एनआरएनए अलेन्तेजोको कार्यक्रममा नेपाली कृषि मजदुरहरुको पीडाको आवाज उठाउदा पत्रकारलाई ज्यान मार्ने धम्की : जर्नालिष्ट क्लब कानुनी उपचार लिन बाध्य हुने चेतावनी

Loading...

लिस्बन, पोर्तुगल ।

गैह्र आवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अलेन्तेजोको प्रथम अधिवेशन तथा नेपाली मेला आज सम्पन्न भएको छ । अधिवेशनले शिवभक्त वाग्लेको अध्यक्षतामा कार्यसमितिको चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा प्रवीण गिरी, उपाध्यक्षद्वयमा युवराज थापा र विक्रम घिमिरे, महिला उपाध्यक्षमा सिता थापा, महासचिवमा निरोज कार्की, सचिवमा नारायणप्रसाद भट्टराई, कोषाध्यक्षमा तोयानाथ कँडेल र युवा संयोजकमा शेखर गजुरेल निर्विरोध चयन भएका छन् । यसैगरी सदस्यमा काशीराम वन सन्यासी, दिनेशकुमार रिजाल, सञ्जय भोगी र अर्जुन सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनमा लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, पर्यटन बोर्डका एचपीआरआर रमेशकुमार गुरुङ, गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य नरेन्द्र हमाल, एनआरएनए अध्यक्ष कुबेर कार्की, एनआरएनए संस्थापक अध्यक्ष पूर्ण हमाल, उदेमिरा नगरपालिकाकी ताल्मा गिएरेइरु, अल्मोग्राभ लुङ्गेइरा जुन्ता फ्रिगेजियाकी प्रेजिडेन्ट मारिया ग्लोरिया, तापाजकी भाईस प्रेजिडेन्ट तेरेजा पारादासलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

परिषदका कार्यवाहक अध्यक्ष शिवभक्त वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तोयानाथ कँडेलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन तिलक गैरेले गरेका थिए । औपचारिक कार्यक्रम अगाडि पञ्चे बाजा र भजनकीर्तनसहित सहभागीहरु जाम्बुजेइराको परिक्रमा गरेका थिए । जम्बुजेइरा परिक्रमा गर्दा होली पनि खेलिएको थियो । तर सिर्जना गरिएका पदहरुमध्ये थप एकजना उपाध्यक्ष, एकजना सचिव, एकजना महिला संयोजक र एकजना सदस्य पदमा कसैको पनि उम्मेदवारी नपरेपछि रिक्त हाललाई राखिएको छ । औपचारिक कार्यक्रमपछि साँस्कृतिक कार्यक्रममा सुवासचन्द्र पुन मगर, भगवान भुजेल, जेवी ओली, पानु रोकालगायतले आफ्ना प्रस्तुति पस्केका थिए । गङ्गाराम कँडेलको स्वस्तिवाचनबाट कार्यक्रमको आरम्भ गरिएको थियो ।

कार्यक्रमलगत्तै ज्यान लिने धम्की :

कार्यक्रमको सिलसिलामा दर्जनौ सहभागीहरुले अधिकांश खेती मालिकहरुले सामाजिक सुरक्षा नम्बर निकाल्दा ३०० युरो र घरमा बसेको १५० युरो अग्रिम सङ्कलन गर्ने गरेका र बिना जानकारी कामबाट निकाल्ने गरेको शिकायत गरेका थिए । उनीहरुले यसपालीको एनआरएनए सदस्यता वितरण यिनै तीन चारजना खेती मालिकहरुबाट सङ्कलन भएको दावी गरे । उनीहरुले आफूहरुलाई सदस्य बन्ने र निर्वाचनमा सहभागी बन्न नदिएको गुनासो गरे । यस कुरालाई पत्रकार योगेन्द्रमिलन छन्त्यालले आयोजकसँग एक मिनटको समय माग गरी प्रष्ट्याएका थिए ।

प्रस्तुतिबाट रुष्ट पेनग्वीन कम्पनीका संचालक प्रल्हाद रिजालले फोनकल गरेर छन्त्याललाई मारिदिने धम्की दिएका छन् । नेपाली जर्नालिष्ट क्लब पोर्तुगलले निजलाई तत्काल माफि माग्न र सुध्रन अवसर दिने जनाएको छ । अन्यथा कानूनी उपचारमा लाग्ने चेतावनीसमेत दिएको छ । विज्ञप्तिको पूर्ण पाठ

प्रेस विज्ञप्ति !

पीडितहरुको आवाज उठाएकै भरमा मिडियाकर्मीहरुले कहिलेसम्म ज्यानमार्ने धम्की खानुपर्ने ?

नमस्ते नेपाली डटकमका सम्पादक तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्यालमाथि १६ मार्च, शनिवारका दिन राति फोनकल गरी दिईएको ज्यानमार्ने धम्कीप्रति नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगलको गम्भिर ध्यानाकर्षण भएको छ ।

गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलन्तेजो पोर्तुगलको प्रथम साधारण सभा तथा नेपाल फेस्टिभल को कार्यक्रममा पोर्तुगलमा खेतीमा काम गर्ने नेपाली मजदुरहरुको पीडाको बारेमा सरोकारवालाहरुको ध्यानाकर्षण गराएको बिषयलाई लिएर पेङ्गुइन युनिपेसोआल एलडीएका संचालक प्रल्हाद रिजालले गैर आवासिय नेपाली संघ पोर्तुगलका सदस्य राजकुमार मल्लको फोनमा कृषि मजदुरका आवाजहरु उठाए ज्यान मार्ने सम्मको धम्कि दिएका छन्।

आधुनिक समाजमा सामाजिक विसंगति बिरुद्ध बोलेको , पिडितहरुको आवाज उठाएकै भरमा र समाचार लेखेकै भरमा कुनै पनि संचारकर्मीमाथिको दुर्व्यवहार र धाकधम्की अति नै निन्दनीय कार्य हो । अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि औंला ठडाउने यस अशोभनीय घटनाको नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगल घोर निग्दा र भ्रर्त्सना गर्दछ ।

पत्रकार र मिडियाकर्मीहरुमाथि गरिने दुर्व्यवहार र ज्यानमार्ने धम्कीप्रति नसच्चिए नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगल कानुनी उपचार लिन बाध्य हुने चेतावनी समेत दिन चाहन्छ।

साथै यो निन्दनीय घटनाप्रति एन आर एन ए अलेन्तेजोका अध्यक्ष शिवभक्त वाग्ले र एन आर एन ए पोर्तुगलका अध्यक्ष कुबेर कार्की र खेती कम्पनीका नेपाली संचालकहरुको समेत ध्यानाकर्षण गराउदछौ ।

बिमत्ति भएका हरेक बिषयहरुमा छलफल र वार्ताद्वारा समाधान गर्न र भविष्यमा कोही कसैबाट पनि संचारकर्मीमाथि यस्ता निन्दनीय कार्य नदोहोरियोस् भनी नेप्लिज जर्नालिष्ट क्लब सरोकारवाला सबैलाई सचेत समेत गराउदछ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार