अस्ट्रेलियाको फुटबल मैदानमा कुटाकुट प्रकरण: दुई क्लबका २२ जनालाई तीनवर्षसम्मको प्रतिबन्ध !

Loading...

अस्ट्रेलिया |

गोर्खा नेप्लीज कम्युनिटी लिग फुटबलको २० औं संस्करण अन्तर्गत तेश्रो स्थानको लागि भएको खेलमा हुलदंगा र कुटपिट गरेको अभियोगमा २२ जनालाई एक वर्षदेखि तीन वर्षसम्मको खेल प्रतिबन्ध लगाइएको छ ।

नेपाली समूदायको बेइज्जत हुनेगरी खेलको विषयमा मैदान बाहिर झडप गरेकाहरुलाई अधिकतम तीन वर्षसम्म जीएनसी कपमा सहभागी हुन पाउने छैनन् । यद्यपि, उनीहरुको व्यवहार सुध्रिएमा भने यो प्रतिबन्ध कम गर्न सकिने जीएनसीले जनाएको छ । यसरी कारवाही हुनेहरुमा तेश्रो चरणको लागि खेल खेलेको सिड्नीको सगरमाथा फुटबल क्लबका कोच विवेक गुरुङसहित १५ जना छन् । यस्तै अर्को फुटबल टिम सेन्ट जर्ज नेप्लीज क्लबका ७ जना छन् । २० वर्षदेखि सञ्चालित जीएनसी फुटबल लिग अष्ट्रेलियाकै सबैभन्दा पुरानो नेपाली फुटबल लिग प्रतियोगिता हो । यसको उपाधि होडमा रहेका सगरमाथा र सेन्टजर्ज फुटबल क्लब सेमिफाईनलमा पराजित भएर तेश्रो स्थानको भिडन्तका लागि आमने सामने भएका थिए ।

तीन वर्षको प्रतिबन्ध लाग्नेहरु अधिकांश झगडाको सूवातकर्ता भएको जीएनसीले जनाएको छ । आयोजक संस्थाले यस किसिमको हुलहुज्जतलाई रोक्न नसकेको भनेर आलोचना भएपछि जीएनसीले छानविन समिति बनाएको र छानविन समितिको प्रारम्भिक निष्कर्ष अनुसार यी व्यक्तिलाई कारवाही गरिएको पनि जीएनसीले स्पष्ट पारेको छ । उसले अझै पनि उक्त झडपमा संलग्नहरुको बारेमा अनुसन्धान जारी रहेको जनाएको छ । खेल चलिरहेको समयमा खेलाडीले फुटबलको मैदान छोड्न मिल्दैन । तर, ग्राउन्ड बाहिर भएको झडपलाई मिलाउने भन्दै र त्यसमा सहभागी बन्ने हिसाबले पनि अधिकांश खेलाडी मैदान बाहिर गएका थिए । यसरी मैदान छोड्ने खेलाडीहरुलाई एक वर्षको खेल प्रतिबन्ध लगाई अनुशासनको कारवाही गरिएको हो ।

एक वर्षको प्रतिबन्ध लाग्ने खेलाडीहरुमा सगरमाथा फुटबल क्लबका जर्सी नम्बर १ का सरल गुरुङ, जर्सी नम्बर २ लगाउने सुभन गुरुङ, जर्सी नम्बर ८ का दिलिप श्रेष्ठ, जर्सी नम्बर १५ का आशिष केसी, जर्सी नम्बर १६ का विराज बग्दाकोटी, जर्सी नम्बर १७ का सन्देश सुब्बा, जर्सी नम्बर १८ का सागर पुन, जर्सी नम्बर १९ का सविन गुरुङ, जर्सी नम्बर २० का विशान गुरुङ, जर्सी नम्बर २२ का प्रविन आले रहेका छन् । यस्तै सेन्टजर्ज नेप्लीज क्लबका जर्सी नम्बर ७ लगाउने अनुप पौडेल, जर्सी नम्बर ९ लगाउने सुरज बोहरा, जर्सी नम्बर २० लगाउने मिलन गिरी रहेका छन् ।

जीएनसीले यो झगडाको सुरुवातकर्ता र शारीरिक क्षति नै गराउने उद्देश्यले कुटाकुट गर्ने भनेर ३ वर्षको प्रतिबन्ध लगाइएकाहरुमा सगरमाथा फुटबल क्लबका कोच विवेक गुरुङ, जर्सी नम्बर २३ का खेलाडी नविन गुरुङ, जर्सी नम्बर १३ का खेलाडी उमेश गुरुङ, जर्सी नम्बर १० का खेलाडी आशिष गुरुङ, जर्सी नम्बर ७ का खेलाडी वियुष गुप्ता रहेका छन् । अर्कोतर्फ, सेन्ट जर्ज नेप्लीज क्लबका जर्सी नम्बर ५ का खेलाडी सचित शर्मा, जर्सी नम्बर १० का खेलाडी सुशान्त कुँवर, जर्सी नम्बर २३ का खेलाडी पदम जोशी र भेट्रान समूहका खेलाडी वीरेन्द्र श्रेष्ठ रहेका छन् । यसरी कारवाही गर्न सिफारिश भएका खेलाडीहरुलाई रिभ्यू गर्नका लागि २४ घण्टाको समय दिइएको जीएनसीका उपाध्यक्ष एवं स्पोर्टस कोअर्डिनेटर राजीव प्रधानले जानकारी दिए ।

एमएनटीभीसँग कुरा गर्दै प्रधानले भने, “हामीले प्रारम्भिक अनुसन्धानका आधारमा यो कारवाही गरेका हौं । नेपाली समूदायको शाखमा नै आँच आउने किसिमको गतिविधि त्यतिबेला भयो । त्यति नै बेला प्रहरीलाई खबर गर्ने विषयमा पनि सोचिएको हो तर दुबै टिमले माफी मागेपछि हामीले प्रहरीमा जानकारीसम्म दिएका छौं उजुरी नै भने गरेका छैनौं ।”

उनले थपे,”त्यहाँ हामीले हेर्दाखेरी झगडा सुरु भएको चाहीँ मैदानभन्दा बाहिर सिनियर खेलाडी र कोचहरुको बिचमा पाइएको छ । खेलमा गरेको गल्तीका लागि दुबै पक्षलाई यल्लो कार्ड दिइसकेको अवस्थामा बाहिर गाली गलौज र कुटाकुट भएको थियो । केही समस्या भए आएर आयोजकलाई भन्नुपर्नेमा उनीहरु उनीहरु मुक्कामुक्कीमा उत्रिएका कारण यो अवस्था आयो । केहीले झगडा छुट्याउन मैदान बाहिर गएको भनेका छन् । प्रमाण जुटेपछि त्यस्ताको कारवाही फिर्ता लिन्छौं ।” यस विषयमा अष्ट्रेलियामा नेपाली फुटबलको साझा संस्था एन्फाले के निर्णय गर्ने यो भने हेर्न बाँकी छ ।

फ्यूजन स्पोर्टसले गरेको लाईभमा कुटाकुटको दृश्य यस्तो देखिन्छ (Please , watch at 02:11:13)

20th Annual GNC Sheild, Live from Sydney Australia.

Gepostet von GoalNepal.com am Samstag, 23. März 2019

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार