सुरक्षा निकायलाई सरकारको निर्देशन ” बन्दकर्तालाई सिधै गोली हान्नु “

काठमाडौँ।

सरकारले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशभर सुरक्षा सतर्कता बढाइएको छ । सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ । ‘चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनि गोली हान्नेसम्मको निर्देशन छ,’ एक प्रजिअले भने ।

बिनाहतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालाई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च निगरानी राख्न निर्देश छ । सरक्षाकर्मीलाई आफ्नो ज्यान, हतियार, कार्यालय, युनिटको सुरक्षा रणनीतिसहित सतर्क रहन भनिएको छ । एक डीएसपीका अनुसार हरेक जिल्लाका दुर्गम क्षेक्रमा सुरक्षा जनशत्ति बढाउने, गस्ती जारी राख्ने र विकास एवं सञ्चार संरचनाको सुरक्षामा विशेष सतर्कता राख्न निर्देशन छ । सामान्य कार्यकर्तालाई पनि पिछा गर्ने, बासस्थान निगरानी गर्ने र एक जिल्लादेखि अर्को छिर्ने सवारीमा समेत जाँच कडा पार्ने निर्देशन छ ।

स्रोतका अनुसार चन्द समूहका नेता–कार्यकर्तालाई पछ्याउने, तर्साउने र मनोवैज्ञानिक दबाबमार्फत वार्तामा ल्याउने सरकारको रणनीति पनि रहेकाले त्यसैअनुसारका गतिविधि गर्ने सुरक्षा निकायको आन्तरिक सर्कुलर छ । आन्तरिक सर्कुलरमा प्रहरीलाई एक जना मात्र बाहिर नहिँड्न, लामो गस्ती समूहमा हिँड्न, आफू जोगिएर फायर खोल्न भनिएको एक प्रहरी अधिकृतले बताए । प्रहरीका दुर्गमका सुरक्षा युनिटमा जनशक्ति बढाउनेदेखि आवश्यक परे सशस्त्र प्रहरीसँग पनि सहकार्य गर्न गृह मन्त्रालयको निर्देशन छ ।

रूपन्देहीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले ग्रामीण क्षेत्रका सुरक्षा युनिटलाई पनि आफैंमाथि हुन सक्ने आक्रमणका लागि तयारी अवस्थामा बस्न निर्देशन गरिएको बताए । ‘सबै निर्देशन र रणनीति तय गरिएको छ,’ उनले भने, ‘हामीले रातो बत्ती बालिसकेका छौं ।’ चन्द समूहका जिल्लास्थित सबै पार्टी कार्यालय, निवास एवं बासस्थान खाली भइसकेको प्रहरीले जनाएको छ । चन्द समूहविरुद्ध प्रहरीले प्रदेशभरि विभिन्न खालका अपरेसन सञ्चालन गर्न थालेको प्रदेश ५ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारीले बताए ।

‘सरकारले युद्ध घोषणा गर्यो

’सरकारले प्रतिबन्ध लगाएर शान्ति प्रक्रिया बिथोलेको चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले बताए । ‘सशस्त्र युद्धपछि सरकारले गरेको विस्तृत शान्ति सम्झौता अब भंग भयो,’ उनले भने, ‘सरकारले आफैं गृहयुद्ध घोषणा गरेको छ । सरकारको निर्णयलाई हामी खारेज गर्न चाहन्छौं । हामी आफैंले युद्ध गरेका छैनौं । सरकारले देश र जनतामाथि थोपरेको अन्यायपूर्ण युद्धको सशक्त प्रतिवाद गर्नेछौं ।’

‘सर्च एन्ड एरेस्ट अपरेसन’कालीकोट– कालीकोटमा प्रहरीले चन्द समूहविरुद्ध ‘सर्च एन्ड एरेस्ट अपरेसन’ सुरु गरेको छ । सरकारले चन्द समूहको गतिविधि नियन्त्रण गर्ने निर्णय गरेलगत्तै कालीकोट प्रहरीले मंगलबार राति जिल्लाको माल्कोट, कोटवाडा, मुम्रा, फुकोट, रेगिंललगायत ठाउँमा सर्च गरेको थियो । प्रहरी टोली बुधबार बेलुकी पनि सर्चका लागि गाउँ खटिएको छ । ‘नेतालाई लक्ष्य गरेका छौं, सानातिनालाई तत्काल समात्दैनौं,’ डीएसपी विनोद शर्माले भने । उनले स्थानीय जनप्रतिनिधिले चन्द समूहका नेता–कार्यकर्तालाई लुकाउने गरेको आरोप पनि लगाए ।

कालीकोट चन्द समूहका प्रवक्ता खडगबहादुर विश्वकर्माको गृहजिल्ला हो । समूहका जिल्ला नेताहरूले मोबाइल अफ गरेका छन् । अपरेसनपछि चन्द समूहले एक वर्षदेखि निर्माण गरिरहेको खुलालु–लालु–माल्कोट १४ किमि सडकको काम छाडेर कतिपय नेता भागेको डीएसपी शर्माले जानकारी दिए । ‘एक दर्जन जिल्ला नेताविरुद्ध जिल्ला प्रहरीमा मुद्दा छ,’ उनले भने ।

चन्द समूहले एक वर्षअघि यहाँका ९ वटै स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन चेतावनीसहित पत्र बुझाएको थियो भने भ्रष्टाचार आरोपमा कर्णाली रोजगार कार्यक्रमका इन्जिनियरलाई मोसो दलेको थियो । चन्द समूहले चन्दा आतंक चलाएको आरोप पनि छ ।
वडा कार्यालयमा विस्फोट

चितवन– भरतपुर महानगरपालिका–५ वडा कार्यालयमा मंगलबार राति विस्फोट भएको छ । विस्फोटमा संलग्न आशंकामा प्रहरीले चन्द समूहका कार्यकर्तासहित नौ जनालाई नियन्त्रणमा लिएको छ । सदरमुकामबाट ५ किलोमिटर दक्षिण–पश्चिम कैलाशनगरस्थित वडा कार्यालय भवनमा विस्फोट गराइएको हो । विस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।
चितवन प्रहरी प्रवक्ता डीएसपी दुर्गाराज रेग्मीले भने, ‘घटनालगत्तै शंकास्पद ६ जना पक्राउ परेका थिए, बुधबार दिउँसो थप तीन जना समातिए ।’ उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खाना पकाउन प्रयोग हुने एलपी ग्यास सिलिन्डर विस्फोट गराउँदा वडा कार्यालय भवनमा आगलागी भएर कागजपत्र जलेका छन् । विस्फोटपछि लागेको आगो दमकलले निभाएको थियो ।

निगरानीमा हरेक कार्यकर्ता

धनगढी– सुरक्षा निकायमा चन्द समूहको गतिविधिलाई नियन्त्रण गर्न उच्च सुरक्षा सतर्कता अपनाएको छ । प्रदेश र जिल्ला तहमा बसेका सुरक्षा समिति बैठकले चन्द समूहका सबै कार्यकर्तालाई निगरानी गर्ने र कुनै गतिविधिमा शंका लाग्नेबित्तिकै पक्राउ गर्ने निर्णय गरेका छन् । ‘जनपद, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरी परिचालन गरिएको छ,’ एक सुरक्षा अधिकारीले भने, ‘सेनाले पनि आन्तरिक रूपमा निगरानी बढाएको छ ।’

सीमा नाका, ग्रामीण क्षेत्र, राजमार्गलगायत क्षेत्रमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएको छ । सुरक्षा अधिकारीले सुदूरपश्चिममा २ सय बढीको संख्यामा युवादस्ता रहेको अनुमान गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले केही दिनअघि कृष्णपुर नगरपालिकास्थित अस्थायी क्रसर उद्योग र शुक्लाफाँटा नगरपालिकास्थित एनसेलको टावरमा आगजनी गर्नेहरूको पनि खोजी भइरहेको बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार