महिलालाई खुसी पार्ने कुरा के के हुन् ?

Loading...

एउटी महिलालाई के कुराले खुसी बनाउला त ?

हाम्रो जस्तो पूर्वीय तथा पितृसत्तात्मक समाजमा यसको उत्तरमा केही समानता भेटिएला तर वर्ग, जाति, वातावरण तथा सामाजिक–शैक्षिक एवं पारिवारिक स्तर हेरी व्यक्तिपिच्छे फरक धारणा भेटिन्छन् । मूलत: महिलालाई खुसी पार्ने कुरा के ? भन्ने प्रश्नको उत्तरमा आमधारणा स्वतन्त्रता भन्ने आउन सक्छ तर हर दृष्टिकोणले स्वतन्त्र महिलालाई खुसी पार्ने कुरा के हो त ?

मनले चाहेको कुरा कुनै बाधा–व्यवधानबिना गर्न पाउनु अथवा शतप्रतिशत अधिकार प्रयोग गर्न पाउनु ? खुसीको सीमा, मापदण्ड र परिभाषा व्यक्तिको आर्थिक, सामाजिक, राजनीतिक तथा बौद्धिक स्तरअनुरूप फरक र अलग हुने गरेको पाइन्छ । यसलाई प्राप्त गर्ने बाटो भने केही हदसम्म उस्तै देखिन्छ । पूर्वीय समाज जहाँ हिन्दूत्व र पुरुषत्वलाई विशेष महत्व दिइन्छ, यस्तो ठाउँका हामी नारी खुसी हुन नसक्नुका थुप्रै सामाजिक, सांस्कृतिक एवं सांस्कारिक कारण छन् ।

पूर्वीय समाजमा जन्मदेखि मृत्युसम्म महिलाले गर्नुपर्ने व्यवहार एवं क्रियाकलापभित्र यस्ता थुप्रै कार्य छन् जसले महिला हुनुकै कारण यो गर्न नपाएको वा यो गर्नैपरेको अनुभूति गराउँछन् । हाम्रो हुर्काइ–बढाइ, आफू वरिपरिको वातावरण, सोच्ने तौरतरिका आदि कुराले यो विषयमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । चर्को घाममा आगो दन्काएर फुटपाथमा मकै पोल्न बसेकी महिलालाई तपाईं के कुरामा खुसी हुनुहुन्छ ? भन्ने प्रश्न गर्दा यस्तो उत्तर आयो–यो चर्को घाममा आगोको ज्वाला जति ठूलोदन्किन्छ मलाई त्यति नै खुसी लाग्छ । आगो निभाउनुपर्‍यो भने के काम ? पोलेका मकै खाने ग्राहकको जति ठूलो भीड लाग्छ त्यति नै आगो दन्काउनुपर्छ, जति आगो दन्कियो व्यापार त्यति नै बढ्छ र मलाई खुसी लाग्छ ।

यसैगरी निर्णायक तहमा बसेकी अर्की महिलाको खुसीसम्बन्धीधारणा यस्तो रह्यो–आफूले गरेको कामको सही परिणाम आउँदा खुसी लाग्छ । आफ्नो नेतृत्वमा गरिएका निर्णयले सफलता प्राप्त गर्दाको क्षण मेरा लागि असीम खुसीको क्षण हो । एउटी गृहिणीलाई परिवारसँग समय बिताउँदा वाघुमघाममा निस्कदा खुसी मिल्ला भने एउटी खेलाडीलाई स्वर्णपदक हात पार्दा खुसी मिल्नसक्छ । जो, जहाँ, जसरी खुसी भए पनि महिलालाई खुसी तुल्याउने केही अन्तर्राष्ट्रिय मापदण्ड छन् जसले समग्र महिलाको खुसी समेटेका हुन्छन् ।

महिला खुसीका संयन्त्र

समता

समता यस्तो एउटा विश्वव्यापी अवधारणा हो जसले महिला–पुरुषबीच मात्र नभएर फरक क्षमता भएका महिला र आम महिलाबीचको दूरीलाई समेत कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यो समानताभन्दा फरक विषय हो । इक्युटी र इक्वालिटीबीचको फरकलाई यसरी हेरिएको छ–समताले हरेकलाई सफल हुन दिने काम गर्छ भने समानताले हरेकलाई सफल हुनका लागि व्यवहार मात्र गर्ने काम गर्छ । जस्तो कि समतामूलक व्यवहारमा हिल लगाएकी केटी र स्पोर्ट शु लगाएको केटालाई उत्ति नै समय, उही दूरी र उस्तै चालमा दौडाएर समान दूरीको कुनै खम्बा छुन लगाइँदैन बरु केटीलाई पनि स्पोर्ट शु प्रदान गरिन्छ । समान हैसियत बनाइसकेपछि मात्र प्रतिस्पर्धामा उतारिन्छ जसले महिलालाई सफल हुन केही हदसम्म सघाउँछ र महिलामा खुसी थप्छ ।

समानता

हरेककाबीच विभेदरहित व्यवहार नै समानता हो । समानताले समान परिणाम खोज्छ । यसले सामान्यदेखि निर्णायक तहसम्म महिला–पुरुष दुवैको समान सहभागितामा जोड दिन्छ । यसले मिथ, परम्परागत मूल्य–मान्यता, संस्कार–परम्पराभन्दा माथि उठेर समग्रलाई मानव जातिका रूपमा व्यवहार गर्न उत्प्रेरित गर्छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा असमानताका कारण ठूलो संख्यामा महिलाहरू मनोविषादतर्फ अग्रसर भैरहेका समाचार सार्वजनिक भैरहन्छन् । समान व्यवहारद्वारा महिलामा हौसला पैदा हुन्छ । महिलालाई खुसी तुल्याउने यो बलियो अस्त्र वुमन हेप्पिनेसको एउटा दर्‍हो संयन्त्र हो ।

शिक्षा

खुसी हुनका लागि सर्वप्रथम खुसी पहिचान गर्नु जरुरी छ । म के कुरामा सुखानुभूति गर्छु ? मभित्र के त्यस्तो चुरो कुरा छ जसले मलाई प्रसन्न बनाउँछ ? यसको पहिचान गर्न सर्वप्रथम आफैभित्र आफूलाई चिन्न सक्ने खुबी हुनु जरुरी छ । यो कुराले चेतनालाई बाहिर ल्याउँछ । व्यक्तिलाईशिक्षाले सचेत बनाउँछ । शिक्षा यस्तो एउटा बलियो आधार हो जसले आफू र आफूभित्रको क्षमता पहिचान गरी त्यसलाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेल्छ । शिक्षाले आफूलाई कमजोर र दु:खी तुल्याउने कुरालाई नकार्न सक्ने शक्ति प्रदान गर्छ । एजुकेसन फर अलको नारा यसै गुन्जिएको होइन । महिलालाई शिक्षित बनाउन सके महिलाको खुसी त्यहीँबाट सिर्जना हुन्छ ।

कानुन

कानुन एउटा दर्‍हो संयन्त्र हो जसको आडमा मानिसले आफूलाई खुसी राख्ने थुप्रै काम र निर्णय गर्न सक्छन् । महिलाका विषयमा मात्र कुरा गर्दा कानुनले सुनिश्चित गरिदिएका सकारात्मक अधिकारको सही प्रयोग र उपयोग गर्दै कतिपय महिला विभेद, हिंसा, भेदभाव तथा हेयभावको दलदलबाट उन्मुक्ति प्राप्त गरी बाँकी जीवन खुसी साथ बिताइरहेका छन् । जुन मुलुकमा महिलामैत्री कानुन छ त्यहाँका महिलाहरूको खुसी दर उच्च रहेको एउटा शोध केही समयअघि मात्र सार्वजनिक भएको थियो ।

स्वरोजगार

आर्थिक स्वतन्त्रता यस्तो बलियो आधार हो जसले महिलालाई आत्मनिर्भर बनाई उनीहरूको स्वनिर्णय क्षमता बढाउँछ । आर्थिक रूपले सम्पन्न महिलामा निर्णायक क्षमता आमको तुलनामा धेरै प्रतिशत माथि रहेको प्रमाणित भैसकेको छ । रोजगारीले महिलासँग वित्तीय सरोकार मात्र नराखी उनीहरूको व्यक्तित्व तथा क्षमता अभिवृद्धिमा समेत प्रत्यक्ष सरोकार राख्छ । स्वरोजगार नारीमा यसै पनि आफ्नै नेटवर्किङ तथा सर्कल हुन्छ जसले उनलाई हरदम साथ दिइरहेको हुन्छ । महिलाहरू जति बाहिरी वातावरणमा घुलमिल हुन पाउँछन्, आफ्ना कुरा सुनाउन र अरूका सुन्न पाउँछन् त्यति नै एकांकीपनबाट टाढा रही खुसी प्राप्त गर्छन् ।

स्वतन्त्रता

पूर्वीय मुलुकका महिलाहरूसँग तपाईंलाई के कुराले खुसी बनाउँछ भन्ने प्रश्न सोध्दा पाइने साझा जवाफ हो–स्वतन्त्रता । हाम्रा धर्म–संस्कार, रीति–रिवाज एवं चालचलनमा पुरुष सर्वेसर्वा हुन्छन् । हाम्रो सामाजिक मान्यताका कारण महिलाहरू आफूलाई बाँधिएको अनुभूति गर्न बाध्य छन् ।स्वतन्त्रता उपभोग गर्दा जति खुसी प्राप्त हुन्छ त्यो सायदै अरु केहीबाट प्राप्त हुन्छ । यसर्थ पश्चिमा विकसित मुलुकमा समेत महिला खुसी हुने महत्वपूर्ण अस्त्रस्वतन्त्रता भन्ने निष्कर्ष त्यसै निकालिएको होइन ।

स्वास्थ्य

स्वस्थ महिला हरेक कुराका लागि तयार हुन सक्छिन् । शिक्षा, रोजगारी, फेसन, सौन्दर्य, समता, समानताजस्ता कुरा उपभोग गर्न सक्ने हुनका लागि पनि महिला स्वस्थ हुनु जरुरी छ । अस्वस्थ महिला शारीरिक पीडाका कारण मात्र नभएर मानसिक रूपमा समेत विचलित हुन्छन् । रुन पनि कठिन हुने अवस्थामा खुसीको कल्पना कहाँ होस् ? एउटी नारी खुसी रहन स्वस्थ हुनु अनिवार्यजत्तिकै छ ।

सौन्दर्य

नारी प्रकृतिका सुन्दर उपहार हुन् । संसारभर नारीलाई सौन्दर्यको पर्याय नै मानिन्छ । कुनै न कुनै रूपमा तथा कुनै न कुनै कोणबाट सबै महिला सुन्दर हुन्छन् । सौन्दर्यको परिभाषा तथा त्यसलाई मापन गर्ने यन्त्र अमूर्त भए पनि सुन्दर नारीले आफू मात्र होइन वरिपरिका सबैलाई खुसी बनाइरहेकी हुन्छिन् । त्यसमा पनि विभिन्न प्रसाधनको प्रयोगद्वारा देखाइने कलाले नारी सौन्दर्यमा सुगन्धको काम गर्छ । महिला आफूलाई खुसी राख्न सुन्दर रहनु अत्यन्त आवश्यक छ ।

फेसन

राम्रो पहिरनमा सजिएर हिँड्दा कसलाई खुसी नलाग्ला? अहिलेको आधुनिक जमानामा फेसन पनि वुमन हेप्पिनेसको एउटा टुल्स हो । नमिलेको, फोहोरी पहिरनमा जति असजिलो महसुस हुन्छ, चिटिक्क मिलेको, शरीर सुहाउँदो अनि सफा पहिरनमा उत्तिकै जाँगर पैदा हुन्छ । फेसनेबल भएर हिँड्दा फरक किसिमको तरंग पैदा हुन्छ भने मन पनि खुसी रहन्छ ।

कसरी प्राप्त हुन्छ दीर्घकालीन खुसी ?

राम्रोका लागि नराम्रोलाई छोडिदिनुस्

जीवन हो सधैं राम्रै मात्र भैरहन्छ भन्ने छैन । जीवनका उतारचढावमा सुख–दु:ख आइरहन्छन् । दु:ख पर्‍यो भन्दैमा त्यसैमा घोत्लिएर समय बर्बाद गर्नु मूर्खता हुन्छ । जीवनका हरेक पल सुनौला छन् भन्ने यथार्थलाई स्वीकार गर्दै त्यस्ता चुनौतीलाई सहज रूपमा लिनुपर्छ । केबुझ्नुपर्छ भने जीवनका थुप्रै रंग आफैलाई कुरिरहेका छन् जसले आफ्नो जीवनमा असीमित खुसी ल्याउनेछन् ।

जीवनशैली परिवर्तन

एकै किसिमको जीवनशैलीले कतिपयलाई दिक्क बनाइहेको हुनसक्छ । आमको तुलनामा खास केही गर्नुहोस् जसले आफूलाई थप ऊर्जा र प्रेरणा मिलोस् । कहिल्यै नगरेका राम्रा काम गर्ने प्रयास गर्नुहोस् । जीवनलाई फरक कलर दिनुहोस्जसले तपाईंमा थप खुसी ल्याउनेछ ।

नयाँका लागि ठाउँ भने छुट्याउनुहोस्

हिजो के भयो ? भोलि के हुन्छ ?त्यसैमा चिन्तित भएर समय बर्बाद नगर्नुहोस् । समय अमूल्य छ । हरेक क्षणको महत्व तब मात्र थाहा हुन्छ जब मानिस मृत्युको नजिक पुग्छ, त्यतिबेला पश्चाताप गर्ने बाटो राख्नुहुँदैन । सदैव वर्तमानमा केन्द्रित हुन सके जीवन सुखद् हुन्छ । भोलि गर्ने नयाँ कामका लागि पनि जीवनको एउटा स्थान भने छोड्नैपर्छ जसले आफ्नो जीवनमा खुसी थप्छ ।

सक्रियता

आफूलाई सधैं चलायमान राख्दा खुसी मिल्छ । निस्क्रिय जीवनमा दिक्दारीपन, निराशा, मनोविषादजस्ता समस्या उत्पन्न हुन्छन् । अध्ययन, करियर, रोजगारी तथा घरायसी कामका अतिरिक्त फुर्सदमा घुमघाम, साथीभाइ भेटघाटजस्ता कुरामा अघि बढ्न सकियो भने अन्य कुरा सोच्ने फुर्सदै हुँदैन । सक्रिय जीवन बिताउनेहरू खुसी साथ लामो समय बाँचेको पनि हामीले सुन्दै आएका छौं ।

हरेक रुखको पछाडि बाघ हुँदैन

हरेकलाई शंकाको दृष्टिकोणले हेर्न थालियो भने आफैंलाई दु:ख हुन्छ । हरेक मानिस गलत हुँदैनन् । यदि तपार्इं रुखको छहारीद्वारा शीतलता चाहनुहुन्छ भने रुख पछाडि बाघ लुकेको छ कि भनेर शंकामै अल्मलिनुभयो भने त्यसको शीतलता कहिल्यै अनुभव गर्न पाउनुहुन्न । तसर्थ व्यवहार गर्दा विश्वास गर्ने र विश्वासिलो बन्न सके कहिल्यै दु:खी हुनु पर्दैन ।

यथार्थवादी

फेन्टासी वल्र्ड अत्यन्तै सुन्दर र आरामदायक लाग्छ तर क्षणभरका लागि मात्र । कल्पनाको संसारमा सयर गर्ने मानिस आँखा चिम्लदाबाहेक अरू समयमा सधैं दु:खी हुन्छ । कल्पनाशील हुनु नराम्रो होइन तर कल्पनाको संसारमै मात्र डुबिरहनु हानिकारक हुन्छ । तपाईं जति यथार्थवादी हुन सक्नुहुन्छ उति आफूलाई शक्तिशाली महसुस गर्नुहुन्छ जसले हरेक काम गर्न सक्ने आँट पैदा गर्छ ।

सकारात्मक सोच्ने मात्र होइन आफैंमा लागू गर्नुहोस्

सकारात्मक सोचले खुसी पैदा गर्छ भनिन्छ तर सकारात्मक सोच राखेर मात्र खुसी प्राप्त हुँदैन । खुसी र सफलताका लागि यसलाई आफूमै लागू गर्नु जरुरी छ । सकारात्मक सोच राख्ने मात्र होइन यसलाई आफ्नो जीवनमा कार्यान्वयन गर्न सके र यसको प्रभाव अरूमा पनि छोड्न सके आफ्नो जीवन उल्लासमय त हुन्छ नै आफ्ना र वरिपरिकाहरूलाई पनि खुसी राख्न सकिन्छ ।

सधैं उत्तम छनोटमा जानुहोस्

जीवनमा हरेक कुरा एकै पटक गर्न सकिँदैन तर गर्नुपर्ने कामथुप्रै हुन्छन् । आफ्नो काम, करियर, अध्ययन, रमाइलो गर्ने समयजस्ता कुरालाई क्रमिक रूपमा प्राथमिकतामा राख्नुपर्ने हुन्छ । यसरी प्राथमिकता छुट्याउँदा सधैं उत्तम छनोट गर्नुपर्छ जसले आफ्नो जीवनमा खुसी भर्छ ।

थप खुसीका लागि…

आफूलाई विश्वास गर्नुहोस्

म को हुँ र मभित्र के–कस्तो क्षमता छ ? भन्ने कुराको पहिचान आफैंले गर्न सकियो भने खुसी मिल्छ । आफूलाई चिन्नु नै खुसीको मार्ग पहिल्याउनु हो ।

आफूलाई बढी जटिल नबनाऔं

आफूले आफैंलाई बढी सिरियस बनाउँदा दु:ख हुन्छ । आफूलाई फेक्जिबल राख्नुहोस् ताकि जटिलताको गाँठो अझ बलियो नहोस् र यसलाई सहजै फुकाउन सकियोस् ।

स–साना कुरामा रमाउन सिक्नुहोस्

खुसी प्राप्तिका लागि ठूला योजना–परियोजना कुरेर नबस्नुहोस् । स–साना कुरामा पनि रमाइलो मान्ने बानी बसालेको खण्डमा खुसीको नजिक पुग्न कठिन हुँदैन ।

नारी पनि केयरिङ चाहन्छिन्

महिलाको केयरिङ नेचर अरूका लागि मात्र बढी काम लाग्छ । यद्यपि आफूले आफैंलाई केयर गरेर हेरौं त्यसपछि थाहा हुन्छ जीवन कति सुन्दर छ । त्यसपछि बाँच्नुको अर्थ र महत्व थाहा हुन्छ अनि जीवन पनि खुसीसाथ बित्छ ।

सन् १९७० मा अमेरिकामा स्टेभेन्सन र ओल्फरद्वारा गरिएको एक शोधले भन्छ–अमेरिकी महिलाको जीवन पुरुषको तुलनामा ५० प्रतिशत बढी सन्तुष्टि छ । सन् १९७० देखि २००५ सम्मको ३५ वर्षबीच अमेरिकामा यौनसँग सम्बन्धित विभेदकारी कानुन खारेज गर्नेदेखि लिएर वैवाहिक बलात्कार, कानुनमा महिलाको पहुँचलगायत रोजगारी तथा समान तलबका कुरामा महिलामैत्री नीति कार्यान्वयनमा ल्याइयो जसले महिलालाई खुसी बनाउन महत्वपूर्ण भूमिका खेले ।

– द सिड्नी मोर्निङ हेराल्डको सन् २०१५, जुलाई १५ को अंकमा लुसी बेट्र्सबी लेख्छिन्–मेरो १० वर्षे अध्ययनमा अस्ट्ेरलियाका विवाहित दम्पतीमध्ये महिला बढी असन्तुष्ट भएको देखियो । ३१ हजार व्यक्तिबीच गरिएको उक्त सर्वेक्षणमा जब महिलाहरू शारीरिक सन्तुष्टि चाहन्छन् उति नै बेला पुरुष कोअपरेटिभ नहुने तथा धूम्रपान गर्नेहरू नगर्नेसँग सहकार्यमा नजानेसम्म देखियो । सोही अनुसन्धानले ४० देखि ५० वर्ष उमेरका महिला १८ देखि २९ वर्षका महिलाको तुलनामा बढी असन्तुष्ट रहेको देखाएको छ ।

– जाईकाको एक अध्ययनले २८ सेप्टेम्बर सन् २००६ मा सरकारद्वारा पारित लैङ्गिक समानता नीतिअन्तर्गत वैवाहिक बलात्कार, सम्पत्तिको अधिकार, लैङ्गिक विभेदजस्ता कानुनी प्रावधानलेनेपाली महिलालाई केही हदसम्म अधिकारसम्पन्न बनाएको तथ्य सार्वजनिक गर्‍यो । त्यसैगरी सन् २००२ को एघारौं संशोधन कानुनी रूपमा अझ बढी महिलामैत्री देखियो ।

– सन् २००५ को संयुक्त राष्ट्रसंघको रिपोर्टले महिलाको औसत आयु ० दशमलव ५१ अर्थात् ९९४ देखाएको छ भने पुरुषको १८६८ देखिन्छ ।

– ६१ प्रतिशत नेपाली महिला तथा ३९ प्रतिशत पुरुष घरेलु तथा साना उद्योग सम्बद्ध काममा आबद्ध छन् भने समग्रको ८० प्रतिशत महिला साना घरेलु उद्यमद्वारा आय आर्जन गर्छन् ।

– नेपालको हरेक तहको राजनीतिक नेतृत्वमा महिलाको उपस्थिति १० प्रतिशत देखिन्छ ।

– ४३ प्रतिशत नेपाली महिला कार्यस्थलमा दुव्र्यवहारको सिकार भएको महिला कानुन तथा विकास मञ्चको शोधले देखाएको छ ।

– ३३ दशमलव ५ प्रतिशत नेपाली युवती १५ देखि १९ वर्षको उमेरभित्र विवाह गरिसक्छन् भने यसमा पुरुषको संख्या ११ दशमलव ८ प्रतिशत मात्र छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार