हामी नेता खोज्दैछौं, कोही हुनुहुन्छ?

-शैलेश श्रेष्ठ

भन्न अथवा स्वीकार्न जति नै अप्ठेरो माने पनि एनआरएन अमेरिकामा प्रारम्भदेखिनै पदलोलुपहरुको भींड देखिएकै हो । अनि पद हात पार्ने आधार उताको राजनीति भएकै हो । त्यस्तो र त्यसको प्रमाण खोज्नै हामीले गहिरो अनुसन्धान गर्नै पर्दैन उनीहरु आफैले खुलेआम “कब्जा गर्छौं” भन्ने गरेकै हो र अहिले पनि अलि फरक “टोन” र “शैली” मा त्यस्ता अभिष्ट र नियतहरु खुलेआम सार्वजनिक भईरहेकै छन ।

यो राजनैतिक महामारी निरन्तर फैलिरहेको बेला यि र यस्ता केही यक्ष प्रश्नहरु हाम्रा सामु चुनौती बनेर अगाडी आएका छन:

~ के यस्तो बिकराल समस्याहरुको ब्यबहारिक र बिधिसम्मत उपायहरु छैनन त?

~ के हाम्रो स्वामित्व सहितको आम सहभागिता बिना सबैको राम्रो एनआरएन अमेरिका बन्न बनाउन सम्भब छ त?

~ समाजका अगुवा टाठाबाठाहरु रमिते बन्दै किनाराका साक्षी मात्र भएर बस्दाकै कारण यस्ता परिणामहरु आएका होइन र?

~ यो संगठन सुध्रदैन, केही हुँदैन पार्टीको भात्री संगठन बन्यो भन्ने जस्ता सुगारटान निरासा र कुण्ठा बोल्दै आम सचेत र स्वाधीन मानिस बाहिर बस्दा तत् तत्हरुले निरन्तर फाईदा लुटेको होइन र?

~ तपाई सदस्य नबन्दैमा नेपाल सरकारबाट मान्यता पाएको र यहाँ दर्ता भएको यो संगठनको बैधता या आवश्यकताको अन्त्य हुन्छ र ?

मैले बिगत पाँच बर्षदेखि निरन्तर भन्दै, बोल्दै र लेख्दै आएको छु आम सहभागिता बिना संगठनलाई राम्रो बनाउन सकिदैन । जहिले र जहाँ पनि संस्थापन थोरै मान्छेको सहभागिता चाहन्छ किनकी थोरैमा झेलीखेल खेल्न सजिलो हुन्छ । अमेरिकी राजनीतिलाई नै हेर्नु भयो भने त्यो दृश्य स्पष्ट देखिन्छ जब ठुलो संख्यामा आम मतदाताहरु आफ्ना असल प्रतिनिधिहरु छान्न निर्वाचन बुथसम्म जान्छन अथवा ठुलो संख्यामा मतदान हुन्छ त्यहाँ असल ईमान्दार जनताका प्रतिनिधि निर्वाचित हुन्छन । अमेरिकामा आम निर्वाचनका दिन काममा जानु पर्ने बाध्यकारी अवस्थाका कारणले बिशेषगरि श्रमजीवी कामदारवर्ग, आप्रवासी र सिमान्तकृत समुदाय आफ्नो प्रतिनिधि छान्ने अवसर अनि अधिकारबाट बन्चित हुन्छन त्यसको लाभ उपल्लो वर्गको पक्षपोषण गर्ने दक्षिणपन्थी रिपब्लिकनहरुले लिन्छन त्यही यथार्थलाई मध्यनजर राख्दै ११६ औं कांग्रेसको पहिलै बैठकमा मेरील्याण्ड राज्यका प्रतिनिधि जोन सार्बनेसले अमेरिकामा हुने संघीय निर्वाचनको दिन सार्वजनिक बिदा दिने प्राबधान सहितको “फर दि पिपुल एक्ट अफ २०१९” पेस गरेका छन ।

खाँटी कुरा त्यै हो हाम्रो हस्तक्षपकारी आम सहभागिताबाट मात्र यो संगठनलाई गैर राजनैतिक चरित्रको विशुध्द अनि साझा संगठन बनाउन सकिन्छ ।

त्यसैले, अनावश्यक लफडा निकालेर “ट्याउँ ट्याउँ” र मालिकहरुको “म्याउ म्याउ” गर्नु भन्दा आफ्नो नेतृत्व क्षेमतामा आफैलाई बिश्वास छ र आफ्नो वैयक्तिक परिस्थिति समाजसेवाको आगि उचित छ भने नेतृत्वमा जाने आफ्नो ईच्छा सार्वजनिक गर्नुस । निर्वाचनमा जीत-हार भईहाल्छ तर राजनैतिक जोडघटाउ, गुटउपगुटको दासता स्वीकारेर सर्मनाक अनि लजास्पद जीत हात पार्नु भन्दा ईमान र निष्ठा सहितको हारलाई स-गर्ब स्वीकार गर्ने गरि मैदानमा आउनुस ।

(शैलेश श्रेष्ठ अमेरिकामा सक्रिय संचारकर्मी हुन् । उनलाई एनआरएन अमेरिकाले सुपरिवेक्षण समितिको सदस्यको जिम्मेवारी दिएको छ । )

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार