आईसीसी महिला विश्वकप क्रिकेटः थाइल्यान्डसँग नेपाल पराजित

Loading...

काठमाडौं– आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपाल आयोजक थाईल्यान्डसँग ५७ रनले पराजित भएको छ । बिहिबार भएको खेलमा १ सय २५ रनको लक्ष्य पच्छ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ६७ रनमा समेटिएको थियो ।

नेपालकी इन्दु बर्माले ३२ र सरिता रानामगरले १८ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा सात विकेटको क्षतिमा एक सय २४ रन बनाएको थियो । थाइल्यान्डका लागि चानिदा सिथुरुवाङले सर्वाधिक ३५ रन जोडिन् । नारुमोल चाईमाईले ३२ र वाङपाका लिङप्रार्सटले अविजित २८ रन बनाए । नटया बोचाथामले १२ रन बनाईन ।

बलिङमा नेपालकी नेरी थापा र कृष्णा कुवरले दुई दुई विकेट लिए । कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट झारेका थिए । यस हारले विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ । जितसँगै थाईल्याण्डले दुई खेलमा चार अंक बनाएको छ । नेपालको दुई अंक छ । पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो ।

एसिया छनोटमा नेपालसहित थाइल्यान्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ सहभागी छन् । राउन्ड रोबिन लिगको आधारमा हुने छनोट खेलको बिजेताले आईसीसी महिला टी–२० विश्वकप र एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार