शिरदेखि पाउसम्म औषधीय गुण बोकेको सजिवन

Loading...

सजिवन अत्यन्त लाभदायक सब्जी हो। भनिन्छ, सजिवनले शिरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ। नेपालमा सहजै पाइने भए पनि सजिवनको औषधीय गुणका बारेमा भने कमैलाई मात्र थाहा छ। छिप्पिएको सजिवनको कोसामा छेक्रा हुने हुँदा धेरैले मन पराउँदैनन् तर कलिलोमा भने निकै मुलायम हुन्छ।

भारतबाट सुरु भएको सजिवनको खेती विस्तारै एसिया हुँदै रसिया पुग्यो र संसारभर छायो। यो सब्जीको औषधीय गुण यति धेरै छन् कि, सायदै अन्य कुनै सब्जीमा पाइएला। सजिवन दक्षिण भारतमा व्यापक प्रयोग गरिन्छ भने नेपालमा पनि यसको खेती गर्न थालिएको छ। सजिवनको पात पनि औषधीय गुण बोकेको वनस्पतीमा पर्छ, जसलाई सितलचिनी भनेर चिनिन्छ।

वनस्पती वैज्ञानिकहरुका अनुसार सजिवनका सम्पूर्ण अंगमा औषधीय गुण हुन्छ। भारतमा यसलाई सहजन भनेर चिनिन्छ भने अंग्रेजीमा ड्रमस्टिक भनिन्छ। हुन पनि यो सब्जी ड्रम बजाउने स्टिक जस्तै हुन्छ। सजिवनको पात अर्थात् सितलचिनीलाई अंग्रेजीमा मरिङ्गा भनेर चिनिन्छ।

नेपालमा औषधीय गुण नबुझेर होला, सजिवनको प्रयोग ज्यादै न्यून देखिन्छ। सजिवनको गेडाबाट तेल निकालिन्छ, जुन अमूल्य औषधि मानिन्छ। आयुर्वेदमा सजिवनको प्रयोगले ३ सयभन्दा बढी रोगको निदान हुन्छ भनिएको छ। सजिवनको फूल, फल, डाँठ, कोसा र पात यति पोषक मानिन्छ कि, विश्व स्वास्थ्य संगठनको मार्गदर्शनले दक्षिण अफ्रिकाको कयौं देशमा कुपोषण पीडितहरुलाई आहारको रुपमा सौजुन प्रयोग गर्न सल्लाह दिएको छ।

सजिवनलाई कसरी हुर्काउने?
सजिवनलाई हुर्काउन सजिलो छ, किनभने यो हाँगा काटेर पनि रोप्न सकिन्छ र दानाबाट पनि बेर्ना निकाल्न सकिन्छ। तर ख्याल गर्नुपर्ने कुरा के छ भने, यसको बिरुवा हुर्काउँदा प्रशस्त मात्रामा पानी हाल्नुपर्ने हुन्छ। बिरुवा ८ देखि ९ फिट नहुँदासम्म नियमित पानीले भिजाएर राख्नु जरुरी छ। एउटा परिपक्क रुख हुँदा सौजुन ३० देखि ४० फिट अग्लो हुन्छ। यसको पात भने मसिनो खालको हुन्छ। केही छिप्पिँदै गएपछि सजिवन फुल्छ र फूल पनि धेरै औषधीय गुण बोकेको हुनाले संकलन गरेर सुकाइन्छ र बेचिन्छ।

सजिवनले रोपेको ४ देखि ६ महिनामा फल दिन थाल्छ र निरन्तर १० वर्षसम्म दिइरहन्छ। हरेक रुखले २ सय ५० देखि ३ सय ५० सम्म सौजुन स्टिक दिन्छ र यो रुखले निरन्तर दुई बाली दिनसक्छ। २५ देखि ३० सेन्टिग्रेट तामक्रम सौजुनका लागि उपयुक्त मानिन्छ। सजिवन एक त्यस्तो खेती हो, जुन थोरै लगानीमा धेरै आम्दानी दिने बहुआयामिक वनस्पति हो। सजिवन जीवन जोगाउने रुख भनेर पनि चिनिन्छ। यो वनस्पति तराई तथा मध्यपहाडमा सजिलै खेती गर्न सकिन्छ। सिजनमा ८० रुपैयाँ किलो र अफसिजनमा ३ सय देखि ४ सय रुपैयाँसम्म काठमाडौंमा सजिवन बिक्री गरिन्छ।

के–के बनाउन सकिन्छ सजिवनबाट?
सौजुनबाट भारतमा १ सय २५ भन्दा धेरैथरीका परिकार तयार गरिन्छ। दक्षिण भारतमा यो सब्जी अति नै मह्त्वका साथ दैनिक भोजनमा समावेश गरिएको पाइन्छ। यसका परिकार फुटपाथदेखि पाँचतारे होटलसम्ममा भिन्नभिन्न रुपमा पस्किने गरिन्छ। नेपालमा भने कलिलो सजिवनको कोसालाई आलुमा मिसाएर तरकारी बनाउने चलन छ। भारतमा सजिवनको ग्रेभी, सुप, सलाद, सम्बार, सजिवन मसला, अचार र दालमा मिसाएर खाने चलन छ।

सजिवनको मुन्टा तथा पातको करी पनि निकै प्रख्यात छ। पातलाई सुकाएर हर्बल टीको रुपमा पनि प्रयोग गरिन्छ। त्यस्तै सितलचिनीलाई विभिन्न आयुर्वेदिक औषधि बनाउन व्यापक प्रयोग गरेको पाइन्छ। वास्तवमा सजिवनलाई सब्जीको राजा नै मानिन्छ। सौजुनको पातको जुस बनाएर पनि खान सकिन्छ, जुन स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ।

यस्ता छन् २० गुण
 सजिवन या सजिवनको पात सितलचिनी सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ।
 हड्डी मजबुत बनाउन भूमिका खेल्छ।
 कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ।
 उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ।
 रोघा–खोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ।
 गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ।
 छालासम्बन्धी संक्रमणबाट जोगाउँछ।
 सजिवन पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ।
 सजिवनको पातलाई सितलचिनी अर्थात् मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ।
 सजिवनले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ।
 सजिवनको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ।
 सजिवनको जारा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ।
 सजिवनको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ।
 कलेजो खराब हुनबाट जोगाउँछ।
 चोट–पटकलाई छिटोभन्दा छिटो निको बनाउन मद्दत गर्छ।
 छालाका लागि सजिवनको पत्ता उपयोगी मानिन्छ।
 सजिवनको तेल कपालका लागि उत्तम मानिन्छ।
 मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ।
 शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ।
 पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा गर्ना मद्दत पुर्‍याउँछ।

(बुढाथोकी सोल्टी क्राउन प्लाजाका सुसेफ हुन्)

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार