काठमाडौँ — विवेकशील साझा पार्टीले छुट्टिएका पार्टी सदस्यलाई औपचारिक संवादको लागि आग्रह गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक रवीन्द्र मिश्रले असन्तुष्ट पक्षसँग वार्ता गर्न सधैं ढोका खुला रहेको बताउँदै चित्त नबुझेको विषयमा औपचारिक वार्ता गर्न आग्रह गरेका छन्।
उनले भने, ‘छुट्टिएर गएका केही साथीहरु सम्पर्कमा हुनुहुन्छ। अहिले नै औपचारिक संवाद गरिसकेका छैनौं। तर संवादको बाटो पनि बन्द गर्दैनौं।’ उनले केही समयअघि चिया खाएर वार्ता गरौं भनेको र चिया पसलमा वार्ता नगरे रिसोर्टमा पनि जाउँ भनेको घटना सम्झिए।
उनले अझै पनि विवेकशील साझा पार्टी नै नेपालको वैकल्पिक पार्टी रहेको बताउँदै यसपटक केही जटिलता आएपनि कुनै बेला फेरि एउटा बिन्दूमा मिल्न सकिने बताए। उनले भने, ‘२०४६ सालको आन्दोलनपछि समाजमा रहेका केही राम्रा मान्छेले वैकल्पिक पार्टीको प्रयास गरेका थिए। तर उनीहरु सफल हुन सकेनन्। तर हामी त्यो भन्दा माथि उठ्छौं भन्ने थियो। तर यसपटक केही जटिलता आयो। एउटा बिन्दू आउँछ। फेरि हामी मिल्छौं। त्यो मिलन बिन्दूबाट झन् सशक्त हुनेछौं।’
संयोजक मिश्रले छुट्टिएर गए पनि वैकल्पिक पार्टीको लागि गरिएको यात्रा नरोकिने बताए। उनले छुट्टिएर जाने सदस्यहरुको र आफूहरुको एउटै लक्ष्य भएकोले अझै एकै ठाउँमा रहेको बताए। उनले भने, ‘यो हाम्रो यात्रा कुनै हालतमा रोकिँदैन। देशैभरि हुन्छ। हामी एकै ठाउँमा छौं। हामी हामीले हासिल गर्न लागेको लक्ष्य जसरी पनि हासिल गर्छौं।’
उनले अलग्गिएर जाने पार्टी सदस्यहरुसँग प्रेम अझै बाँकी रहेको बताउँदै उनीहरुसँग कुनै इर्ष्या, द्वेष, रिस, आग्रह र पूर्वाग्रह नरहेको बताए।
यसैगरी अलग्गिएको समूहले लगाएको आर्थिक पारदर्शीताबारे पनि आफूहरु स्पष्ट रहेको बताए। उनले पार्टीभित्र भएका आर्थिक कारोबारको हिसावमा पारदर्शिता भएको बताए। उनले भने, ‘हुन त म अहिले घरभित्रको विमति चौतारीमा छताछुल्ल पार्दिनँ। तर जुन आरोप लगाउनुभएको छ त्यसले दुःख लागेको छ। उहाँकोबारे पनि केही होला। त्यसैले हिलो छ्यापाछ्याप गर्न चाहन्न।’
उनले पार्टीले १२/१५ लाख रुपैयाँ उठाएको बताउँदै यी कसले कुन ठाउँमा कति रकम दियो भनेर प्रस्ट हुने गरी फेसबुकमा र आफ्नो बेवसाइटमा राखिएको दाबी गरे। उनले भने, ‘अडिटरले अडिट गरेको आय-व्यय तथा हामीले निर्वाचन आयोगमा बुझाएको खर्च विवरणहरु सबै बेवसाइट र फेसबुकमा राखेका छौं। त्यो भन्दा आर्थिक पारदर्शिता के होला?’
तपाइँहरु भन्दा पुरानै पार्टी ठीक हो भन्ने पत्रकारको प्रश्नमा उनले हामी भन्दा पुरानो कुनै हालतमा ठीक होइन भन्ने जवाफ दिए। उनले आफूहरु गल्ती नै नगर्ने अन्तैबाट आएको प्राणी नभएको बताउँदै बेइमानी चाहिँ नगर्ने बताए। उनले यात्रामा अहिले आएको अवरोध सानो भएको र अझै ठूला अवरोधहरु पार गर्दै जानुपर्ने बताए। उनले भने, ‘यात्रामा अवरोध आइरहेका छन्। तर यो भन्दा ठूलो अवरोध नचिरिकन देश परिवर्तन हुँदैन। हामीले ठूला अवरोध पार गर्नैपर्छ। संघर्षको यात्रामा दृढ छौं।’