नेपाली मेला २०१९ मा आदिवासी जनजाति महासंघ सहभागी नहुने र कुनै सहयोग नगर्ने , के आयोजक एनआरएनए पोर्तुगल र आदिवासी जनजाति महासंघविच छलफल र सहकार्यको प्रयास नभएकै हो ?

Loading...

लिस्बन ।

पोर्तुगलको राजधानी लिस्बनमा अप्रिल १४ तारिख सम्पन्न हुने नेपाली मेला २०१९ मा आदिवासी जनजाति महासंघ सहभागी नहुने र कुनै पनि प्रकारको सहयोग नगर्ने जनाएको छ। नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलले एक प्रेस विज्ञप्ति जारी गर्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलले आयोजना गरेको नेपाली मेला “केवल खस ब्राह्मण जातिको एकल जातीय पहिचानलाई मात्रै प्रवर्धनका गर्नका लागि आयोजना गरेको र उक्त कार्यक्रमले वास्ताविक नेपालको समष्टिगत पहिचान बोक्न नसक्ने भनि शब्दमा निन्दा गरेको छ ।

‘नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलले आफुहरुसँग कुनै सहकार्य नगरीकन र महासंघको गरिमालाई वेवास्ता गर्दै गैह्र आवासीय नेपाली संघ पोर्तुगलले आयोजना गर्ने सो कार्यक्रम कुनै पनि हालतमा सबै विविधतायुक्त नेपालीहरुको भावना बोक्ने वास्तविक नेपाली मेला हुन नसक्ने बताएको छ ।

के एनआरएनए पोर्तुगल र आदिवासी जनजाति महासंघविच छलफल नभएकै हो ?

नेपाली मेला नजिकिदै गर्दा आयोजक एनआरएनए पोर्तुगलले साँस्कृतिक बिबिधता झल्काउन नेपाल आदिवासी जनजाति महासंघसँग विभिन्न जातिका भेषभुषा र संस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुतिको लागि सहयोग माग्यो। महासंघले आयोजकसँग तिन प्रस्ताव राख्यो। पहिलो नेपाली मेलाको सह आयोजक हुनुपर्ने, दोस्रो कार्यक्रम संचालन गर्न पाउनुपर्ने र तेस्रो महासंघको तर्फबाट मन्तब्य भाषण गर्न पाउनुपर्ने। त्यसपछि जनजाति महासंघ र नेपाली मेलाका आयोजक एनआरएनए पोर्तुगलका बिच विभिन्न चरणमा छलफल र वार्ता भए।

मेलाको आयोजक एनआरएनए पोर्तुगलले मेलालाई पोर्तुगलमा रहेका सबै संघसंस्थाहरुको सहयोग रहेकोले एक्लो जनजाति महासंघलाई मात्रै सहआयोजकको जिम्मा दिन नसकिने तर दुबैतर्फ लचिलो हुदै कल्चरल झाँकी र नाँचको जिम्मा दिने र कल्चरल कार्यक्रमको प्रमुक आयोजक र जिम्मा नै जनजाति महासंघलाई दिन सकिने प्रस्ताव अघि सार्यो। यसपटकको नेपाली मेलामा बिदेशी पाहुनाहरुको पनि बढी उपस्थिति हुने भएकोले औपचारिक कार्यक्रम छोटो राखिएको र बोल्ने वक्ताहरु निकै कम भएको अवस्थामा जनजातिहरुको भावनाको कदर गर्दै महासंघको एक जना प्रतिनिधिलाई स्वागत मन्तब्य दिन सकिने प्रस्ताव राख्यो। तर, जति नै चरणमा छलफल र वार्ता भए पनि जनजाति महासंघ मेलाको सह -आयोजक नै हुनुपर्नेमा नै अडिग रह्यो।

महासंघको आरोप छ, ” हरेक कार्यक्रममा जनजातिहरुलाई ‘युज एन्ड थ्रो’ मात्र गरिन्छ, सह आयोजक बनाउन एनआरएनए ले के दिनुपर्ने थियो र ? अब आदिवासी जनजातिहरुकोतर्फबाट संस्थागत सहभागिता र सहयोग हुँदैन ।”

अब के हुन्छ ?

नेपाल आदिवासी जनजाति महासंघले नेपाली मेलामा सहयोग नगर्ने बिज्ञप्ति निकालिसकेको अवस्थामा नेपाली मेलालाई भब्य र व्यवस्थित तवरले सम्पन्न गर्न सहकार्यको ढोका खुल्ला राख्दै मेलाको आयोजक एनआरएनए पोर्तुगलले आज दिनको ३ बजे अलमेदा पार्कमा पोर्तुगलमा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुलाई छलफलको लागि आव्हान गरेको छ। सबै संघसंस्थाहरुको छलफल र सहमतिमा नेपाली मेलाको आयोजक एनआरएनए पोर्तुगल अगाडी बढ्ने संघका अध्यक्ष कुबेर कार्कीले भोइस अफ नेपाल टिभीलाई बताउनुभएको छ।

नेपाल आदिवासी जनजाति महासंघका कावा अध्यक्ष राजेन्द्र शेर्पा र महासचिव मदन लिम्बुद्वारा हस्ताक्षरित महासंघकको विज्ञप्तिको पूर्ण पाठ यस्तो छ !

प्रेस विज्ञप्ति

नेपाल मुलतः विविध धार्मिक सांस्कृतिक भाषिक र ऐतिहासिक पहिचान बोकेका जाति समूदायहरुको साझा देश हो । नेपालको वर्तमान संविधानले सगौरब स्वीकार गरेको यो बिषय नेपालको मुल सुन्दरता र पहिचान पनि हो । यद्यपी लामो समयदेखि नेपालको यो वास्तविक पहिचान, विविधताको सुन्दरतालाई समाप्त पारेर एकल जातीय खस ब्राह्मणको अहंकारी पहिचान नै नेपाल र नेपाली हो भनेर स्थापित गर्ने प्रयासहरु भएको हामी सबैलाई थाहै छ । फलतः आज नेपालको विश्वमा जुन प्रकारको निम्न स्तर छ त्यसको मुल कारण नै यही एकल जातीय अहंकारी सोचले नेपाल जस्तो सुन्दर विविधता भएको देशलाई चलाउन खोज्नाले भएको हो र सोही कारणले नेपालमा ठुला ठुला परिवर्तनका आन्दोलनहरु भएर आज नेपाल उक्त एकल जातीय अहंकारको बैधानिक दासत्वबाट मुक्त भएको अवस्थामा आएको छ । यद्यपी सोही एकल जातीय सोचका अवशेषहरु अझै पनि विभिन्न ठाँउहरुबाट विभिन्न नाममा टाउको उठाउने प्रयत्नहरु गरिरहेका पनि हामी देखिरहेका छौं । विशेष गरी हामी नेपालबाट परदेशको भुमिमा रहेता पनि यहाँ ती एकल जातीय अहंकारको दङदङ्गीबाट मुक्त हुन नसकेका केही व्यक्तिहरुले गैरआवासीय नेपाली संघ पोर्चुगलको नामबाट ती एकल जातीय अहंकारको संस्कारलाई फेरी पनि उठान गर्ने प्रयत्न गरिराखेका छन् । व्यवहारिक रुपमा एकल हिन्दु धर्मको संस्कार, संस्कृति, परम्परा र चाडपर्वहरुका लागि मात्रै कार्यक्रमहरु बनाउने र सहयोग गर्ने तथा एकल खस ब्राह्मण जातिकोे मौलिक पहिचानलाई मात्रै प्रवर्धन गर्ने गैरआवसीय नेपाली संघ पोर्चुगलले सबै विविधतायुक्त नेपालीहरुको साझा संस्था हो भन्दै आफुलाई दावी गर्नु आफैमा लज्जाको बिषय हो । तसर्थ सोही व्यवहारको निरन्तरताकै लागि निकट भविष्यमा फेरी पनि एकपटक पोर्चुगलमा कथित नेपाली मेलाको नाटक मञ्चन हुनेवाला छ । विविध ऐतिहासिक मौलिक पहिचान बोकेको आधा भन्दा बढी जनसंख्याको नेतृत्वदायी संस्था, विभिन्न जाति समूदायगत आदिवासी संघ संस्थाहरुको साझा संस्थाको रुपमा स्थापित नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलसँग कुनै सहकार्य नगरीकन र उक्त संस्थाको गरिमालाई वेवास्ता गर्दै गैरआवासीय नेपाली संघ पोर्चुगलले आयोजना गर्ने सो कार्यक्रम कुनै पनि हालतमा सबै बिबिधतायुक्त नेपालीहरुको भावना बोक्ने वास्ताविक नेपाली मेला हुनै सक्दैन । तसर्थ केवल खस ब्राह्मण जातिको एकल जातीय पहिचानलाई मात्रै प्रवर्धनका गर्नका लागि आयोजना हुने उक्त कार्यक्रमले वास्ताविक नेपालको समष्टिगत पहिचान बोक्न नसक्ने निष्कर्ष सहित त्यस कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगल तथा महासंघमा आवद्ध सबै मातृसंस्थाहरुको सहभागिता र सहयोग नरहने यसै विज्ञप्ती मार्फत प्रष्ट पार्न चाहन्छौं । धन्यवाद । जय आदिवासी !

राजेन्द्र शेर्पा, कार्यवाहक अध्यक्ष

मदन लिम्बु, महासचिव

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार