गतिहीन नेकपा र मुद्दाविहीन कांग्रेस

– बिर बहादुर गिरी

वर्तमान राजनीतिक अवस्था हेर्दा मुलकका दुई ठूला शक्ति गतिहीन र मुद्दाविहीन देखिन्छ । २०७४ को आमनिर्वाचनपछि स्थापित पहिलो र दोस्रो शक्तिको यो स्थितिले देशमा परिवर्तन र राष्ट्रियताविरोधि शक्तिले विखण्डन र प्रतिगमनको सपना देख्न थालेका छन् । यद्यपि यस्तो सपना नेपाली जनताको आजको आधुनिक राजनीतिक चेतनाले आत्मसात अवलम्बन गर्ने सम्भावना छैन । तर देशका प्रमुख राजनीतिक शक्तिको गतिहीन र मुद्दाविहीन अवस्था भने देश र जनताका लागि प्रतिउत्पादक मान्नै पर्छ ।

संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा दुईतिहाइ जनमत प्राप्त नेकपा अहिले राजनीतिकरुपमा गतिहीन अवस्थामा छ । जनताले राजनीतिक स्थायित्व र आर्थिक सामाजिक परिवर्तनका लागि निर्वाचनमा नेकपाको पक्षमा जनमत जाहेर गरेका हुन् । पार्टी राजनीतिकरुपमा गतिहीन हुँदा जनमतको सम्मान होइन अपमान हुँदै गएको छ । अब नेकपा कांग्रेसको विकल्प मात्र होइन, राष्ट्रको पहिलो राजनीतिक शक्ति हो । नेकपाका सामु सरकार सञ्चालन गर्ने होइन, देश निर्माणको नेतृत्व गर्ने अभिभारा नेपाली जनताले सुम्पेका छन् । तर अहिलेको राजनीतिक गतिहीनताले सरकारले अघि सारेको सुखी नेपाली र समृद्ध नेपालको नारा नै कसरी पूरा गर्न सम्भव छ नेकपाका लागि ।

– बिर बहादुर गिरी

कतिपय नेकपाका माथिल्लो तहका नेताले नै पार्टी र सरकारलाई अलग राखेर अभिव्यक्ति दिने गरेका छन् । यो त व्यक्तिगत मनोकांक्षा मात्र हो, जनताको मनोविज्ञानमा नेकपा र वर्तमान सरकारलाई अलग देख्ने दृष्टिकोण छैन । पार्टीको सुस्तताले जनताको मनमा होइन नेकपाका नेता कार्यकर्ताको मानसपटलमा समेत गम्भीर प्रश्न खडा गरेको छ । अहिले पार्टी एकीकरण प्रक्रिया कछुवा गतिमा रहनुले नेकपाका लागि मात्र होइन सिङ्गो राष्ट्र र ठूलो बलिदानीबाट प्राप्त राजनीतिक व्यवस्थाको संस्थागत विकास पनि गतिहीन अवस्था सिर्जना हुन थालेको छ । जसको प्रभाव समग्र नेपालको विकास प्रक्रिया देखिएको छ । पार्टी एकीकरणको प्राविधिक प्रक्रिया चाँडो सकेर नेता कार्यकर्ताबीच भावनात्मक सम्बन्ध विस्तार गरी एकीकृत संगठन परिचालन गर्न नसके जनतामा रहेको नेकपाप्रतिको राजनीतिक बुझाइ र विश्वास पनि खण्डित हुँदै जाने पक्का हो ।

नेता कार्यकर्ताबीचको भावनात्मक एकताले नै जनतामा रहेको पार्टीप्रतिको भरोसा र विश्वास बलियो बनाउने हो । नेताहरुको आफ्नै खण्डित मनोदशाले जनताको भरोसा र विश्वास थाम्न र बोक्न सम्भव हुँदैन । पार्टी एकीकरण प्रक्रिया ढिलाइले क्रमशः जनविश्वास टुक्रँदै र खस्कँदै गएको नेकपाले समयमा बुझ्न नसके भोलि परिवर्तनका विरोधीहरु अँध्यारो कुना र मसानघाटबाट धावा बोल्ने छन् । यसको अपजस मूलतः नेकपाले लिनुको अर्को विकल्प रहने छैन । तसर्थ निर्वाचनबाट प्राप्त जनमत सम्मान गर्दै भावी जनअपेक्षा खोजी गरेर सरकार सञ्चालन, पार्टी परिचालन नेकपाको अभिभारा हो । अहिले नेकपाको राजनीतिक गतिहीनताले चौतर्फीरुपमा विखण्डनकारी र प्रतिगमनकारीलाई आत्मरतिमा रमाउने अवसर सिर्जना गरेको छ ।

सत्ता सञ्चालन गर्ने पार्टी आफैँमा गतिहीन हुँदा सरकारले लिएका लक्ष्य स्वाभाविकरुपमा पूरा गर्न कठिन हुन्छ । आज तल्लो तहसम्म नेकपाले पार्टी संयन्त्र निर्माण गर्न नसक्दा सत्ता सञ्चालनमा अराजकता र अकर्मण्यता सिर्जना हुँदै जान थालेको छ । निर्वाचित जनप्रतिनिधिलाई राजनीतिकरुपमा नियन्त्रण, निर्देशन र पार्टीको नीतिअनुरुपमा चलाउने निकाय नहुँदा जनताले कांग्रेस र कम्युनिष्टबीच भिन्नता भुल्दै जान थालेका छन् । चुनावका बेला जनताबीच कांग्रेस भन्दा कम्युनिष्टले भिन्न र जनपक्षीय ढंगले सत्ता सञ्चालन गर्छ भनी गरेको प्रतिवद्धता उदांगिदै गएको छ । जनताले बुझेको कांग्रेस र कम्युनिष्टबीचको सैद्धान्तिक, दार्शनिक र राजनीतिक भिन्नता जनप्रतिनिधिहरुले व्यवहारिक अनुभूति दिलाउन सक्नु पर्छ । आज त्यो हुनसकेको छ कि छैन ? नेकपाका लागि समीक्षा र योजना निर्माणको विषय हो । तर लाखौँ नेता कार्यकर्ता आफैँ अन्योल र अलमलमा परेका छन् । प्रभावकारी सरकार सञ्चालन, जुझारु संगठन निर्माण तथा गतिशील जनपरिचालन गर्न नेकपाले किन सकेको छैन ?

आम नेपाली जनता यही प्रश्नको उत्तर खोजिरहेका छन् । व्यवस्थितरुपमा राज्य सञ्चालन गर्न गतिशीलरुपमा पार्टी परिचालन अनिवार्यता हुन्छ । यो अहिले नेकपाले गर्न नसकेको यथार्थ पक्ष हो । अब नेकपाले पार्टीे एकीकरणका सम्पूर्ण काम अविलम्ब सकेर संगठन परिचालनमा आम जनतालाइ गोलबद्ध गरी राष्ट्रिय समृद्धि यात्रालाई फराकिलो बनाउनु जरुरी छ । आजको गतिहीनताले भोलिको राजनीतिक पतन बाटो खोल्न सक्छ । नेताको होइन पार्टीको राजनीतिक भविष्य सुरक्षित गर्न र जनताको आर्थिक सामाजिक परिवर्तनको सपनालाई पूरा गर्न नेकपाले राजनीतिक गतिशीलता बढाउनै पर्छ । आज देशी विदेशी शक्तिकेन्द्र नेकपाभित्र विग्रहको सूत्र खोज्दै छन् । यस्तो सूत्रको अभ्यासकर्ता पार्टी भित्रबाटै जन्माउने अनेकन प्रयास जारी छन् । सबै षड्यन्त्र र योजना बिफल बनाउन नेकपाले राजनीतिक गतिहीनता चिर्दै अगाडि बढ्न सके वर्तमान मात्र होइन, भावी नेपालको मूल राजनीतिक शक्ति नेकपा नै हो ।

अर्को राजनीकि शक्ति नेपाली कांग्रेस इतिहासमा सबभन्दा कमजोर सावित भएको छ । पछिल्लो चुनावको परिणामले मात्र होइन, आजको भूमिकाले पनि कांग्रेस कमजोर भएको सावित गरिसकेको छ । इतिहासको ब्याज उठाएर कांग्रेस अगाडि किमार्थ बढ्न सक्दैन । निर्वाचनमा जनताले बहिष्कृत गरेका मुद्दा बोकेर अहिले पनि कांग्रेस सदनमा रमाइरहको छ । चिकित्सा शिक्षा विधेयक पारित गर्दा सदन अवरुद्ध गर्न पुगेको कांग्रेस आफ्ना नेताका नाममा नामाकरण गरिएका दुई अस्पताल संघीय सरकार मातहत राख्ने सहमतिमा सदनको अवरोध हटाउनुले उसको राजनीतिक हैसियत प्रष्ट भएको छ । समयसापेक्ष मुद्दा बोक्न र खोज्न नसकेर कोही व्यक्तिका व्यक्तिगत लहड र रहर बोकेर बेलाबेलामा सदनमा रमिता देखाउँछ, अनि सडकमा उपस्थिति जनाउँछ । सदनमा कमजोर सावित कांग्रेस सडक पनि पातलो हुँदै जानुको विकल्प छैन ।

राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न नसकेको कांग्रेसका लागि जनताका बीचमा न हिजोको दावी विश्वासिलो छ, न भोलिको आश्वासन । यस्तो हालतमा कांग्रेस उभिएको छ । परिवर्तित सन्दर्भमा कांग्रेसले पार्टीको संरचना व्यवस्थितरुपमा संघीय ढाँचामा रुपान्तरण गर्न नसकेर नीति र नेतृत्व दुवै स्खलित हुँदै गएको छ । महासमितिको बैठकमा पनि परिवर्तित राजनीतिक व्यवस्थाअनुरुप नयाँ मुद्दामा बहस नभएर धर्मनिरपेक्षता र हिन्दूत्वको बहस हुनु कांग्रेसका लागि सुखद विषय हुन सक्दैन । लोकतन्त्रलाई आदर्श ठान्ने कांग्रेस अहिले राजनीतिकवादको बहसमा भन्दा संविधानवादको विश्वासमा उभिनु पर्ने हो तर लर्बराइरहेको छ ।

अबको राजनीतिक कार्यभार आर्थिक समृद्धि नै हो । यसतर्फ कांग्रेस वृत्तमा कतै बहस र छलफल भएको देखिँदैन । सरकारको आलोचना गरेर मात्रै आर्थिक समृद्धिाको यात्रामा कांग्रेस कसरी हिँड्न सक्छ ? जुन सम्भव छैन । यस्तो परिवेशमा परम्परागत कांग्रेसको जनआधार भत्किएको छ । तर नयाँ जनआधार निर्माण गर्ने राजनीतिक मुद्दा र दृष्टिकोण कांग्रेससँग छैन । पुराना मुद्दा र दृष्टिकोणबाट कांग्रेस हिजोसम्म सफल भएकै हो । तर अहिलेको समय सान्दर्भिक मुद्दा र दृष्टिकोण निर्माणमा कांग्रेस पूर्णरुपमा चुकेको छ । सत्ता सञ्चालनमा असफल र अयोग्य सावित कांग्रेस जनताबीचमा नेकपापछि वैकल्पिक राजनीतिक शक्तिका रुपमा देखिन नसक्नुले नेकपा असफल र अयोग्य भए विकल्प के ? उत्तर आजको राजनीतिक व्यवस्थाको विकल्प नै हो । त्यो विकल्पकोे खोजी मसानघाटमा पुगेर हुन्छ ? या त नेपाल असफल राष्ट्र घोषणा यति पर नपुगे पनि आजको राजनीतिक व्यवस्था र यसका सञ्चालकप्रति जनताको अविश्वास र आक्रोश जन्मिए समाधान के ? नेपाली राजनीतिको प्रश्न यही हो ।

राजनीतिक गतिहीनताले जननिर्वाचित संस्था विस्तारै अलोकप्रिय र असक्षम बन्दै जाने खतरा बढेको छ । संघ, प्रदेश र स्थानीय तहको नयाँ राजनीतिक अभ्यासमा संघ निरंकुश, प्रदेश निरीह र स्थानीय तह अराजक बन्दै गएको देखिन्छ । तर संघात्मक राज्य व्यवस्थामा नियन्त्रण, सन्तुलन र समन्वयका आधारमा तीन तहका सरकारको अधिकार क्षेत्र निर्धारण हुन्छ । अभ्यासमा देखिएको अन्योलता राजनीतिक गतिशीलताको नियममा समाधान गर्नु पर्ने खाँचो झन बढेर गएको छ । सत्तापक्षको अहमता र प्रतिपक्षको हीनताले राजनीतिक सहमति, सहकार्य र एकताको अपरिहार्यता विस्तारै खस्कँदै गएको छ । परिवर्तनका साझेदार शक्तिको बेमेल राष्ट्रका लागि हितकर हुन सक्दैन ।

कुनै पनि मुलुकका लागि मुख्य राजनीतिक शक्ति गतिहीन र मुद्दाहीन हुनु राम्रो मानिदैँन । यस्तो राजनीतिक अवस्थामा वैदेशिक प्रभाव बढेर हस्तक्षेपमा रुपान्तरण हुने खतरा हुन्छ । आज प्रत्यक्ष वैदेशिक प्रभाव र हस्तक्षेप नदेखिए पनि प्रयास भएका छैनन् भन्न सकिन्न । कसैले यो यथार्थ गलत ठान्छ भने राजनीतिक बुझाइमा अल्पज्ञानी देखिनेछ । फेरि यही मौकामा देशभित्रका प्रतिगमनकारी र परिवर्तनविरोधीले खुलेआम वैदेशिक हस्तक्षेपलाई आमन्त्रण गर्छन् । हाम्रो जस्तो भर्खरै राजनीतिक संक्रमणकाल पूरा गरेको देशका लागि राजनीतिमा शुभ संकेत होइन । सत्ताधारी राजनीतिक पार्टीले जनविश्वास गुमाउँदा प्रतिपक्षले कमाउने हो तर आज नेपालको सन्दर्भमा प्रतिपक्ष झन कमजोर मुद्दाविहीन अवस्थामा छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार