जो १२ वर्षदेखि बेपत्ता पतिको खोजीमा छिन् …..

– शिवप्रसाद ढुंगाना

ओखलढुंगा सिद्धिचरण नगरपालिका–११ की ३४ वर्षीया कटवालका पति डम्बरबहादुर वैदेशिक रोजगारीका लागि कतार गएको १२ वर्ष भयो। त्यसपछि उनको अत्तोपत्तो छैन। तर उनकी पत्नी कल्पना कार्की कटवाल उनी आउने बाटो हेरिरहेकी छन्।

कल्पना र डम्बरले ०५६ साल फागुनमा बिहे गरेका हुन्। त्यति बेला कल्पना १५ वर्षकी थिइन्। बालबिहे भए पनि कल्पनाको परिवारले दुखजिलो गरेर गुजारा चलाएकै थियो। बिहे भएको एक वर्षमै उनी आमा बनिन्। उनले छोरी जन्माइन्। त्यसपछि उनमा पारिवारिक जिम्मेवारी थपियो। त्यसैले त कमाइ गर्नुपर्छ भन्ने घरसल्लाह भयो। र पत्नी र एकबर्से छोरी छाडेर डम्बरबहादुर ०५८ सालमा मलेसिया गए।

थोरै जग्गा भएकाले रोजगारी नभएपछि खेतिपातीबाट मात्रै परिवार चलेन। विदेशमा पनि मलेसिया गएको ऋण तिरेर घर खर्च मात्रै चलेपछि उनी ०६१ सालमा स्वेदश फर्किए। घर आएको केही समयमै उनी फेरि कतार गए। कतार गएको डेढ वर्षसम्ममा उनले ऋण तिरे। घर खर्च पनि पठाउँदै थिए। तर, ०६३ सालदेखि उनी कहाँ छन्, परिवारमा अत्तोपत्तो छैन।

पति कतार जाँदा कल्पना गर्भवती थिइन्। डम्बरबहादुर विदेश गएको ७ महिनापछि कान्छी छोरी सपना जन्मिइन्। ०६२ मा एकाएक आफू सिकिस्त बिरामी परेर सामुदायिक अस्पताल मिसनमा भर्ना हुँदा पतिसँग अन्तिम पटक कुरा गरेको कल्पनाले स्मरण गर्दा आँसुले उनका गाला भिजिसकेका थिए। ‘अस्पतालमा छँदै उपचार खर्च पैसा पठाइदिनू भनेर कुरा भएको थियो, त्यसपछि बोल्न पाएकी छैन,’ उनले रुँदै भनिन्।

०६३ देखी डम्बरबहादुर परिवारको सम्पर्कमा छैनन्। काठमाडौं तीनकुनेस्थित स्लेन्डिड जब सोलुसन प्रालिमार्फत कतार गएका उनी कम्पनीले भने स्वदेश फर्किसकेको बताउने गरेको छ। पतिको खोजीमा कम्पनीमा धेरै पटक धाउँदा कल्पनाले नेपाल आएको त्यसपछि कहाँ गयो थाहा नभएको भन्ने जवाफ पाउँछिन्। पति खोज्न धेरै पटक राजधानी धाउँदा र मान्छे खटाउँदा डेढ लाख रुपैयाँभन्दा बढी ऋण लागिसकेको उनले बताइन्। ‘जग्गाजमिन बेचेर पनि खर्च गरें। अहिलेसम्म पत्ता लगाउन सकेकी छैन’, कल्पनाले भनिन्।

अहिले पति वियोगको पीडा र साहूको ऋणले उनलाई छिनछिनमा झस्काइरहन्छ। कल्पनासँग अहिले जेठी छोरी १८ वर्षीया शोभा कटवाल र ११ वर्षीया सपना कटवाल छन्। कल्पना र डम्बरका दुई छोरी शोभा र सपना आफूले बुवाको आस मारिसकेको बताउँछन्। ‘बुवाको अभाव झेल्दै आएका हामी अब त बानी परिसक्यौं,’ शोभाले भनिन, ‘जुन बेला आवश्यकता थियो, त्यो बेला पाउन सकेनौं।’

भूकम्पले झनै सास्ती

०७२ को विनाशकारी भूकम्पले पनि घर भत्काइदिएर कल्पनालाई अर्को धक्का लगायो। उनीहरूको बास पनि उठ्यो। पतिको खोजी गर्न उनले भएको बारी बेचिन्। खानबस्न आफू मात्र नभई दुई छोरीहरूसमेत भएकाले निकै कष्टपूर्ण दिन काट्दै उनले थप चार लाख ऋण लिएर घर बनाइन्।

उनलाई अहिले विभिन्न लघुवित्तबाट लिएको ऋण तिर्न नसकेर के गरौं, कसो गरौं भइरहेको छ। जीविका चलाउन उनले स्थानीय शान्तिसुर होटलमा भाँडा माझ्छिन्। त्यसैले पतिको खोजी गरिदिन आग्रह गरेकी छन्। पति वियोगको पीडामाथि भूकम्पले झनै दुःख थपिदिएपछि छोरीहरूसमेत विक्षिप्त छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार