-गौरव पोखरेल
काठमाडौं । ललितपुरस्थित एक विद्यालयमा कक्षा १० मा अध्ययनरत किशोरीले आफ्नो नग्न तस्वीर भाइरल भएपछि प्रहरीलाई गुहारिन् । सुरुमा उनी आफूमाथि आइपरेको विपत वर्णन गर्न हिच्किचाइन् । तर, केहीवेरमै अभिभावकहरुबाट थाहा भयो, त्यो तस्वीर उनकै प्रेमीबाट ‘लिक’ भएको रहेछ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा कार्यरत् अनुसन्धान अधिकारीहरुका अनुसार पीडित किशोरी र प्रेमीसँगै पढ्थे । उनीहरुबीच फेसबुकमा नियमित कुराकानी हुन्थ्यो ।
त्यही क्रममा किशोरले नग्न तस्वीर पठाउन आग्रह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सुरुमा उनले इन्कार गरिन् तर, युवकले तस्वीर माग्न छाडेनन् । बरु सम्बन्ध तोड्न तयार थिए तर, नग्न तस्वीर माग्न छाड्नेवाला थिएनन् । अन्ततः किशोरीले गोप्य अंगहरुको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत पठाएकी थिइन् ।
विस्तारै त्यो क्रम बढ्दै थियो । एक दिन किशोरको म्यासेन्जरबाट त्यो नग्न तस्वीर एउटा ‘च्याट ग्रुप’मा फरवार्ड भयो । केहीवेरमै तस्वीर भाइरल भयो । त्यो थाहा पाएकी किशोरी छागाँबाट खसेझैं भइन् । उनले अभिभावकलाई खबर गरिन् ।
प्रहरीसमक्ष घटना पुग्यो । प्रहरीले पीडित किशारीका प्रेमीलाई पनि कार्यालयमा बोलायो । बयानका क्रममा उनले भूलवश ग्रुपमा तस्वीर सेन्ड भएको दाबी गरे ।
नग्न तस्वीर पठाउनु किशोरीको पनि गल्ती थियो । त्यसैले प्रहरीले कसरी अगाडि बढ्ने निर्क्यौल गर्न सकेन । दुवै परिवारले प्रतिष्ठाको विषयलाई पनि जोड दिएपछि फोटो डिलिट गर्न लगाइयो र अभिभावकको जिम्मा लगाएर छाडियो ।
०००
कंलकीको एउटा निजी विद्यालयको कक्षा १० मा अध्ययनरत १७ वर्षीया किशोरीलाई एउटा अपरिचित व्यक्तिको फ्रेण्ड रिक्वेस्ट आयो । केही ‘म्यूचल फ्रेण्ड’ पनि देखिए ।
उनले एसेप्ट बटन दबाइन् । कुराकानी हुन थाल्यो । बानेश्वर बस्ने २४ वर्षीय युवकले कुराकानीका क्रममा उनलाई आफूले असाध्यै प्रेम गर्ने बताए । कुरा गत वर्षको फागुन महिनाको हो । उनले विवाह गरेर घर लगी व्यवहार मिलाउने प्रलोभन देखाए । किशोरीले पनि उनको प्रस्ताव स्वीकारिन् ।
२७ फागुनमा कलंकीमा दुईबीच भेट भयो । युवकको घर जाने सर्तमा किशोरी त्यहाँ आएकी थिइन् । तर, युवकले उनलाई आफ्नो घर लाँदैनन् बरु नजिकैको ‘रोयल ड्रिम होटल एण्ड लज’ को १०३ नं. कोठामा लान्छन् । भन्छन्, ‘आज एक दिन यहीँ बसौं । घरमा पनि कुरा मिलाउनु पर्छ । भोलि जानुपर्छ ।’
त्यसरात उनीहरुबीच शारीरिक सम्पर्क भयो । दोस्रो दिन एकछिनमा आउँछु भनेर निस्किएका युवक फर्किएनन् । दिउँसो मध्य १२ बजे ढोकामा ढक्ढक् आवाज आयो तर, त्यहाँ सँगै रात विताएको युवक थिएनन् । होटलका वेटर उभिएका थिए र, उनले भने, ‘चेक आउट टाइम भयो, चाँडै निस्किनु होला ।’
त्यसपछि किशोरीले आमालाई त्यो कुरा बताइन् । प्रहरीसमक्ष जोहरी पर्यो । युवक पक्राउ परे । हाल उनी पुर्पक्षका लागि थुनामा रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
०००
काठमाडौंकै एक १५ वर्षीया किशोरीको फेसबुकबाटै एक युवकसँग चिनजान भयो ।
कुराकानीका क्रममा उनीहरु नजिकिए । १९ वर्षीय युवकले उनीविना बाँच्नै नसक्ने बताउन थाले ।
दोलखा घर भइ चाबहिल बस्दै युवकले एक दिन उनलाई घुम्न जाने बहानामा कोठामा लगे । उनीहरुबीच शारीरिक सम्बन्ध भयो । युवकले कोठामा भएको गतिविधिको भिडियो मोबाइलमा कैद गरेको थाहा पाएपछि किशारी आत्तिइन् ।
उनले भिडियो डिलिट गर्न लगाइन् । तर, अहँ ! उनले मानेनन् । उल्टै अर्को सर्त राखे, ‘फेरि एकपटक कोठामा आउनुपर्छ अनि मात्र हटाउँछु ।’ युवतीसँग उनले जे भने त्यही मान्नुको विकल्प थिएन । तर, एक दिन जब उनको ‘च्याट बक्स’मा त्यो भिडियो आयो, तब ती युवकप्रति उनको झिनो विश्वास पनि रहेन ।
अन्ततः परिवारसम्म यो कुरा पुग्यो । प्रहरीमा जाहेरी दर्ता भयो । हाल घटनाको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधिन छ । युवक पुर्पक्षका लागि थुनामा छन् ।
०००
माथिका तीन घटना सामाजिक सञ्जालको प्रयोगबाट भइरहेको यौन दुर्व्यवहारका प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय यो भयावह बन्दै गएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार अहिले यौन दुर्व्यवहारमा पर्नेमा कलिला किशोरकिशोरीको संख्या बढी छ । सामाजिक सञ्जालबाट किशोर-किशोरी नजिकिने, शारीरिक सम्पर्क राख्ने र अतरंग तस्वीर/भिडियो भाइरल हुने क्रम पनि बढ्दो छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंह किशोरकिशोरीसम्बन्धी साइबर क्राइम बढेको स्वीकार्छन् ।
उनी भन्छन्, ‘त्यस्ता घटनामा पीडित र पीडकबीच कतिपय अवस्थामा स्कुलमै चिनजान भएको हुन्छ भने बढी जसो फेसबुकमै जिनजान भएका घटना पनि छन् ।’ अदालतले पनि नाबालकलाई वेग्लै किसिमले सम्बोधन गर्ने बताउँदै उनले अनलाइनखबरसँग भने, ‘हामी पनि कसुरको प्रकृति हेरेर मात्रै अघि बढ्छौं ।’
नेपाल प्रहरीले हालै सार्वजनिक गरेको पुलिस ‘मिरर’ पुस्तिकाका अनुसार नेपालमा सर्वाधिक हुने अपराधको तेस्रोमा जबरजस्तीकरणी पर्छ भने कुल अपराधको १५ प्रतिशत महिला तथा बालबालिकामाथि हुने बलात्कारले ओघट्छ ।
यो त प्रहरीमा रेकर्ड हुने तथ्याङ्क मात्रै हो । अझै पनि कतिपय घटना प्रहरीसम्म पुग्दैनन् । प्रहरीमा पुगेका कतिपय घटनामा पनि सहमतिमा टुंगिन्छ ।
प्रहरी प्रधान कार्यालयको तथ्याङ्क
जारी आर्थिक वर्षको चार महिने अवधिको तथ्याङ्क हेर्दा ७८८ वटा जबरजस्तीकरणीसम्बन्धी मुद्दा दर्ता भइसकेका छन् । त्यसमध्ये अधिकांश १९ वर्षभन्दा कम उमेरका छन् ।
सबैभन्दा बढी ५ सय २१ वटा घटनामा साथीभाइ र छिमेकीबाटै पीडित बनेका छन् ।
अनुसन्धान अधिकारीहरु भन्छन्, ‘सामाजिक सञ्जालबाट लभ गर्ने, लिभिङ टुगेदरमा पनि बस्ने अनि सहमति टुटेपछि उजुरी गर्ने संस्कृति बढ्दो छ । त्यसैले पनि यो संख्या बढेको हो ।’ किशोरकिशोरीको हकमा पनि यो लागू हुने गरेको छ ।
बाल यौन दुर्व्यवहार बढ्नुको कारण
सामाजिक सञ्जालको प्रयोगबाट हुने बालयौन दुर्व्यवहार किन बढिरहेको छ त ? द भ्वाइस अफ नेपालका निर्देशक कृष्ण थापा यसपछाडि ३ वटा मुख्य कारण रहेको औंल्याउँछन् ।
पहिलो, इन्टरनेटको पहुँच सहज छ । बालबालिका उमेरैले जिज्ञासु स्वभावका हुने भएकाले विभिन्न व्यक्तिसँग जोडिन्छन् । यसले पनि खतरा बढाइरहेको थापाको भनाइ छ ।
दोस्रो, अभिभावक पनि सचेत छैनन् । उनीहरु यो विषयमा बालबालिकासँग खुलेर कुरा गर्दैनन् । उनीहरुको गतिविधिप्रति निगरानी गर्दैनन् । गलत प्रयोगले ल्याउने खतरा र सकरात्मक पक्षहरुबारे उनीहरुलाई जानकारी दिइँदैन ।
तेेस्रो, सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने संयन्त्र छैन । थापाले भने, ‘इन्टरनेटको प्रयोगबाट बालबालिकामा कस्ता जोखिम आउन सक्छन् भन्ने विषयमा पनि जानकारी राख्नुपर्यो । त्यसपछि नियन्त्रणका लागि बलियो मेकानिजम बनाउनु पर्यो ।’
कतिपय अवस्थामा बदलाको भावनाले पनि चरित्र हत्या र टर्चर दिन गोप्य तस्वीरहरु सार्वजनिक हुने गरेका छन् ।
यदी कसैले अश्लिल कुरा गर्न खोज्छ वा आफ्नो गोप्य अंगहरुको तस्वीर माग्छ भने त्यो अपराध हो । माग्ने मात्रै होइन, आफ्नो वा अरुका त्यस्ता तस्वीर पठाउँछ भने त्यो पनि यौन दुर्व्यवहार हो
यी त भए घटना हुनु पूर्वका विषय । घटना भइसकेपछि पनि पीडितमैत्री सेवा प्रहरीले दिन सकेको छैन । जस्तैः पश्चिमको डोटी होस् या पूर्वको पाँचथर, जहाँको घटना भए पनि कानुनी उपचारका लागि काठमाडौं आउनु पर्ने बाध्यता छ ।
काठमाडौं बाहिरका जिल्ला प्रहरी कार्यालयहरुले साइबर अपराध जोडिएका घटनाको अनुसन्धान गर्ने गरेको छैन । त्यसैले प्रहरीको प्रणाली पीडितमैत्री हुन सकेको छैन ।
आखिर किन त ? प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा कार्यरत् प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशी यसमा कानुनी जटिलता रहेको बताउँछन् ।
उनका अनुसार यस्ता घटनाको अनुसन्धान र मुद्दा दर्ता विद्युतीय अपराध ऐन, २०६३ मा भएको व्यवस्था अनुसार हुन्छ । ऐन बनेका वेला साइबर अपराधको मुद्दा अत्यन्त न्यून आउने गरेका थिए । ०६४ सालमा ४ वटा मात्र घटना दर्ता भएको रेकर्ड छ । ऐनलाई राजपत्रमा प्रकाशित गर्दा उक्त कसुरको मुद्दा काठमाडौं जिल्ला अदालतले मात्रै हेर्ने भन्ने वाक्यांश राखिएको एसपी जोशी बताउँछन् ।
‘त्यही कारण काठमाडौंबाट मात्रै साइबर अपराधको मुद्दा हेरिएको हो’, उनले अनलाइनखबरसँग भने, ‘अहिले दिनप्रतिदिन साइबर क्राइम बढिरहेका वेला सबै जिल्लाबाट हेर्न मिल्ने गरी कानुन परिमार्जन हुनु आवश्यक छ ।’
उनले त्यसका लागि आफूहरुले समयसमयमा छलफल समेत गरिरहेको बताए । ‘हामीले महान्यायधिवक्ताज्यूहरुदेखि लिएर न्यायधिशज्यूहरुसँग छलफल गरेका छौं । सबै जना सकारात्मक हुनुहुन्छ । चाँडै यो समस्या हल होला’, उनले भने ।
डिप्रेसन र मनोसामाजिक समस्या बढ्योः मनोविद्
मनोविद् गोपाल ढकाल पछिल्लो समय स्कुले विद्यार्थीहरुमा सामाजिक सञ्जालको दुरुपयोग बढिरहँदा मनोसामाजिक र डिप्रेसन समस्या बढिरहेको बताउँछन् । उनी भन्छन्, ‘कतिपय अवस्थामा आत्महत्या समेत भएको घटनाहरु सार्वजनिक भएका छन् ।’
गोप्य तस्वीर वा भिडियो सार्वजनिक हुँदा बदनामी सहन नसकेर उनीहरुमा चिन्ता, निराशा, हिनताबोध, दुखित मानसिकता लगायतले सताउन थालेको ढकालको भनाइ छ । विद्यालय पढ्ने किशोरकिशोरीहरुको हकमा भने पढाइमा ध्यान नजाने र निद्रा लाग्ने जस्ता समस्या देखा पर्ने गरेका उनको भनाइ छ ।
पछिल्लो समय केही पीडित बालबालिकामा मनोवैज्ञानिक रोग एडीएचडी (एटेन्सन डिफिसिट हाइपर एक्टिभिटी डिसअडर) पनि देखा परेको ढकाल सुनाउँछन् ।
यो यस्तो मानसिक समस्या हो, जसका कारण किशोरकिशोरी कुनै एक विषयमा केन्द्रीत भइरहन सक्दैनन् । विद्यालयको गतिविधिप्रति उनीहरुले लगाब राख्न सक्दैनन् । उनीहरु अधैर्य हुन्छन् । कुनै पनि काम गर्नु अघि त्यसको परिणामबारे सोच्दैनन् ।
‘अतरंग दृश्यहरु सार्वजनिक हुँदा हाम्रो समाजले अञ्जानमा भयो भनेर इन्कार गर्दैन’, ढकाल भन्छन्, ‘बरु झन् ठूलो बनाउने हाम्रो कल्चर छ । हामीभाइरल बनाइदिन्छौं ।’
किन गर्छन् अन्तरंग तस्वीर साटासाट ?
अहिले विद्यालयमा पढ्ने विद्यार्थीमा अन्तरंग तस्वीर साटासाट गर्ने परम्परा किन मौलाउँदै गएको छ त ? यसपछाडि केही मनोवैज्ञानिक र सामाजिक कारण देखिन्छन् ।
मनोविद् ढकालको विचारमा पहिलेभन्दा अहिले किशोरावस्थामा पुग्ने समय घट्दै गएको छ । उनीहरुको शारीरिक विकास चाँडै भइरहेको छ । तर, शारीरिक रुपमा तयार भए पनि मानसिक रुपमा भने उनीहरु परिपक्व भएका हुँदैनन् ।
त्यसैले यस्तो अवस्थामा उनीहरुप्रति शारीरिक विकासका सम्बन्धमा चासो हुनु स्वभाविक पनि हो । यौन शिक्षाको अभाव रहेको अवस्थामा आफ्नो शारीरिक अंगहरु सही रुपमा विकास भएको छ/छैन भनेर जान्नलाई पनि किशोरकिशोरीले फोटो खिच्ने गरेका छन् ।
विशेषतः किशोरीहरुमा आफ्नो शरीरलाई हेरेर अरुले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने उत्सुकता पनि हुन्छ । त्यसैले उनीहरु आफूले विश्वास गरेको व्यक्तिलाई तस्वीर पठाउन राजी हुन्छन् तर, त्यसको जोखिमबारे जानकारी राख्दैनन् ।
अर्को, त्यो त्यो तस्वीर पाउने साथीले पनि अरु समक्ष त्यो तस्वीर पुग्दा कस्तो समस्या आउला भनेर सोचेको हुँदैन । यो सामाजिक सञ्जालको सही सदुपयोगको अभावका कारण भएको हो ।
कतिपय अवस्था म कस्तो देखिन्छु, मेरो शारीरिक अंग विकास भएको छ छैन ? भनेर जान्नलाई पनि किशोरकिशोरीले तस्वीर खिचेर आफैंले हेर्ने गरेको पाइन्छ । यस्तो अवस्थामा किशोरकिशोरीलाई यौन शिक्षाको अभाव हुन्छ । उनीहरुले परिवार, विद्यालय र समाजमा खुलेर त्यस विषयमा छलफल गर्न सक्दैनन् । फलतः शिक्षा लिनका लागि उनीहरु सामाजिक सञ्जालमा निर्भर हुन्छन् । चलचित्रमा देखिने दृश्यहरुमा निर्भर हुन्छन् । पोर्न साइटहरु खोज्न थाल्छन् ।
उनीहरुमा यो चासो हुनु स्वभाविक पनि हो । तर, सिकाइको माध्यमले भने डरलाग्दो परिस्थिति सिर्जना गरेको छ ।
यदी कसैले अश्लिल कुरा गर्न खोज्छ वा आफ्नो गोप्य अंगहरुको तस्वीर माग्छ भने त्यो अपराध हो । माग्ने मात्रै होइन, आफ्नो वा अरुका त्यस्ता तस्वीर पठाउँछ भने त्यो पनि यौन दुर्व्यवहार हो । त्यसैले पछिल्लो समय मौलाउँदै गएको यो प्रवृत्तिको खुलेर प्रतिकार गर्नु आवश्यक रहेको विज्ञहरु बताउँछन् ।
अभिभावक र किशोरकिशोरीबीच मित्रवत् व्यवहार हुनुपर्छ, ताकि आफूलाई असहज परिस्थिति आउँदा अभिभावकसँग खुलस्त बताउन सकून्
बालबालिकालाई कसरी जोगाउने ?
बालबालिकालाई सामाजिक सञ्जालबाट हुने यौन दुर्व्यवहारबाट जोगाउन सबैभन्दा मुख्य कुरा जनचेतना फैलाउनु नै भएको महाशाखाका एसएसपी सिंह बताउँछन् । त्यसका लागि प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यक्रम ल्याएको उनको भनाइ छ ।
सिंहको भनाइमा एसपी जोशी थप्छन्, ‘हामीले अहिले समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याएका छौं । त्यसमा विद्यार्थीका लागि पाठ्क्रम नै तयार पारेका छौं । जसमा यौन हिंसा र साइबर क्राइमबारेका विषय समावेश गरिएका छन् ।’
उनका अनुसार त्यो पाठ्यपुस्तक देशभर लागू गर्ने तयारी छ । ‘हामीले हरेक विद्यालयमा सम्पर्क समिति पनि गठन गराउँदै आएका छौं’, उनले भने, ‘समितिको माध्यमबाट पनि बालबालिकाविरुद्ध हुने हिंसा र साइबर क्राइमबारे जानकारी गराउँछौं ।’
उनका अनुसार पाठ्यक्रममा सामाजिक सञ्जाल चलाउँदा के गर्ने, के नगर्ने भन्ने विषय पनि समेटिएका छन् । एउटा कम्प्यूटरमा बसेर सामाजिक सञ्जाल चलाएपछि ‘लग आउट’ नगरी निस्किँदा पर्नसक्ने समस्यादेखि बलियो पासवर्ड कसरी राख्ने भन्नेसम्मका विषय राखिएको उनी बताउँछन् ।
घरमा पनि चेतनामूलक कार्यक्रम गरिनु आवश्यक रहेको अधिवक्ता टीपी शर्मा कँडेलको भनाइ छ । अभिभावक र किशोरकिशोरीबीच मित्रवत् व्यवहार हुनुपर्छ, ताकि आफूलाई असहज परिस्थिति आउँदा अभिभावकसँग खुलस्त बताउन सकून् ।
अभिभावकले खुलेर छलफल गरेर पनि निगरानी गर्न सक्छन् । शंकास्पद गतिविधि भइसक्दा तुरुन्त सचेत गराउन सक्छन् । तर, हरेक अभिभावकको हकमा त्यो लागू नहुने कँडेल बताउँछन् ।
‘कतिपय केशमा बच्चाभन्दा माथिको जेनेरेशनले त्यो समस्याबारे राम्रोसँग बुझेको हुँदैन’, उनले अनलाइनखबरसँग भने, ‘त्यसैले परिवार मात्रै पनि यो समस्या समाधान गर्न पर्याप्त हुँदैन । यसमा विद्यालयदेखि लिएर अन्य निकायको पनि उत्तिकै भूमिका हुनुपर्छ ।’
अर्को उनीहरुसँग सम्बन्धित घटनाको अनुसन्धानलाई पनि प्रहरीले सहज बताउनु पर्ने उनी बताउँछन् ।
सरकारले पनि सामाजिक सञ्जाललाई नियमन गर्ने गरी कानुन ल्याउनु पर्ने सरोकारवालाहरु बताउँछन् । ‘सरकारले बलियो कन्ट्रोल मेकानिज्म मात्रै बनाउने हो भने पनि धेरै हदसम्म यो समस्या हल हुन्छ’, अधिकारीहरु भन्छन् ।