विषाक्त मदिराबाट १०९ को ज्यान गयो , १७५ जना पक्राउ

लखनउ : नेपालसँग सिमाना जोडिएका भारतका दुई राज्य उत्तरप्रदेश र उत्तराखण्डमा विषाक्त मदिराबाट ज्यान गुमाउनेको संख्या १०९ पुगेको छ।

केही दिनको बीचमा १०९ जनाले ज्यान गुमाएपछि यी दुई राज्यका सरकारले कारबाही तीब्र बनाएका छन् । उत्तर प्रदेशको आबकारी विभागका अनुसार घटनालाई लिएर अहिलेसम्म २९७ वटा उजुरी दर्ता भएका छन् ।

उजुरीसँगै प्रहरीले अहिलेसम्म १७५ जनालाई पक्राउ गरिसकेको छ । यो घटना क्रममा लापरबाही गरेको पाइएपछि उत्तरप्रदेशको सहारनपुरमा १० जना पुलिसलाई निलम्वित गरिएको छ ।

यसका अलावा राज्य सरकारले विषाक्त मदिरा बेच्नेविरुद्ध राष्ट्रिय सुरक्षा कानुन (रासुका) लगाउने तयारी गरेको छ। ताजा विवरण अनुसार दुवै राज्यमा अहिलेसम्म १०९ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतकको संख्या सय भन्दा उकालो लागेपछि कडा नीति अपनाएको योगी आदित्यनाथको सरकारले प्रशासनमार्फत् अवैध मदिरा बनाउने र बेच्नेविरुद्ध १५ दिने अभियान नै थालेको छ ।

सहारनपुरमा अहिलेसम्म ३९ जना पक्राउ परिसकेका छन् । यहाँ मात्रै ३५ वटा उजुरी दर्ता गरिएको छ। सहारनपुरमा अवैध मदिराको भट्टीबाट ३६,१०० किलो मदिराको कच्चा पदार्थ, २५० लिटर स्थानीय मदिरा र ६० लिटर आयातित मदिरा बरामद भएको छ । एउटै सहारनपुरको १६ गाउँका कयौँ मानिस विषाक्त मदिराको शिकार भएका छन् ।

शनिवार मुख्यमन्त्री योगी आदित्यनाथले कडा कारबाहीको आदेश दिएका थिए । त्यसपछि अवैध मदिराविरुद्ध पूरै प्रदेशमा कडा अभियान चलाइएको हो । अवैध मदिराका भट्टीमा पुलिसले छापा मारिरहेको छ, यो अभियानको उत्तर प्रदेशका पुलिस महानिर्देशक (डीजीपी) ले निगरानी राखिरहेका छन् ।

यसैबीच सरकारले मृतकका परिवारलाई मुआब्जा दिने घोषणा गरेको छ। मृतकका परिवारलाई जनही २-२ लाख बिरामी परेकालाई उपचारका लागि जनही ५०-५० हजार रुपैयाँ दिने घोषणा योगी सरकारले गरेको छ।

विषाक्त मदिराका कारण दुवै राज्यमा १०९ जनाको ज्यान गएको हो । उत्तर प्रदेशमा ७७ र उत्तराखण्डमा ३२ जनाको मृत्यु भएको हो । उत्तराखण्डको रुडकीमा अहिलेसम्म ३२ जनाको ज्यान गइसकेको छ। अर्कातिर युपीको सहारनपुरमा ६९ (सहारनपुरमा ४६ र मेरठमा २३) र कुशीनगरमा ८ जनाको ज्यान गएको खबर छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार