा/संवादमा लभस्टोरी फिल्मको पुरानै ढर्रा पुनरावृत्ति भएको छ ।

न कथा नौलो छ, न रोचक । न पात्रहरु घतलाग्दा छन्, न स्वभाविक । न घटनाक्रम विश्वसनिय छन्, न तर्कसंगत । अढाई घण्टाको कथा फितलो र खुकुलो छ । यति कमसल कथा-पटकथामाथि झरना थापाले के नै जादु देखाउन सक्थे ? उनले आफ्नो मौलिक र रचनात्मक दृश्यभाषा निर्माण गर्न सकेकी छ्रै्रनन् ।

दायाँ-वायाँ चार जना सुरक्षा गार्ड राखेर, हेलिकप्टरबाट उत्रिएका प्रेमलाई ‘सुपरस्टार’को रुपमा स्थापित गर्न नसक्नु फिल्मको ठूलो कमजोरी हो ।

हजारौं दर्शक/श्रोताको हुटिङसँगै मञ्चमा उत्रिएका प्रेम गीतार च्यापेर यसरी गाउँछन्, मानौ उनी एउटा साँघुरो कोठामा बसेर गीत गुनगुनाइरहेका छन् । उनको शारीरिक हाउभाउ, अनुहारको भाव, जोश केहीले पनि भव्य कन्सर्ट दिइरहेका सुपरस्टार गायकको छनक दिदैन ।
त्यससँगै जोडिएर आउने उनको प्रेम प्रसंग, रोमान्स, स्टार भ्यालु, कन्सर्टको तयारी, छद्यम भेष, डेरा बसाई सबैमा दर्शक सहमत हुन सक्दैनन् ।

प्रेम एक नामी गायक हुन्, तर उनमा संगीतको कुनै नसा छैन । गायनमा जोश छैन । स्टार क्रेज छैन । एकाध पटक गीतार च्यापेर गाउनुबाहेक सम्पूर्ण समय उनी केटीको पछि लागेर बिताउँछन् ।

उनको सर्वत्र प्रभाव छ । तर, उनी को हुन् ? कहाँ बस्छन् ? कसरी स्टार भए ? सामान्य जानकारी अरुलाई त के उनका डाइहार्ट फ्यानलाई समेत छैन ।

आर्य प्रेमका डाइहार्ट फ्यान हुन् । उनले कोठाको भित्ताभरी प्रेमको पोस्टर टासेका छन् । एउटा एल्बम नै तयार गरेका छन् । होस्टलमा बस्ने उनी प्रेमलाई पाउनका लागि जीवनभर भौतारिएकी छिन् भन्ने लाग्छ । अन्ततः एक झरी बर्सिरहेको रात अप्रत्यासित उनको सुपरस्टारसँग भेट हुन्छ । यो कथा त्यती पत्यारिलो छैन ।

यसलाई दृश्यभाषामा बदल्न निर्देशक अरु चुकेका छन् ।

सामुन्नेमा आफ्नो सपनाको सुपरस्टार प्रकट हुँदा आर्य जसरी आश्चर्यचकित, नर्भस र उमंगित हुनुपर्ने सो हुँदैनन् । यस्ता अस्वभाविक दृश्य कति छन् कति ।

त्यतीका नेम र फेम पाइसकेका व्यक्ति हुलिया बदलेर सडक-गल्लीमा हिँड्छन्, भाडाको कोठामा बस्छन्, भट्टीमा वियर पिउँछन्, आफै भाँडा माझ्छन् । भलै, उनलाई स्टार भ्यालु र ग्ल्यामर लाइफमा विश्वास छैन । त्यसो भन्दैमा एउटा सुपरस्टारले कसरी आफुलाई ढाकछोप गरेर सामान्य जीवन विताउन संभव छ ?

यी घटनाक्रममा अहिलेका दर्शक त्यती सजिलै कन्भेन्स हुन सक्दैनन्, त्यसमाथि टिठलाग्दो दृश्यभाषाको भरमा ।

फिल्म – ए मेरो हजुर-३

निर्देशक- झरना थापा

कलाकार- अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत आदि

जनरा- लभ स्टोरी

अवधी- दुई घण्टा ३० मिनेट

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार