तेश्रो पटक सम्म पारसलाई हृदयघातबाट बचाउने डाक्टर भन्छन्- हृदयाघातबाट बच्न के के २ कुरामा ध्यान दिने ?

-ऋचा अर्याल
काठमाडौं । गत साता पूर्व युवराज पारस शाहलाई तेश्रो पटक हृदयाघात भएर थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइयो । त्यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशलाई पनि हृदयाघात हुँदा नर्भिक नै पुर्‍याइएको थियो । ढिलो गरी अस्पताल पुर्‍याइएकाले प्रकाश दाहाल बच्न सकेनन् ।

सामान्यतया, एकपटक हृदयाघात भएको व्यक्तिलाई बारम्बार हृदयाघात भएमा उसको बच्ने सम्भावना निकै न्यून हुन्छ । पारसको हकमा उनलाई ०६३ साल र ०७२ सालमा गरी दुई पटक हृदयाघात भएका कारण चिकित्सकहरुले उनको बाँच्ने आशा मारिसकेका थिए । त्यस्तो अवस्था प्रा.डा.यादव भट्ट पारसका लागि भगवान बनेर आए ।

यसअघि २०६३ र ०७२ सालमा हृदयाघात भइसकेका उनलाई यसपटक नर्भिकमा प्रा.डा. यादव भट्टको टिमले उपचार गरेको थियो । विषेशज्ञहरुको यो टिमले एन्जियोप्लाष्टी (अवरोध भएको रक्तनलीलाई क्याथेटरले खोलेर गरिने उपचार) गर्नुका साथै रक्तनलीमा स्टेण्ट राखेर पारसलाई बचाएको थियो ।

को हुन् प्रा. डा. भट्ट ?

पुर्खौली घर सुदूरपश्चिमको बैतडी भएपनि यादव भट्ट काठमाडौमा जन्मे, बूढानीलकण्ठ स्कूलबाट एसएलसी गरे । उनले अस्कल साइन्स क्याम्पसबाट आईएससी र दक्षिण भारत मधुराईको कामराज विश्वविद्यायलबाट एमबीबीएस गरे ।

चण्डीगढको पोस्ट ग्रेजुएशन इन्स्िटच्यूट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च सेन्टरबाट एमडी र डिएम -डाक्टर इन मेडिसिन) उपाधी लिएका उनले भारतकै सरकारी अस्पतालहरुमा कार्डियोलोजिष्टका रुपमा करिब २० वर्ष बिताए । डा. यादव भट्टले सन् २००४ बाट नेपालमा सेवा सुरु गरेका हुन् ।

उनी नेपालको सरकारी अस्पतालमा एन्जियोप्लाष्टी सेवा सुरु गर्ने पहिलो चिकित्सक हुन् । उनले सेप्टेम्बर २००४ मा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा पहिलो पटक एन्जियोप्लाष्टी गरेका थिए । त्यसबेला शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र भर्खरै खुलेको थियो । भौतिक पूर्वाधारको विकास राम्ररी भएको थिएन । धेरैजसो उपचार मुटु चिरेर मात्र हुन्थ्यो । त्यो अवस्थामा विना चिरफार मुटुको अवरोध हटाएर विरामी निको पार्नु निकै चुनौतीपूर्ण थियो ।

२३ माघ, काठमाडौं । मुटुको उपचार भनेपछि त्यसै पनि डरको बिषय थियो । बिरामीहरु ‘मर्ता क्या नही कर्ता ?’ भन्दै उपचार गराउन पुग्थे । त्यसरी बाँच्नुपर्ने बाध्यताबस् आउनेहरुले सही उपचार पाउन थालेपछि डा. भट्टप्रति विश्वास बढ्दै गयो । अहिले त भीआईपी/भीभीआईपी बिरामी भन्ने बित्तिकै उनको खोजी हुन्छ ।

उपचारको क्रममा सबै बिरामीलाई बचाउन सकिन्छ भन्ने हुँदैन । तर, धेरैलाई सहयोग गर्न सकेकै कारण आज यो स्थानमा आइपुगेको डा. भट्ट बताउँछन् । यसमा उनी सन्तुष्ट नहुने कुरै भएन । ‘मलाई बिषेश सन्तुष्टि चाहिँ केमा लाग्दछ भने पछिल्लो १५-१६ वर्षमा एन्जियोप्लाष्टीको विकासमा हाम्रो देशले ठूलै फड्को मारेको छ,’ उनी भन्छन् ।

नेपालमा हृदयाघातको अवस्था

नेपालीहरुमा हृदयाघात बढ्दै गएको छ । विशेषगरी अधिक धुमपान गर्ने, उच्च कोलेस्ट्रोल, मधुमेह, उच्च रक्तचाप, अस्वस्थकर जीवनशैली भएकाहरु भटाभट हृदयाघातको शिकार भइरहेका छन् । त्यस्तै, हृदयाघातको पारिवारिक इतिहास भएकाहरु पनि उच्च जोखिममा छन् ।

यी कारणहरुलाई नियन्त्रण र नियमित व्यायामबाट हृदयाघातको जोखिम घटाउन सकिने डा. भट्ट बताउँछन् । ‘परिवारमा कसैलाई हृदयाघात भएको छ र उक्त व्यक्ति पुरुष छ भने हृदयाघातको कारक बदल्न सकिँदैन’, उनी भन्छन्, ‘त्यो बाहेकका सबै जोखिम आहार-विहार सुधारेर घटाउन सकिन्छ ।’

सन्तुलित खाना ठिक्क खानु, तौल नियन्त्रण गर्नु, सातामा कम्तिमा तीन पटक ३०-४० मिनेट उमेर अनुसारको व्यायाम गर्नैपर्ने उनको सल्लाह छ ।

हृदयाघात हुने संकेत

प्रा.डा. यादव भट्टका अनुसार हृदयाघात दुई किसिमको हुन्छ- क्लासिकल र नन्-क्लासिकल ।

अकस्मात छातीको बीच भागमा पीडा हुनु, त्यो पीडा काँध हुँदै पाखुरातिर सर्नु, चिउँडो दुख्नु, पसिना आउनु, बान्ता हुनु क्लासिकल प्रकारको हृदयाघातको लक्षण हो । मुटुमा अवरोध हुँदा यस्ता लक्षण देखिने गर्छ ।

त्यस्तै, नन-क्लासिकल हृदयाघात हुनु अगाडि असामान्य किसिमको ग्याष्टिक महसुस हुने, असामान्य किसिमले चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने, बेहोस हुन्छु कि जस्तो हुने, भर्‍याङ्ग चढ्दा अचानक गाह्रो हुने गर्छ ।

यस्ता लक्षण देखिए तुरुन्त अस्पताल गएर ईसीजी र इको गर्नुपर्छ । ‘ईसीजीबाट हृदयाघातको लक्षण नदेखिन पनि सक्छ’, डा. भट्टको सुझाव छ, ‘त्यो अवस्थामा बिना ढिलासुस्ती मुटु रोग विषेशज्ञको परामर्श लिनु वुद्धिमानी हुन्छ ।’

बढी जोखिममा धुमपानका अम्मली

डा. भट्टका अनुसार विकसित मुलुकहरुमा वृद्धवृद्धा हृदयाघातको उच्च जोखिममा रहने गरेका छन् भने नेपाललगायत अल्पविकसित देशमा युवापुस्ता । गलत जीवनशैली, गलत खानपान र अत्याधिक धुमपानको कारण युवापुस्तामा हृदयाघातको जोखिम बढेको उनले बताए ।

हुन पनि, नेपाल जस्तो आधुनिकतामा रम्न थालेको मुलुकमा धुमपान गर्ने युवतीहरुको संख्या समेत दिनानुदिन बढ्दो छ । धुमपानकै कारण पुरुषलाई हुने हृदयाघातको समस्या कम उमेरका महिलामा पनि देखिन थालेको डा. भट्ट बताउँछन् । ‘मेरै कतिपय विरामी ३० वर्षभन्दा मुनीका छन्’, उनी भन्छन् ।

धुमपान हृदयाघातको प्रमुख कारण रहेको विभिन्न अध्ययनले पनि देखाएका छन् । त्यसैले, धुमपान रोक्दा हृदयाघातको जोखिम स्वतः कम हुने डा. भट्ट बताउँछन् ।

हृदयाघात र एन्जियोप्लाष्टी

हृदयाघात हुँदा रक्त प्रवाह रोकिएर मुटुको मांसपेसी विग्रन्छ । हृदयाघात भएका व्यक्तिलाई सकेसम्म छिटो अस्पताल लैजानुपर्छ । अस्पताल ल्याएको आधा घण्टादेखि ५२ मिनेटभित्र एन्जियोप्लाष्टी गर्न सके बिरामीलाई बचाउन सकिने सम्भावना बढ्ने डा. भट्ट बताउँछन् ।

उनका अनुसार, हृदयाघात भएको विरामीलाई अस्पताल पुगेको ६० देखि ९० मिनेटभित्र एन्जियोप्लाष्टी गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । त्यस अनुसार, नशा नखोलेर -रगत पातलो बनाएर) गरिने उपचार हृदयाघात भएको एक घण्टासम्ममा गर्न सकिन्छ ।

नर्भिक अस्पतालमा बिरामी आएको ३ मिनेटभित्र इसीजी र बढीमा ५२ मिनेटभित्र एन्जियोप्लाष्टि गरिने बताउँदै डा. भट्ट भन्छन्, ‘विरामी पक्षलाई एन्जियोप्लाष्टीबारे थाहा नहुँदा कहिलेकाहीँ निर्णय लिन ढिलो हुन्छ ।’

मुटु रोगबारे जनचेतनाको कमीले गर्दा यस्तो हुने गरेको उनी बताउँछन् । यसबारे चेतना फैलिएमात्र पनि विरामीले छिटो उपचार पाउने उनले बताए । ‘जस्तो, पारस शाहको केश सबैलाई थाह भएकाले उनलाई अस्पताल ल्याउन र उपचार थाल्न कुनै ढिलाई भएन’, डा. भट्टले भने, ‘त्यसैले त तेस्रो पटक हृदयघात हुँदा पनि बचाउन सकियो ।’

डा. भट्टको जीवनशैली

एन्जियोप्लाष्टी प्रविधिद्वारा सयौंलाई बचाएका र हजारौंको उपचार गरेका डा. यादव भट्टको जीवनशैली चाहिँ कस्तो छ त ? जिज्ञासामा उनले भने, ‘म धुमपान गर्दिनँ । खानपानमा सजगता अपनाएको छु । तौल बढ्न नदिन चिल्लो कम खान्छु । बिहान अस्पताल गएर राउण्ड लिएपछि कुर्सीमा बसेर केही एक्सरसाइज गर्ने कोशिश गर्छु । भ्याएसम्म दैनिक एक-डेढ घण्टा जिम पनि जान्छु । तर, यतिकै भरमा मेरो जीवनशैलीलाई धेरै राम्रो भन्न मिल्दैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार